Logo

मोबाइल भ्यानमार्फत खुला दूधको परीक्षण

काठमाडौं– विभिन्न डेरी उद्योगहरुले खुला रुपमा बिक्री गर्दै आएको दूधको गुणस्तरमा बारम्बार प्रश्न आइरहेका बेला मोबाइल फुड ल्याब भ्यानमार्फत गुणस्तर जाँच सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही दिनदेखि भ्यानमार्फत खुला रुपमा बिक्री भइरहेको दूधको गुणस्तर जाँच्न सुरु गरेको हो ।

विभागले पहिलो पटक काठमाडौं प्रवेश बिन्दुमा कच्चा खुला दूधको गुणस्तर परीक्षण गरेको छ । यसअघि विभागले यस्तो दूधको गुणस्तर परीक्षण गरेको थिएन । काठमाडौं भित्रिने दूधमा समस्या छ भन्ने विभागमा गुनासो आएपछि आइतबारदेखि कच्चा दूधको गुणस्तर परीक्षण सुरु गरिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । पहिलो चरणमा प्रहरी वृत्त जगाती भक्तपुरको सहयोगमा अनुगमन टोलीबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेका कच्चा दूध बोकेका ढुवानी साधनबाट नमुना संकलन तथा परीक्षण सुरु गरिएको उनले बताए ।

कर्णका अनुसार विभागले मोबाइल भ्यानमार्फत काठमाडौं उपत्यकाका प्रवेश बिन्दुहरुमा बिहान ६ देखि १० बजेसम्म नमुना संकलन गरी परीक्षण गर्न थालेको छ । आइतबार भक्तपुरको जगातीबाट सुरु भएको चेकजाँचलाई विस्तारै काठमाडौं उपत्यकाका अन्य प्रवेश बिन्दुहरुमा समेत पुर्‍याइनेछ । सबै प्रवेश बिन्दुमा मोबाइल फुड ल्याब भ्यान परिचालन गरेर उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन गरिने महानिर्देशक कर्णले जानकारी दिए ।

विभागका अनुसार आइतबार चुनदेवी भक्तपुरमा २८० लिटर र साँगामा ३६० लिटर दूधको नमुना परीक्षण गरिएको थियो । यसैगरी बनेपास्थित स्थानीय कृषकहरुबाट ल्याइएको ८ सय लिटर, बुडौलबाट ल्याइएको १२५ लिटर र स्थानीय कृषक सुधन भुजेलको बनेपास्थित फार्मको २९० लिटर दूध परीक्षण गरिएको थियो । ढुवानी साधनबाट ल्याएका दूधमा सोडा, चिनी, युरिया र स्टार्चजस्ता बाह्य पदार्थहरु भए–नभएको परीक्षण गरिएको हो । परीक्षण गर्दा कैफियत नपाइएको विभागले जनाएको छ ।

लामो समयदेखि विभागको चौरमा थन्क्याइएका मोबाइल फुड ल्याब भ्यानलाई अहिले बजारमा परिचालन गरी विभिन्न खाद्य वस्तुको अनुगमन तथा निरीक्षण गरिँदै आएको छ । विभागले असोज १६ देखि २ वटा मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा ल्याएको थियो भने अर्का २ वटा कात्तिक ११ बाट सञ्चालनमा छन् । विभागले विभिन्न प्रकारका खाद्य तथा पेयजन्य पदार्थको बजारमै अनुगमन र परीक्षण गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले २०७५ वैशाखमा ४ वटा प्रयोगशालासहितको मोबाइल भ्यान खरिद गरेको थियो । भ्यान २८ करोड रुपैयाँमा खरिद गरिएको थियो ।

भ्यान खरिदमा आएको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतसम्म पुगेको थियो । यही कारण बजार अनुगमन गर्न ल्याएका भ्यान प्रयोगविहीन भएर बसेका थिए । अहिले आएर भ्यान सञ्चालनमा ल्याइएको छ । महानिर्देशक कर्णका अनुसार चार वटा भ्यानमध्ये एउटा काठमाडौं उपत्यकाका लागि सञ्चालन हुनेछ भने तीन वटा जिल्लाहरुमा पठाइने छ ।

पछिल्लो पटक भ्यान सञ्चालनमा आएपछि गरिएको अनुगमनबाट कैफियत देखिएका १ हजार ४ सय ३ व्यवसायी कारबाहीमा परेका छन् । यही असोज १६ देखि कात्तिक १२ सम्म गरिएको बजार निरीक्षण तथा अनुगमनबाट यति धेरै संख्यामा कैफियत भेटिएको हो । अनुगमनबाट कैफियत भेटिनेमा ६ सय २९ खाद्य बजार, ३७५ वटा खाद्य उद्योग र ४ सय वटा होटल तथा रेस्टुरेन्ट परेका छन् । यसैगरी देशैभरबाट ३५७ वटा खाद्य पदार्थका नमुना संकलन गरिएको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका २८ लाख ४१ हजार ५६५ मूल्यबराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्