Logo

वित्त कम्पनीको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म

काठमाडौं– कर्जा असुलीमा समस्या आउँदा वित्त कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुगेको छ । चालु आवको पहिलो त्रैमासको विवरणअनुसार वित्त कम्पनीहरूको निष्क्रिय कर्जा न्यूनतम ३.१२ प्रतिशतदेखि अधिकतम ३४.६४ प्रतिशतसम्म पुगेको हो ।

कम्पनीहरूले कर्जा असुलीका लागि प्रयास गरे पनि असुली बढ्न सकेको छैन । अर्थतन्त्रको सुस्तता, कर्जाको उच्च ब्याजदर, उपभोक्ताको आम्दानीमा गिरावट आदि कारणले पछिल्ला वर्षहरूमा कर्जा असुलीमा समस्या पर्दै गएको छ । यसले गर्दा खराब कर्जा बढ्ने क्रम बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकै निष्क्रिय कर्जा बढिरहेको अवस्थामा चालु आवको पहिलो त्रैमासमा वित्त कम्पनीको यस्तो कर्जा झनै बढ्न पुगेको हो ।

वित्त कम्पनीहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्सको देखिएको छ । चालु आवको पहिलो त्रैमासमा यो फाइनान्सको निष्क्रिय कर्जा ३४.६४ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा १७.६० प्रतिशत यस्तो कर्जा थियो । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा झण्डै दोब्बर निष्क्रिय कर्जा बढेको छ । चालु आवको पहिलो त्रैमासमा समृद्धि फाइनान्सको निष्क्रिय कर्जा २३.४७ प्रतिशत छ । गत आवको सोही समयमा यो फाइनान्सको निष्क्रिय कर्जा ४.७९ प्रतिशतमात्रै थियो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको निष्क्रिय कर्जा पनि गत आवको पहिलो त्रैमासको तुलनामा बढेको छ । चालु आवको पहिलो त्रैमासमा यो फाइनान्सको निष्क्रिय कर्जा १३.५६ प्रतिशत छ । गत आवको सोही समयमा ४.७२ प्रतिशत थियो । यस्तै, गत आवको पहिलो त्रैमासमा ११.७५ प्रतिशत रहेको नेपाल फाइनान्सको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा १०.३६ प्रतिशतमा झरेको छ ।

चालु आवको पहिलो त्रैमासमा सेन्ट्रल फाइनान्सको निष्क्रिय कर्जा ८.७१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यसको निष्क्रिय कर्जा ७.४३ प्रतिशत थियो । यस्तै प्रोग्रेसिभ फाइनान्सको निष्क्रिय कर्जा ७.४७ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा १२.४५ प्रतिशत थियो । चालु आवको पहिलो त्रैमासमा मल्टिपर्पस फाइनान्सको निष्क्रिय कर्जा ४.९७ प्रतिशत छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत थियो । यस्तै गुडविल फाइनान्सको निष्क्रिय कर्जा ४.९१ प्रतिशत छ । गत आवको सोही अवधिमा ३.९७ प्रतिशत थियो ।

यस्तै चालु आवको पहिलो त्रैमासमा वेस्ट फाइनान्सको निष्क्रिय कर्जा ३.९८ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा यो फाइनान्सको निष्क्रिय कर्जा ५.४९ प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा ३.२३ प्रतिशत निष्क्रिय कर्जा रहेको आईसीएफसी फाइनान्सको चालु आवको सोही अवधिमा ३.६६ प्रतिशत पुगेको छ ।

गोर्खाज फाइनान्सको निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासमा १.९४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ३.२१ प्रतिशत रहेको छ । गत आवमा १.२० प्रतिशत रहेको श्री इन्भेस्टमेन्ट फाइनान्सको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ३.१९ प्रतिशत पुगेको छ । यस्तै मन्जुश्री फाइनान्सको निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासमा २.८५ प्रतिशत रहेकोमा चालु आवको पहिलो त्रैमासमा १.२० प्रतिशत छ । यसबाहेक अन्य वित्त कम्पनीहरूको पनि निष्क्रिय कर्जा बढेको देखिन्छ ।

राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशतभन्दा बढी हुन हुँदैन । यस्तो कर्जा तोकिएको अनुपातभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ ।

वित्त संस्थाहरूको अपरिष्कृत वित्तीय विवरणमा मात्रै हैन, केन्द्रीय बैंकले प्रकाशित गर्ने परिष्कृत वित्तीय विवरणमा पनि निष्क्रिय कर्जा बढेको देखिन्छ । गत भदौ मसान्तसम्मको विवरणअनुसार वित्त कम्पनीहरूको औसत निष्क्रिय कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये ९.८७ प्रतिशतले हुन आउने १० अर्ब दुई करोड कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२७ प्रतिशत अर्थात् तीन अर्ब एक करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात अर्ब २७ लाख निष्क्रिय थियो ।

प्रतिक्रिया दिनुहोस्