रैथाने बाली संरक्षण गर्दै दाङका कृषक
दाङ– पछिल्लो समय जिल्लाका कृषक लोपोन्मुख रैथानले बाली संरक्षण गर्न थालेका छन् । उनीहरू लोप हुँदै गएका बाली संरक्षण गर्न लागिपरेका हुन् ।
गीता रावतले विगत पाँच वर्षदेखि रैथाने धानको बीउ उत्पादन गर्दै आएकी छिन् । उनले घोराही उपमहानगरपालिका–५ डाँगी गाउँमा २० बिगाह जग्गा भाडा लिएर रैथाने धानको खेती गर्दै आएकी हुन् । उनले अर्गानिक कृषि उपज तथा प्रशोधन बजार केन्द्र फर्म स्थापना गरेर रैथाने धानको बीउ उत्पादन गर्दै आएको बताउँछिन् ।
लोपोन्मुख धानको संरक्षणका लागि धानको बीउ उत्पादन गर्दै आएकी छु,’ उनले भनिन्, ‘लोप हुन थालेको रैथाने धानको बीउ जोगाउन बीउ उत्पादन गर्न थालेकी हुँ ।’ उनले १२ कठामा सिमठारो, पाँच बिगाहामा तिलकी, १२ बिगाहमा चैते ५ र करिब चार विगाहमा राधा ४ धानको बीउ उत्पादन गर्दै आएकी छिन् ।
उनले उत्पादन गरेको सबै धान बीउका लागि जाने गरेको उनको भनाइ छ । धान बिक्रीमा कुनै समस्या नभएको समेत उनले बताइन् । लोप हुन थालेको बीउ संरक्षणका लागि कतैबाट आफूले सहयोग नपाएको समेत उनी बताउँछिन् । ‘लोप हुन थालेको धानको बीउ जोगाउन कतैबाट पनि हालसम्म सहयोग पाएकी छैन,’ उनले भनिन् । पछिल्लो समय रैथाने बीउभन्दा पनि हाइब्रिड बीउमा आकर्षण बढेको उनको भनाइ छ । ‘रैथाने बीउ जोगाउनेभन्दा पनि विदेशबाट आयात गरेको बीउलाई प्राथमिकता दिइन्छ,’ उनले भनिन्, ‘बिउमा समेत परनिर्भर रहँदै आएका छौं ।’
यस्तै महालक्ष्मी कृषि बीउबीजन तथा पशुपंक्षीपालन समूहले पनि घोराही उप–महानगरपालिका–१६ मा रैथाने बीउ संरक्षण गर्न लागिपरेको छ । विगत पाँच वर्षदेखि स्थानीय रैथाने बीउलाई जोगाउन लागिपरेको समूहले जनाएको छ । समूहले तिलकी धान र सिम्ठारो धानको खेती गरेको जनाएको छ । जुन बीउको रूपमा प्रयोग गरिने गरेको छ । पछिल्लो समय तिलकी तथा सिमठारोको चामलको मागसमेत बढदै गएको कृषकको भनाइ छ ।
दाङको पहिचानको रूपमा रहेको तिलकी र सिमठारो धान पछिल्लो समयमा कृषकहरू संरक्षणमा लागेको कृषि ज्ञान केन्द्र दाङका निमित प्रमुख पीताम्बर बस्नेत बताउँछन् । ‘दाङको पहिचानको रूपमा तिलकी र सिमठारो धान रहँदै आएको छ’ उनले भने, ‘यो पनि लोप हुन थालेको थियो तर पछिल्लो समय यसको संरक्षण गर्न कृषक लागिपरेको पाइएको छ ।’
जिल्लामा तिलकी धानखेतीको क्षेत्रफल बढ्दै गएको छ भने सिमठारो धानको क्षेत्र अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाइ छ । तिलकी धानको खेती घोराही तथा तुलसीपुर क्षेत्रमा गरेर करिब एक सय हेक्टरमा खेती गरेको पाइएको छ भने सिमठारो करिब दुई बिगाहमा खेती गरेको बताइएको छ । लोपोन्मुख धानको माग पछिल्लो समय बढ्दै गएको निमित प्रमुख बस्नेत बताउँछन् । ‘लोपोन्मुख बीउको संरक्षण गर्न सकेमा बीउमा आत्मनिर्भर हुनुका साथै आर्थिक रूपमा समेत राम्रो आम्दानी गर्न सकिने छ,’ प्रमुख बस्नेतले भने ।
प्रदेश सरकारले रैथाने बाली संरक्षण गर्नका लागि सहयोग गर्दै आएको उनको भनाइ छ । रैथाने धान सुगर फ्रि, रुखो जमिन, सिँचाइ नहुनेमा हुने कम फल्ने, छरुवामा राम्रो हुने कृषक बताउँछन् । स्वास्थ्यको दृष्ट्रिकोणले समेत राम्रो भएको कृषकहरू बताउँछन् । रासायनिक मल विनाको खेती पनि अतिउत्तम हुने, बजार मागसमेत अत्यधिक रहेको उनीहरूको भनाइ छ । रैथाने धान र चामलसमेत हाइब्रिडभन्दा बढी मूल्यमा बिक्री हुने गरेको कृषकहरू बताउँछन् ।
बाइब्रिडमा आकर्षण बढ्दै
दाङमा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । जिल्लामा सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म पुराना धान लगाउन थाडेका छन् । घोराही क्षेत्र, देउखुरी क्षेत्र तथा पश्चिम दाङ क्षेत्रका किसानले पुरानो जातको धान सिम्ठारो, तिल्की, विन्देश्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी लगाउन छाडेर हाइब्रिड धान लगाउन थालेका छन् । जसले गर्दा पुरानो धान लोप हुँदै गएको कृषि क्षेत्रका जानकार बताउँछन् ।
पहिले रैथाने धानको खेती गर्ने गरे पनि हाल सो धानको खेती हराउँदै गएको एक कृषकले बताए । ‘जिल्लामा सिम्ठारो, तिल्की, विन्देश्वरी लगायत रैथाने धानको खेती गर्न छाडेका छन्,’ उनले भने । पछिल्लो समयमा जिल्लामा कृषकले हाइब्रिड बीउ प्रयोग गर्ने बढेका छन् । धेरैजसो किसानको रोजाइ हाइब्रिड जातका धान नै छ । धेरै उत्पादन हुने तथा कम सिँचाइ र हेरचाहबाट पनि धान उत्पादन हुने भएका कारण धेरैको रोजाइमा रैथाने भन्दा अन्य उन्नत र हाइब्रिड धानको खेतीतर्फ कृषक आकर्षित हुने गरेको कृषकहरूको भनाइ छ ।
पछिल्लो समय किसानले यूएस ३१२, यूएस ३०५, भीएनआर २२२३, २२४५ र उपजलगायत हाइब्रिड जातका धान बजारबाट खरिद गरी लगाउने गरेका छन् । सरकारले रैथाने धान उत्पादन प्रवर्द्धन गर्ने नीति ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । रैथाने बालीलाई प्राथमिकता दिएमा रैथाने बालीको संरक्षण हुनुका साथै बीउका लागि धेरै रकम विदेशिनबाट रोक्न सकिन्छ ।