बीमामा विश्वासको वातावरण बनाऊ
केही वर्षदेखि अर्थतन्त्रमा आएको सुस्तताको असर बीमा क्षेत्रमा पनि देखिएको छ । अहिले बीमा पोलिसी त्याग्ने क्रम निकै बढ्दै गएको छ । बीमा पोलिसी त्यागेका कारण बीमा कोषबाट रकम बाहिरिने क्रम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र बीमा पोलिसी सरेन्डरमार्फत झन्डै ४ अर्ब रुपैयाँ बाहिरिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरण हो ।
प्राधिकरणले तयार पारेको तथ्यांकअनुसार चालु आवको असोजसम्ममा जीवन बीमा कम्पनीहरूको २८ हजार ७५ वटा बीमालेख सरेन्डर भएको छ । यो संख्यामा बीमालेख सरेन्डर हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बीमा कोषबाट लगिएको छ । जीवन बीमा कम्पनीहरूमध्ये एलआइसी नेपालको सरेन्डर सबैभन्दा बढी छ । यो कम्पनीको ७ हजार ७ सय ३१ जना बीमाकर्ताले पोलिसी त्याग गरेका छन् । उनीहरूले १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ लगेका छन् ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका ६ हजार ५ सय ४६ जना, राष्ट्रिय जीवन बीमा कम्पनीका २ हजार ७ सय ४२ जना, एसियन लाइफका २ हजार २ सय ७२ जना र नेसनल लाइफका १ हजार ५ सय ५४ जना बीमाकर्ताले पोलिसी सरेन्डर गरेका छन् ।यसैगरी अर्को बीमा कम्पनी सूर्यज्योति लाइफका १ हजार ५ सय ७४ जना, हिमालयन लाइफका २ हजार १४ जना, मेटलाइफका ९ सय ९५ जना, सानिमा रिलायन्स लाइफका ५ सय ३७ जना र आइएमई लाइफका ४७० जनाले बीमा पोलिसी त्याग गरेका छन् ।
यस्तै प्रभु महालक्ष्मी लाइफका ३ सय ५४ जना, सिटिजन लाइफका ५ सय ८८ जना, रिलायबल नेपाल लाइफका ४ सय ८७ जना र सन् नेपाल लाइफका १ सय ९३ जनाले बीमा पोलिसी छोडेका छन् । यी सबै जनाले बीमा पोलिसी त्याग गरेर बीमा कोषबाट झन्डै ४ अर्ब रुपैयाँ लगेका छन् । बीमा पोलिसी त्याग्ने मात्र होइनन्, नयाँ लिनेहरू पनि योभन्दा धेरै संख्यामा छन् । तर, केही वर्षदेखि बीमा पोलिसी त्याग्नेको संख्या बढ्दै गएको छ, जुन चिन्ताजनक हो । बीमा विभिन्न उद्देश्यले गरिन्छ ।
त्यो उद्देश्य पूरा नहुँदै बीचमा पोलिसी त्याग गर्नु भनेको पक्कै त्यसै होइन । केही समस्या आएर नै हो । केही वर्षदेखि अर्थतन्त्र सुस्त बनेको छ । यसले सर्वसाधारणको रोजगारी खोसेको छ । रोजगारीमा रहेकाले पनि समयमा तलब भत्ता पाउन सकेका छैनन् । कतिपय तलब घटेर पनि काम गर्न बाध्य छन् । उद्योग–व्यवसायमा लागेकाको पनि अवस्था राम्रो छैन । जताततै डामाडोलको अवस्था छ । व्यापार नबढेका कारण व्यापारी समस्यामा छन् । व्यापार नभएपछि उद्योगको उत्पादन घटेको छ ।
ससाना व्यापार चिया पसल, खुद्रा पसल, तरकारी फलफूल पसल कसैको पनि व्यापार बढेको छैन । अन्य ठूलठूला बन्द व्यापारको अवस्था झनै कमजोर छ । सर्वसाधारणलाई दैनिक खर्चको जोहो गर्नै समस्या छ । बीमाको प्रिमियम तिर्न पैसा छैन । यस्तै ठूला उद्योगी–व्यवसायीहरू पनि बैंक ऋणको साँवाब्याज तिर्ने, राजस्व बुझाउने लगायतका विभिन्न समस्यामा झेलिएका छन् । बीमा पोलिसी त्याग्नुमा सबैभन्दा ठूलो कारण यही सुस्त अर्थतन्त्रले सबैलाई पारेको प्रभाव हो ।
सुस्त अर्थतन्त्रको प्रभावबाहेक बीमा पोलिसी त्याग गरिनुमा अन्य कारण पनि छन् । अहिले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ । कतिपयले बाध्यतामा पोलिसी खरिद गरिरहेका छन् । कतिपयलाई बीमा अभिकर्ताले प्रलोभनमा पारेर पनि बीमा पोलिसी खरिद गर्न लगाएका छन् । अर्को, बीमा पोलिसी त्याग गरिनुमा विश्वासको कमी पनि हो । बीमा कम्पनीहरू र सरकारले बीमाप्रति विश्वास कायम राख्न सकेका छैनन् ।
सर्वसाधारणले दुर्घटना, क्षति, दैवी प्रकोपजस्ता घटनालाई हेरेर बीमा गरे पनि त्यस्ता समस्या आउँदा बीमाको पैसा नपाउने अवस्था बन्दै आएको छ । कोभिड महामारीका समयमा तत्कालीन बीमा समितिले कोरोना बीमा पोलिसी जारी गर्दा कोरोना बीमा गराउनेको भीड बढ्यो । तर, जब बिमित कोभिड संक्रमित भए, अधिकांशले बीमाबापतको दाबी भुक्तानी पाएनन् । यो एउटा उदाहरण मात्र हो ।
बीमा क्षेत्रमा कम्पनीहरूले बीमा पोलिसी बेच्दा दिएको आश्वासनअनुसार कहिल्यै पनि दाबी भुक्तानी गर्दैनन् । यो सबैभन्दा पेचिलो विषय बन्दै आएको छ । बीमा क्षेत्रलाई अगाडि लैजाने हो भने सबैभन्दा पहिले यसप्रति सर्वसाधारणले विश्वास गर्ने वातावरण बनाउन सक्नुपर्छ । अर्थतन्त्र सुस्त भएर आएको समस्या अर्थतन्त्रमा सुधार हुँदै गएपछि सुल्झनेछ । तर, विश्वासको वातावरण त्यसै बन्नेछैन । यसका लागि सरकार र बीमा कम्पनीहरूले थप मेहनत गर्नैपर्छ ।