ठगीको पर्याय ? «

ठगीको पर्याय ?

 

वैदेशिक रोजगारीमा हुने यस्ता बेथिति अन्त्यका प्रयास नभएका पनि होइनन्, तर बेथिति र विकृतिको स्वरूप भने फेरिएको छ ।

नेपालका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तर, वैदेशिक रोजगार व्यवसायको सार्वजनिक छवि भने त्यति राम्रो छैन । केही वर्षअघिसम्म बर्सेनि ५ लाख युवा बिदेसिने गरेकोमा अहिले केही घटेको देखिए पनि मुलुकमा वैदेशिक रोजगारीको आकर्षण भने घटिसकेको छैन । स्वदेशमा बेरोजारीको अवस्था तथा यहाँ काम पाइरहेकैले पनि देखासिकीका कारणले वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । तर, वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशले कुनै न कुनै रूपमा आफू ठगिएको महसुस गरिरहेका हुन्छन् । भनेबमोजिमको काम नपाउने, काम पाए पनि पहिले भनेअनुसार तलब र सुविधा नपाउनेजस्ता समस्या यस क्षेत्रका लागि सामान्य भइसकेका छन् । सोही कारण यस क्षेत्रमा संलग्न व्यवसायीको सार्वजनिक छविमा समेत समस्या छ । यद्यपि मुलुकको बेरोजगारी समस्या समाधानदेखि बढ्दो शोधनान्तर घाटा समाधानका लागि रेमिट्यान्स भिœयाउने सूत्राधारका रूपमा पनि उनीहरूलाई श्रेयको केही अंश दिँदा फरक पर्दैन ।
वैदेशिक रोजगारीमा हुने यस्ता बेथिति अन्त्यका प्रयास नभएका पनि होइनन् । तर, बेथिति र विकृतिको स्वरूप फेरिएको छ । पछिल्लो समय केही म्यानपावर कम्पनीले गिरोह नै बनाए युवासँग पैसा असुल्ने गरेको पाइएको वैदेशिक रोजगार विभागले नै पुष्टि गरेको छ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लागतको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेको पाइनु दुर्भाग्यपूर्ण छ । सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको सरकारी निकायको आरोपको छानबिन जरुरी छ ।
त्यसो त नेपालले उदार अर्थनीति अवलम्बन गरेसँगै २०४९ देखि पासपोर्ट दिने प्रक्रियालाई उदार बनाएर नेपालीहरूलाई विदेशीमा पढ्न, काम गर्न सहजीकरण गरेको हो र यससँगै वैदेशिक रोजगार क्षेत्र फस्टाएको पनि हो । दुई दशकदेखि यो क्षेत्र देशको अर्थतन्त्र धान्ने मुख्य आधार भएको छ । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको एक विवरणअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का अनुपातमा सर्वाधिक धेरै रेमिट्यान्स भिœयाउने मुलुकहरूमध्ये नेपाल सधैँजसो पहिलो पाँच स्थानभित्र रहेको देखिन्छ । सन् २०१८ मा मात्र नेपालले यहाँको कुल गार्हस्थ्य उत्पादनको ३०.१ प्रतिशत बराबरको रेमिट्यान्स पाएको छ । नेपालको अर्थतन्त्र रेमिट्यान्समा पूर्णतः आश्रित भएको सबैजसो अध्ययनले देखाएका छन् ।
वैदेशिक रोजगारीका सकारात्मक पाटोसँगै यसरी खुलेआम ठगी हुँदा पनि तथा ठगीको आरोप लागेकाहरू सार्वजनिक जीवनमै हुँदासमेत सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्नेमाथि कारबाही गर्न सकेको छैन । नेपालको कानुनले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेमाथि कडा कारबाही हुने व्यवस्था छ, तर अपवादबाहेक त्यस्ता ठगहरूका विरुद्ध उजुरी नै परेको छैन भने परेका उजुरीमाथि पनि कारबाही हुन सकेको पाइँदैन । यस्तोमा विभिन्न संघसंस्था तथा स्थानीय निकायहरूले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सचेत पार्ने, वैदेशिक रोजगारीमा गएकाहरूको रेकर्ड राख्ने र वैदेशिक रोजगारीका नाममा ठगिनेहरूलाई सहयोग गर्नुपर्छ । अर्कातर्फ कानुनको कार्यान्वयनमा पनि सबैले जोड दिनुपर्छ । वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउँदै यस क्षेत्रमा रहेका व्यवसायीलाई पनि सम्मानीत नजरले हेर्ने वातावरण बनाइनुपर्छ । यसका लागि यस्ता प्रकारका ठगी नियन्त्रणमा व्यवसायीले नै राज्यलाई सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्