कोखेडाँडा पर्यटकीय गन्तव्य
पर्वत–पर्वतको कोखेडाँडा पर्यटकको गन्तव्य बन्न थालेको छ । मोदी गाउँपालिका– १ झिलिबरांगस्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यको रुपमा आएको हो । समुद्री सतहदेखि तीन हजार तीन सय ९ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर रहेको छ । यो जिल्लाकै सबैभन्दा उच्च स्थान हो ।
छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल मोहोरेडाँडाभन्दा झण्डै आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने कोखेडाँडाबाट सुर्योदय, सुर्यास्त, अन्नपुर्ण, माछापुच्छ्रे, धौलागिरी, निलगिरीलगायतका दर्जनौं हिमश्रृंखलाहरू नजिकबाट अवलोकन गर्न सकिन्छ । म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थान आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावमा ओझेलमा परेको स्थानीयको गुनासो छ ।
यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न सकिन्छ । लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लागेका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको बताए । गुरुङले एक करोड २० लाख रुपैयाँको लगानीमा आपा कटेज खोलेका छन् । कटेजमा एक रातमा नेपालीहरू झण्डै ४० जनासम्म बास बस्न सक्ने क्षमता रहेको छ भने विदेशी १५ जनासम्म राख्ने गरेको उनले बताए ।
गुरुङका अनुसार यस क्षेत्रकै उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिने भए पनि अहिले सम्म कुनै पनि तहका सरकारबाट सहयोग नपाएको गुनासो गरे । उनले यहाँ आउने पर्यटकको सुविधाका लागि तत्काल नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए ।
उनको रेष्टुरेन्टमा सोलार जडान गरेर बिजुली बाल्ने, मोबाइल तथा क्यामेरा चार्ज गर्ने गरिएको छ । सबै खालको सुविधा उपलव्ध भएमा यहाँ पर्यटकको संख्या थामि नसक्नु हुने उनको अनुभव छ । अहिले यहाँ पर्वत, बागलुङ, काठमाडौं, चितवन, पोखरा, स्याङ्जा, म्याग्दी, चितवनलगायतका जिल्लाबाट आन्तरिक र युरोप, दक्षिण कोरियालगायतका मुलुकबाट समेत पर्यटकहरू आउने गरेका छन् ।
गुरुङले आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई छुट्टाछुट्टै दररेटको प्याकेज बनाएको जानकारी दिए । नेपालीहरूलाई एक रातको एक हजार पाँच सय रुपैयाँको प्याकेज निर्धारण गरिएको छ । कोखेडाँडामा विभिन्न ३० देशका झण्डाहरू समेत राखिएको छ । बाह्य पर्यटकको आकर्षण बढाउनकै लागि भारत, एसियाका अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अस्ट्रेलिया र अमेरिकन देशका झण्डाहरू सजाएर आकर्षक बनाइएको छ ।
यहाँ पुग्ने पर्यटकको सुविधाका लागि गुरुङले कास्कीको अन्नपुर्ण गाउँपालिका–८ ताप्राङमा समेत आमा कटेज सञ्चालनमा ल्याएका छन् । दुवै कटेजमा गरी ६ जना युवालाई रोजगारीको अवसर समेत प्रदान गरेको उनले बताए । पर्यटकीय स्थल कोखेडाँडा जानका लागि पर्यटकहरूले तीनवटा मार्ग प्रयोग गर्न सक्नेछन् । कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिडेर कोखेडाँडा पुग्न सकिन्छ । यो मार्गवाट चारदेखि पाँच घण्टा पैदल यात्रा गर्नु पर्छ ।
त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँवाट झण्डै ६/७ घण्टाको पैदल यात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ । पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीको यात्रा गरेर तीन घण्टाको पैदल यात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ । कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसै वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका– १ भुकताङ्लेका वडा अध्यक्ष टेकबहादुर गुरुङले बताए । पालिकाकै उत्कृष्ट पर्यटकीय स्थल भए पनि मोदी गाउँपालिकाले भने कुनै बजेट विनियोजन नगरेको उनको भनाइ छ । कोखेडाँडा जाने पर्यटकहरू मोदी गाउँपालिका – १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको होमस्टेमा समेत बास बस्न सकिने व्यवस्था रहेको छ । त्यस्तै मोदी गाउँपालिका–४ लेसपारमा होमस्टे सुविधा विस्तार गरिएको छ ।