Logo

पोखरामा अन्तर्राष्ट्रिय उडानको प्रतिबद्धता

पोखरा– पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानको पहल गर्ने प्रतिबद्धता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले गरेका छन् । होटल संघ पोखरा नेपालसहित पोखराका पर्यटन व्यवसायीबीच शनिबार आयोजित छलफल कार्यक्रममा मन्त्री पाण्डेले पोखरेलीको माग बमोजिम अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुँको कारण जहाज उडान सम्बन्धी प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयको प्राविधिक टोलीसँग बुझ्ने उनको भनाइ थियो । होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको मन्त्री पाण्डेले बताए । पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको उनको भनाइ थियो । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न पोखराका पर्यटन व्यवसायीले मन्त्री पाण्डे समक्ष माग गरेका छन् ।

पोखरामा २ वर्षअघि निर्माण भएको विमानस्थलबाट हालसम्म नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन नभएको गुनासो गर्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान हुने गरी पहल गर्न आग्रह गरे । स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ समेत सरकारले ध्यान दिन उनले आग्रह गरे ।

संघका अध्यक्ष सुवेदीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने, होटललाई उद्योग सरह मान्यता दिनुपर्ने माग गरे । त्यसैगरी कृषि र ऊर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि उपलब्ध गराउनु पर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न शहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने, रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्नेलगायतका माग उनको थियो ।

यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा पनि प्रवर्द्धनका काममा जोड दिनुपर्ने सुझाव उनले दिए । वातावरणीय अध्ययनको कारणले पर्यटन कार्यालय एवं विभागबाट नवीकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगलाई सहज रुपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नवीकरण गरिनुपर्ने, २०७२ सालअघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरुले गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकनलाई खारेज गरिनुपर्ने माग पनि समेटिएको छ ।

सो अवसरमा उपस्थित सबैलाई स्वागत गर्दै संघका अध्यक्ष सुवेदीले पर्यटन क्षेत्रले फड्को मार्ने अपेक्षासहित यस क्षेत्रमा ठूलो लगानी गरिएको भए पनि कोभिडका कारण व्यवसाय थला पर्दा सरकारले प्रभावकारिता प्रदर्शन गर्न नसकेको गुनासो गरे । पर्यटन बोर्ड आन्तरिक विवाद र झगडामा पर्दा विगतमा प्रवर्द्धनका काम हुन नसकेको स्मरण गराउँदै उनले आगामी दिनमा आन्तरिक र वाह्य प्रवर्द्धनका काममा बोर्डले उचित बजेट छुट्याउनु पर्ने माग गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित सञ्चालनको विषयमा सरकार गम्भीर हुन आग्रह गरे । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आउँदा र यस्तो अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिँदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको सन्देश गएको बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र राजमार्गको स्तरोन्नति कार्य धेरै महत्त्वपूर्ण विषय भएको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने भनाइ राखे । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र गरिबी निवारण हुन सक्ने भएकोले खेल पर्यटनमा जोड दिनुपर्ने र यस क्षेत्रमा एउटा पर्यटन एवं शान्ति संगीत महोत्सव गरिनुपर्ने सुझाव दिए । सो अवसरमा पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेललगायतले पर्यटन क्षेत्रको बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्