Logo

धनगढीको इन्धन डिपो मापदण्ड बाहिर

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो मापदण्डभन्दा बाहिर गएको छ । निगमले २०३७ सालमा डिपो स्थापना गर्दा आसपास कुनै बस्ती थिएन । हाल डिपो वरिपरि घना बस्ती र बजार बढेपछि मापदण्ड नपुगेको हो ।

इन्धन डिपो सञ्चालनका लागि बस्तीभन्दा करिब १५० मिटर टाढा हुनुपर्छ । तर, धनगढीको डिपोसँग घना बस्ती र बजार बढ्दा उक्त क्षेत्र उच्च जोखिममा परेको छ । बस्तीको बीचमा इन्धनको डिपो हुँदा आगलागी हुने डरले स्थानीय त्रसित भएका छन् । डिपोका कारण राति राम्रोसँग निद्रासमेत लाग्न छोडेको धनगढी–३ चटकपुर निवासी माधवी ऐरले बताइन् । आयल निगमलाई बस्तीबाट पटक–पटक डिपो स्थानान्तरणका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको उनको गुनासो छ ।

निगमका उपनिर्देशक प्रदीप यादवले डिपो स्थानान्तरणको प्रयास भइरहेको बताए । ‘डिपो स्थानान्तरणका लागि निगमले पटकपटक जग्गा खोज्न समिति समेत गठन गरी काम गरेको थियो । डिपो घना बस्तीका बीचमा परेको छ । अब सार्नुको विकल्प छैन । बस्तीभन्दा करिब १५० मिटर टाढा हुनुपर्छ । त्यहाँ मुख्य सडक नजिक रहेकाले असुरक्षित भएको छ,’ उनले भने ।

निगमको डिपो मुख्य सडक छेउमा रहेको एक बिघा आठ कट्ठामा फैलिएको छ । डिपोको पर्खाल वरिपरि स्कुल, अस्पतालसँगै मानव बस्तीले घेरिएको छ । उपनिर्देशक यादवले थपे, ‘जग्गाको लागि गठित समितिले कैलालीकै टीकापुर र अत्तरिया तथा कञ्चनपुरको पुनर्बास क्षेत्रमा जग्गाको खोजी गरेको छ तर टुंगो नलाग्दा सार्ने प्रक्रिया अगाडि बढ्न नसकेको छैन । यही शुक्रबार पुनर्बास क्षेत्रमा रहेको जग्गाको लागि प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ । अब एक–दुई दिनमै प्रक्रिया अघि बढ्छ ।’

निगम प्रादेशिक कार्यालय धनगढीका प्राविधिक इन्जिनियर जगदीशप्रसाद जोशीका अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्बास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बेच्ने प्रस्ताव गरेको थियो । करिब एक वर्षदेखि उक्त प्रस्ताव अन्योलमा छ । डिपो साँघुरो हुँदा तेल बोक्ने ट्यांकर नजिकै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा भाडामा राख्ने गरेको जोशीले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती बढेको बताउँछन् । डिपो नजिक स्कुल, अस्पताल, बस्ती बाक्लो हुँदा दुर्घटना भयो भने ठूलो क्षति हुन सक्ने उनले बताए । हमालले भने, ‘निगमलाई डिपो स्थानान्तरण गर्न पत्राचार गरे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । डिपो अन्यत्र सार्ने बारेमा डिपो प्रमुखसँग छलफल भएको छ ।’

सरकारले प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । हाल धनगढीमा रहेको डिपोको क्षेत्रफल साँघुरो र बस्ती नजिक रहेकाले भण्डारण क्षमता थोरै छ । इन्जिनियर जोशीका अनुसार डिपोमा हाल डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुईवटा ठाडा ट्यांकी र ७० किलोलिटरको भूमिगत ट्यांक तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक ठाडो ट्यांकी र ७० किलोलिटरको भूमिगत ट्यांकीसहितका संरचना छन् ।

धनगढी डिपोबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलोलिटर डिजेल तथा न्यून मात्रामा मटीतेल बिक्री हुन्छ । भण्डारण क्षमता बढाउन सकिएन भने आपूर्तिमा अवरोध हुँदासाथ बजारमा तेलको आपूर्तिमा समस्या हुन्छ । डिपोमा हाल सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्रै माग धान्ने भण्डारण क्षमता रहेको छ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्