Logo

पक्राउ परेका अधिकारीलाई काठमाडौं ल्याइँदै

काठमाडौं- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आइतबार काठमाडौं ल्याइँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न २:३० बजेको समयमा अधिकारीलाई काठमाडौं ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ”नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको थियो, अहिले काठमाडौं ल्याइँदै छ ।” यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालयले पनि पक्राउ पुष्टि गरेको छ । यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्