कपिलवस्तुलाई पर्यटकीय नगरको रुपमा अगाडि बढाउँदै छौं
मुलुकमा संघीयता आएपछि स्थानीय तहमा क्रमिक रुपमा विकास भएको छ । त्यसै अनुरुप तौलिहवा बजार अर्थात कपिलवस्तु नगरपालिकामा पनि भौतिक पूर्वाधारको अवस्था पहिले भन्दा राम्रो हुँदै गएको छ । तर सामाजिक चेतनाको विकास गर्न समय लाग्दो रहेछ । अघिल्लो कार्यकालमा म वडाध्यक्ष थिएँ । त्यसबेला हामी भर्ना अभियान चलाउँथ्यौं, घर घरमा विद्यार्थी खोज्न जान्थ्यौं ।
छोराछोरी स्कुल नपठाउने एक खालको परम्परा थियो । पठाएपनि सात आठ कक्षापछि शुल्क तिर्न सकिन्न भनेर छोरीलाई विद्यालय नपठाउने अवस्था थियो । ड्रप आउटको समस्या धेरै नै थियो । राज्यले शिक्षा नि:शुल्क भने पनि विभिन्न बहानामा विद्यालयहरुमा पैसा लिइन्छ । मजदुरी गरेर खाने निम्न वर्गकाले पढाउन पर्यो सरकारी स्कुलमा पनि शुल्क लिँदा आफ्ना सबै बच्चालाई पढाउन सक्ने अवस्था हुन्न । समाजको यस्तो मानसिकता देखेर आएकाले म मेयरमा निर्वाचित भएपछि विद्यालय शिक्षालाई सम्पूर्ण रुपमा नि:शुल्क गरेका छौं ।
सामुदायिक विद्यालयमा १० कक्षासम्म कुनै पनि बहानामा शुल्क लिन पाइँदैन । अहिले सदरमुकामको चार पाँच वटा माविले मलाई फोन गरेर विद्यालयमा विद्यार्थी धेरै भए अब भर्ना लिन सक्दैनौ भनेर भन्नुहुन्छ । नि:शुल्क गरेपछि अहिले स्कुल जाने बालबालिका ह्वात्तै बढेका छन् । शिक्षाको गुणस्तर अझै सुधार गर्नुपर्ने छ । सबै स्कुलमा भौतिक पूर्वाधार राम्रो छैन ।
हाम्रो नगरपालिकामा ५२ वटा स्कुल छन् । सबै स्कुलको पूर्वाधार बनाउने हो भने २ वर्षको बजेट नै जान्छ । यसमा संघीय सरकारको पनि सहयोग चाहिन्छ । स्वास्थ्यको क्षेत्रको कुरा गर्दा पहिले नगरपालिकामा धेरै सहायता माग्ने गर्दथे । सरकारी तहबाट सहयोग गरेर साध्य हुने अवस्था नदेखेपछि स्वास्थ्य बीमालाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्यायौं । कम्तीमा ३५ सयको स्वास्थ्य बीमा गर्दा एक वर्षमा एक परिवारको ५ जनामा कोही बिरामी पर्दा एक लाखसम्मको नि:शुल्क औषधि उपचार पाइन्छ ।
हामीले स्वास्थ्य बीमामा आकर्षित गर्न र सबैमा पहुँच पुगोस भनेर बीमा शुल्कमा ५० प्रतिसत नगरपालिकाले अनुदान दिने योजना ल्यायौं । यसले बीमा शुल्क तिर्न नसक्नेलाई पनि राहत भयो । कपिलवस्तु नगरपालिका पुरातात्विक र ऐतिहासिक नगर पनि हो । गौतम बुद्धले २९ वर्ष बिताएको स्थान तिलौराकोट यही नगरमा छ । त्यस्तै निग्लिहवा, गोटिहवा, कुदान, कुदान, सगरहवा, अरौराकोट जस्ता बुद्धस्थलहरु यहाँ छन् । गौतम बुद्ध लुम्बिनीमा जन्मेको भएपनि आफ्नो युवा अवस्थासम्म बिताएको ठाउँ तिलौराकोट हो । तर तिलौराकोट ओझेलमा छ ।
राज्यले जति महत्त्वको साथ हेर्नुपर्ने हो, हेरेको छैन । तिलौराकोटको विकास र प्रवर्द्धनको लागि धेरै फोरममा कुरा उठाएका छौं । पछिल्लो समय तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतमा गर्न मनोनयन भएको छ । विश्व सम्पदा सूचीमा पार्न सक्यौं भने पर्यटक आगमन बढ्ने आशा गरेका छौं । तिलौराकोटसँगै अन्य बुद्धस्थल तथा पर्यटकीय स्थलको विकासका लागि हाम्रो तर्फबाट निरन्तर पहल र घच्घच्याउने काम गरिरहेका छौं । कपिलवस्तु नगरपालिकालाई बुद्धकालिन पर्यटकीय नगरको रुपमा विकास गर्ने गरी अघि बढेका छौं ।
तौलिहवा बजार क्षेत्रका मुख्य सडकहरु निर्माणाधिन अवस्थामा छन् । यो सडक संघीय सरकार मातहतको हो । तर नगरपालिकाले छिटो सक्न आग्रह गरिरहेका छौं । यो आर्थिक वर्षभित्र सबै बाटो सक्ने केन्द्रीय सरकारले बताएको छ । हामीले छिटो सक्न पटक पटक ध्यानाकर्षण गराइरहेका छौं । अहिले तौलिहवा बजारमा वृक्षरोपण गरेर ग्रिनरीको काम सुरु गरेका छौं, लाइटहरुको काम पनि सम्पन्न भएको छ । ठाउँ ठाउँमा बिरुवा लगाएर हरियालीसहितको उज्यालो तौलिहवा बनाउने अभियानमा हामी लागेका छौं ।
कृषितर्फ हामीले किसानलाई अनुदानको रुपमा इलेक्ट्रिक मोटरहरु, ट्यांकी, बिउ विजनहरु, औषधि प्रदान गरेका छौं । किसानालाई आवश्यक भएका कुरा ५० प्रतिशत अनुदानमा हामीले उपलब्ध गराएका हौं । नगर क्षेत्रमा छाडा चौपाय ठूलो समस्याको रुपमा छ । बोर्डर नजिक भएकाले भारतबाट पनि धेरै गाइगोरु यता आउँदा तिनीहरुलाई व्यवस्थापन गर्न निकै गाह्रो भएको छ । तर व्यवस्थापन गर्ने प्रयास जारी नै छ ।
अर्कोतर्फ अनाश्वयक बेनामे उजुरीहरुको सामना पनि हामी जनप्रतिनिधिले गर्नुपरेको छ । उजुरी पर्ने अनि छानविन गर्दा केही प्रमाण नभेटिने भइरहेको छ । त्यसले गर्दा काममा गाह्रो र ढिलाई हुने गरेको छ । विभिन्न समस्यासँग जुध्दै नगरको विकास र उन्नतिमा लागिरहेका छौं । हाम्रो कार्यकालमा तौलिहवा बजार हेर्ने लायक बनोस् भन्ने चाहना छ । अबको साढे २ वर्षमा हामीले कपिलवस्तु नगरपालिकालाई परिवर्तन भएको महसुस गराउने छौं ।