Logo

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिवासमा हुँदै

काठमाडौं- क्रसर व्यवसायी महासंघको महाधिवेशन यही कात्तिक ३० गते (शुक्रबार) बर्दिवासमा हुने भएको छ ।

देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको हो ।

साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जानाएकाे छ । महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ । तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

यसअघि २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिवेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्