गाई फर्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन

बेइजिङ-दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ । दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ । विश्वमै प्रविधिका विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि त्यस्तै प्रगति गरेको छ । यसको उदाहरण हो– चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म ।
जुन्लेवाओ गाईफार्ममा ५ हजार ५ सय दुधालु गाईपालन गरिएको छ । प्रत्येक गाईले दैनिक ३० लिटर दूध दिने गरेका छन् । गाई फार्ममा दूध दुहुने, दाना खुवाउने, गाईलाई नुहाउनेदेखिका सबै काम एकपछि अर्काै गर्दै प्रविधिमार्फत नै हुन्छन् । मानव स्रोतको परिचालन प्राविधिक कमिकमजोरीका लागि मात्रै उपयोग गरिएको छ ।
फार्म अवलोकनका लागि पुगेको नेपाली टोली समक्ष डेरीका कर्मचारीले निकट भविष्यमा रोवर्टको माध्यमबाट गाईको हेरचाह गरिने जानकारी दिए । जुन्लेवाओ डेरीले २१ वटा दूधका उत्पादन बजारमा ल्याएको छ । चीनको खबे प्रान्तमात्रै नभएर अन्य प्रान्तमा पनि कृषिलाई आधुनिकीकरण गर्न प्रविधिको उच्चतम प्रयोग गरिएको चिनियाँ अधिकारीहरू बताउँछन् ।
डेरीमा हेरक गाईका लागि छुट्टाछुट्टै अवलोकन मेसिनसमेत राखिएको छ । नम्बरकै आधारमा ६५ वटा गाईलाई गोलाकार मेसिनमा राखेर दूध दुहुने र हरेक गाईको दूध छुट्टाछुट्टै तरिकाले मापन भएर डेरीसम्म जाने व्यवस्था गरिएको छ । गाईपालनमा आवश्यक पर्ने सबैजसो कामहरूमा मुख्य सिस्टमबाटै मनिटरीङ गर्ने गरिएको छ । यसले गर्दा एकातर्फ गाईपालनमा लागत कम लाग्ने गरेको छ भने उत्पादन वृद्धिमा प्रविधिको पनि उच्चतम प्रयोग भएको छ ।
नेपालमा पनि गाईपालनमा आधुनिक प्रविधि भित्र्याउन थालिएको छ । रूपन्देहीको लुम्बिीनी एग्रोफार्म र चितवनको लालीगुराँस एग्रो फार्मलगायतका केही ठूला फार्महरूले गाईपालनमा नयाँ प्रविधि भित्र्याएका छन् । गाइको गोठ, बाच्छाबाच्छी र आमाको व्यवस्थापन, सरसफाइ, दूध दुहुने तथा भण्डारणलगायत काम मेसिनबाट गर्न थालिएको छ । यद्यपि नेपालमा अधिकतम ३० लिटर दूध दिने गाईहरू मात्र छन् भने यीनले औषतमा ११ लिटरमात्र दूध दिन्छन् ।
डेरी विज्ञ बाबुकाजी पन्त पछिल्लो समयमा दूध उत्पादनमा आधुनिक प्रविधिहरू भित्रने क्रम रहेको र भविष्यमा यो क्षेत्रले राम्रो उपलब्धी हासिल गर्ने बताउँछन् । “एकातिर हामीले उच्च नश्लका गाई विकास गर्न सेक्स सिमेन (बाछिमात्र जन्मने नश्ल) प्रविधिमा एआई मिसनहरू चलाइरहका छौं भने निजी क्षेत्रबाट आधुनिक गाई पालनको काम भइरहका छन्,” उनी भन्छन्, “समय अलिक लाग्छ तर गाईपालनमा आधुनिक प्रविधि विस्तारका लागि नेपालमा राम्रो काम भइरहको छ ।”
उनले उच्च नश्लका गाईहरूले औषत १० देखि १२ लिटरमात्र दूध दिने भएकाले गाई पालमा उत्पादन लागत घटाउन धेरै दूध दिने गाई र घाँसमा आधारित गाईपालनमा जोड दिने सरकारी नीति भएको बताए ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार हरेक स्वच्छ व्यक्तिले वर्षमा ९१ लिटर दूध सेवन गर्नुपर्छ । नेपालमा प्रतिव्यक्ति प्रति वर्ष दूध सेवनको दर ७२ लिटर छ भने दुग्ध पदार्थको उत्पादनका लागि बर्सेनि दूध पाउडर आयात गर्नुपर्ने अवस्था छ । नेपालमा करिव ७४ लाख गाईगोरु छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार मुलुकभरका कुल संख्याको ८८ प्रतिशत हिस्सा दूध नदिने गाई र गोरुको मात्र रहेको छ । कुल गाई संख्याको ११ प्रतिशत अर्थात् ८ लाख कम दूधालु स्थानीय प्रजातिका छन् । स्थानीय गाईले आधा लिटर देखि २ लिटर दूध दिन सक्ने मात्र छन् भने करिव ४ लाखको संख्यामा रहेका गाईले वर्षमा औषत १० लिटर दूध दिन्छन् । कुल गाईमध्ये दूधालु गाईको संख्या १६ प्रतिशत मात्र छ ।
छिमेकी मुलुक भारत चीनमा उच्च नश्लका गाईहरू भए पनि सरकारी नीति नहुँदा हालसम्म दुबै देशबाट उच्च नश्लका गाई आयात गर्न भने समस्या छ । “हामीले भारतबाट गाई ल्याएका छौं तर औपचारिक बाटोबाट नभइ अनौपचारिक बाटोबाट ल्याउनुपर्ने बाध्यता छ,” नाम नबताउने सर्तमा एक गाई फार्मका सञ्चालक भन्छन्, “धेरै दूध दिने गाई त भारतले दिंदै दिैन, ठिक्क दूध दिने गाई पनि चोरबाटोबाट ल्याउदा दोब्बर महँगो पर्छ ।” पछिल्लो समयमा चीनबाट गाई ल्याउने गरि प्रदेश सरकारहरूले पहल गरिरहेका छन् । तर पनि यस विषयमा सरकारले आधिकारिक धारणा बनाइ सकेको छैन । नेपालभर दैनिक ५० लाख दूध व्यवसायीक र घरेलु तहमा उत्पादन हुने गरेको अनुमन छ । दूधको उत्पादन वार्षिक ४ प्रतिशतले र माग ८ प्रतिशतले बढिरहेको तथ्यांक छ ।
विश्वभर सबैभन्दा बढी दूध उत्पादन गर्ने प्रमुख मुलुक अमेरिका हो भने दोस्रो भारत पर्छ । तेस्रोमा चीन, चौथोमा जर्मनी र पाँचौमा ब्राजिल छन् । रसिया, फ्रान्स, न्युजिल्यान्ड, टर्की र बेलायतलगायतका मुलुक विश्वका धेरै दूध उत्पादन गर्ने मुलुकमा पर्छन् । छिमकी मुलुकमै दैनिक एक सय लिटरसम्म दूध दिने विश्व स्तरका गाईका नश्ल भए पनि हालसम्म दुबै मुलुकबाट एउटा गाई पनि औपचारिक रूपमा नेपाल ल्याइएको पाइदैन । नीतिगत अवरोध मात्र नभइ उच्च नश्लका गाई तयार गर्न पनि वर्षौं लाग्ने भएकाले भारत र चीनले सिधै उच्च नश्लका गाई नेपाललाई दिन नचाहेको पनि दुग्ध क्षेत्रका विज्ञहरू बताउँछन् ।
सरस्वती ढकाल-किरण आचार्य