Logo

नवउद्यमी सम्मेलनले विकाससँगै समृद्धि ल्याउने अपेक्षा

वीरगन्ज– वीरगञ्जमा पहिलो पटक आयोजना भएको प्रदेशस्तरीय ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन २०२४’ ले उद्यमशीलताको विकाससँगै समृद्धि ल्याउने अपेक्षा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको आयोजनामा शनिबार भएको स्टार्टअप उद्यमी सम्मेलनमा उक्त अपेक्षा गरिएको हो ।

गुगल इण्डिया स्टार्टअपका प्रमुख अपूर्व चिमरिया, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, विभिन्न क्षेत्रमा स्टार्टअप गरेका व्यक्तिहरूले नेपालमा स्टार्टअपको विषयमा धारणा राखेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्घाटन गर्दै मधेश प्रदेशको आर्थिक समृद्धिका लागि महिलाहरूलाई उद्यमशीलतामा आवद्ध गराउनुपर्नेमा जोड दिए ।

उनले वीरगन्जमा भएको सम्मेलन मधेश प्रदेशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताउँदै आफू पनि राजनीति छोडेपछि केही गर्नका लागि उपायहरू जान्न पाउने सोच राखेर सिक्न आएको बताए । उनले भने, ‘उद्यम व्यवसायमा सबै सफल हुन्छन् भन्ने हुदैन । हौसला, दृढशक्ति र आत्मविश्वासका साथ नयाँ उद्यमशीलताको विकास गर्नुपर्छ । नेपालमा परम्परागत शिक्षाले उद्यमशीलताको विकास हुन सक्दैन त्यसैले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षामा ध्यान दिनुपर्छ ।’

नेपाली समाजमा काम ठूलो र सानो भन्ने धारणा रहेको बताउँदै जबसम्म यस्ता धारणालाई हटाउन सकिदैन बेरोजगारी पनि नहट्ने उनको भनाइ थियो । नेपालका अधिकांश युवा र पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश गएका र अधिकांश महिलाहरू घरमै बसेर समय खेर फालिरहेको बताउँदै त्यस्ता महिलाहरूको लागि उद्यशीलताको विकास विशेष केन्द्रित गर्नु पर्ने उनले बताए ।

मधेश प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशीलताका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको जानकारी दिँदै वीरगञ्जमा आईटी पार्क र माटो पार्कको लागि पनि बजेट राखेको उनले बताए । वीरगन्जमा स्थापना गरिने माटो पार्कको लागि महानगरपालिकाले जग्गा उपलब्ध गराए स्थानीय तहको सरकारसँग हातेमालो गरेर जाने उनको भनाइ थियो ।

उद्यमशीलताका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले उपलब्ध गराएको संघको १८ कठ्ठा जग्गामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । गुगल इण्डिया स्टार्टअपका प्रमुख चमरियाले नेपाल स्टार्टअपको लागि सम्भाव्यता भएको मुलुक रहेको बताए । उनले ३ करोड जनसंख्यामा आधा जनसंख्या मधेश प्रदेशमै रहेकोले पनि मधेश प्रदेश स्टार्टअपको लागि सम्भावना बोकेको प्रदेश रहेकोमा जोड दिए ।

उनले समस्या देखेपछि मान्छे निराश हुने गरेको बताउँदै स्टार्टअप सिद्धान्तमा जहाँ समस्या हुन्छ त्यहाँ स्टार्टअप अझ बढी हुने तर्क गरे । नेपालको पहाडी इलाकामा ढुवानीको सहज पहुँच मुख्य चुनौती रहेको भन्दै पछिल्लो समयमा विकसित ड्रोन प्रविधि ढुवानीको लागि उपयुक्त स्टार्टअप उद्यम हुनसक्ने उनको भनाइ थियो । महिलाहरूको सहभागिता न्यून देखेपछि उनले महिलालाई आरक्षणको कोटाभन्दा अधिकारको रूपमा उद्यममा प्रवेश गराउनुपर्ने बताए ।

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद साहले बैंकहरूले अब व्यावसायिक कर्जाभन्दा वातावरणमैत्री, समाजमा योगदान पुग्ने र आयआर्जन पनि हुने जस्ता सामाजिक उद्यमीहरूलाई बढी प्राथामिकतामा राखेर कर्जा प्रवाह गर्न थालेको बताए । नवउद्यम अर्थात् स्टार्टअपमा लगानी गर्ने नेपालको पहिलो बैंक नबिल रहेको उनले दावी गर्दै सामाजिक योगदानमा आधारित उद्यमको विकास आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपालमा स्टार्टअपको अवधारणा के हो ? कसरी सफल हुन सकिन्छ ? भन्ने जानकारी दिन र युवाहरूलाई उद्यमशीलतामा चासो बढाउनका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले सम्मेलनले युवाहरूलाई देशमै उद्यमको विकास गरी रोजगारी सिर्जना गर्ने र विदेश पलायन भएका युवाहरूलाई देशमै बस्न प्रेरित गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

मधेश प्रदेश निती आयोगका उपाध्यक्ष सोहन साहले नव उद्यमीको विकास आर्थिक समृद्धिको आधार रहेकोले यसको विकासमा राज्यले योजनाबद्ध ढंगबाट अगाडि बढ्नुपर्ने र त्यसको लागि समान अवसरको सिर्जना गनुपर्नेमा जोड दिए । उनले नवउद्यमको विकासको मोडेल नै विकेन्द्रीकरण र लोकतान्त्रिक प्रणाली भएको जिकिर गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतमले निजी क्षेत्र र सरकार अलग अलग हिडेर देशको आर्थिक समृद्धि नहुने बताए । उनले सरकार र निजी क्षेले विश्वासको वातावरण बनाएर सँगै हिड्ने र सरकारले बजेटको सुनिश्चितता गरेमा वीरगन्ज उद्योग वाणिज्य संघको १८ कठ्ठा जग्गा नवउद्यमीहरूलाई दिने बताउँदै पूर्वाधार निर्माणमा सरकारको बजेट आवश्यक रहेको बताए । सम्मेलनमा मधेश प्रदेशका ८ जिल्लाबाट ४५० जनाको आवदेनसहितको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्