उद्योग संगठनलाई अवार्ड
विराटनगर– उद्योग संगठन मोरङले एसियाकै उत्कृष्ट स्थानीय चेम्बर अवार्ड पाउने भएको छ । क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन भएपछि उद्योग संगठन मोरङको १४ सदस्यीय टोली अवार्ड ग्रहण गर्न सिंगापुर प्रस्थान गरेको हो ।
संगठनलाई औपचारिक समारोहमा ट्रफी र २ हजार यूएस डलर नगद राशी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका व्यापारिक समुदायहरू सहभागी हुने कन्फेडेरेशन अफ एसिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा कात्तिक २६ र २७ गते सिंगापुरमा हुने ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छन् ।
एसिया इकोनोमिक फोरममा सहभागिता, उत्कृष्ट चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्ताहरूलाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचारप्रसार तथा कोशी पर्यटन वर्ष २०८२ को प्रचारप्रसार गर्ने गरी चारवटा मिसन तय गरी टोली सिंगापुर प्रस्थान गरेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
एसिया प्रशान्त क्षेत्रका बिजनेश लिडर, लगानीकर्ताहरूहरूको वृहत सहभागिता रहने उक्त फोरमलाई अवसरका रूपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाहरूबारे एसिया फोरमका सहभागीहरूलाई जानकारी गराउदै अद्वितीय लगानीको सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागी कोशी प्रदेश सरकारका तर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण गरिने संगठनका अध्यक्ष सुरानाले बताए ।
दुईदिने सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापी रूपमा प्रभाव पार्ने महत्त्वपूर्ण विषयहरूमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति शृंखला र अन्य व्यापारिक विषयहरूका साथै एसिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदारबीच विश्वव्यापी व्यापारको भविष्यका वारेमा अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।