लामिछानेसँगै चार जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेलाई चौथो पटक म्याद थप्न आइतबार प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ । सूर्यदर्शन सहकारीको बचत रकम लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले कारबाही सिफारिश गरेको थियो ।