Logo

अन्तर्राष्ट्रिय उडानले गौतमबुद्ध विमानस्थलमा चहलपहल

फाइल तस्बिर ।

बुटवल– अन्तर्राष्ट्रिय उडानले गौतमबुद्ध विमानस्थलमा चहल पहल बढेको छ । जजिरा एयरवेजको जहाज आएसँगै शनिबार विमानस्थलमा चहल पहल बढेको हो । यस्तो चहल पहल विमानस्थल परिसरमा विरलै मात्र देख्न पाइन्छ । जजिरा एयरवेजको जहाजमा आएकालाई स्वागत गर्न परिवार तथा आफन्तहरुको शनिबार भीड देखिएको हो ।

विहान ७: ४५ मिनेटमा जजिराको जहाज अवतरण भएको थियो । जहाजमा १७१ जना यात्रु आएका थिए । फर्किदा १६८ जना यात्रु लिएर जहाज कुवेत प्रस्थान गरेको छ । जजिराको जहाजमा आएका यात्रुहरुले भैरहवामा अवतरण गर्न पाउँदा निकै खुसी व्यक्त गरे । रुपन्देही तिलोत्तमा ११ भुपू सैनिक झमबहादुर पुनले भैरहवा आउन जजिराकै उडान पर्खिरहेको बताए ।

‘कहिले काठमाडौं, कहिले दिल्ली हुँदै आउन परेको थियो । अहिले भैरहवा झर्न पाउँदा निकै खुसी लागेको छ । अब यहाँबाट नियमित उडान होस् ।’ भैरहवा आउने जजिराको विमानमा सबै सिटमा यात्रु भएकोे पुनको भनाइ थियो । गुल्मीकी गीता सुनुवार दुबईबाट कुवेत हुँदै भैरहवा आएकी हुन् । ‘जाँदा काठमाडौंबाट जानुपरेको थियो । आउँदा भैरहवा नै झर्न पाइयो’ उनले सुनाइन्,‘घर आउँदा नजिकै झर्न पाउँदा निकै खुसी र रमाइलो लागेको छ । काठमाडौंभन्दा भैरहवाको भाडा पनि सस्तो रहेछ ।’

कुवेतबाट आएका बुटवल बेलबासका सन्तोषबहादुर क्षेत्रीले पहिले पनि जजिराको जहाजबाट भैरहवा आएका बताए । दोस्रो पटक भैरहवा झरेर घर आउन पाउँदा उनी हर्षित थिए । ‘काठमाडौंभन्दा यहाँ झरेर घर जान धेरै सजिलो भयो’ उनले भने । सन्तोषलाई स्वागत गर्न उनकी श्रीमती लक्ष्मी विमानस्थल पुगेकी थिइन् । ‘काठमाडौं भए हामीलाई लिन जान पनि असहज हुन्थ्यो । यहाँ नजिकै लिन आउन पाइयो ।’ उनले भनिन् ।

रुपन्देही देवदहका सिजन रानाले भैरहवा झर्न भनेर पहिलो टिकट लिएको सुनाए । ‘१५ वर्ष जति भयो म दुबईमा बस्न थालेको । जहिले पनि काठमाडौं हुँदै आउन परेको थियो,’ उनले भने,‘यो पटक भैरहवा नै झर्ने गरी जजिरामा आउन भनेर उत्सहित भएर हामीले पहिलो टिकट लिएका हौं ।’ २०७९ साल जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले गौतमबुद्ध विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनसँगै जजिरा एयरवेजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थालेको थियो ।

पछि उडान स्थगित गरेको थियो । डेढ वर्षपछि जजिराको उडान पुन सुरु भएको हो । अब जजिरा एयरवेजले हप्तामा ३ पटक कुवेत भैरहवा– कुवेत उडान भर्ने भएको छ । शनिबार नै फ्लाई दुबईले भैरहवामा उडान थालेको छ । दिउँसो साढे २ बजे दुबईबाट आएको जहाज अवतरण भएको थियो । दुबईबाट १५९ जना यात्रु आएका विमानस्थलको सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । जसमा १० जना भैरहवा झरेका थिए ।

बाँकी १५९ जना काठमाडौं गएका थिए । अब हरेक दिन फ्लाई दुबईले दुबई– भैरहवा– काठमाडौं दुबई उडान गर्ने छ । नेपाल एयरलाइन्सको जहाजले हप्तामा ४ दिन काठमाडौं– भैरहवा र दुबई– काठमाडौं उडान गर्ने जनाएको छ । यसअघि थाइ एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवा उडान सुरु गरिसकेको छ । एयर एसियाले सोमबार र शुक्रबार गरी हप्तामा २ दिन बैंकक– भैरहवा उडान गरिरहेको छ ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आगामी दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेको संख्या क्रमश: बढ्ने उनले बताए । ‘राम्रोसँग नचलिरहेको एयरर्पोट यो अवस्थामा आउँदा सबै साथीहरु निकै खुसी छौं’ उनले भने, ‘आगामी दिनमा गति लिँदै जान्छ । थप यात्रु आकर्षित हुँदै जान्छन्। यात्रुको संख्या अझै बढ्छ भन्ने हामीलाई विश्वास छ ।’

महाप्रबन्धक तिवारीले ४ वटा विमानले उडान सुरु गरिसकेको र अब कतार एयरलाइन्स उडान अनुमति लिने प्रक्रियामा रहेको सुनाए । यस्तै एयर अरेबियाले पनि चासो देखाएको तिवारीले बताए । पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सन्जीव जोशीले भैरहवामा ४ वटा अन्तर्राष्टिय उडान हुँदा यहाँको पर्यटन क्षेत्रमा आशा जागेको बताए । यहाँ पर्याप्त यात्रु छन् । ४ वटा प्रदेशलाई यो विमानस्थल पायक पर्छ । यो भनेको ७० प्रतिशत जति हो ।

प्रतिक्रिया दिनुहोस्