निजी लगानीबाट लिटिल ग्रीन पार्क सञ्चालन
महेन्द्रनगर– कञ्चनपुरको बेलडाँडीमा निजी लगानीबाटै लिटिल ग्रीन पार्क सञ्चालन गरिएको छ । बेलडाँडीका व्यवसायी प्रेम गिरी र ललित गिरीले निजी लगानीमा पार्क सञ्चालन गरेका हुन् । गिरी परिवारले बेलडाँडी गाउँपालिका–२ रौलेश्वर माविको उत्तर तिर हुलाकी राजमार्गको छेउमै ग्रीन पार्क सञ्चालनमा ल्याएका हुन् ।
गिरी परिवारको आफ्नै करिब १५ कट्टा जमिनमा बहु उपयोगी पार्क निर्माण गरिएको हो । पार्कको चारैतिर विभिन्न प्रजातिका फूलहरू र बोटबिरुवा लगाइएको छ । ५–७ वर्षदेखि पार्क निर्माणका लागि बोटबिरुवा लगाउन थालेको र अहिले आएर पार्कको रूप लिएको सञ्चालक गिरीले बताए । पार्कमा केही भौतिक संरचनासमेत बनाइएको छ भने अझै केही भौतिक संरचना बनाउने योजना रहेको गिरीले बताए ।
गाउँघरमै उद्यम गर्ने चाहना बमोजिम सञ्चालनमा ल्याइएको पार्कमा हालसम्म एक करोड रुपैयाँ लगानी भएको गिरीले बताए । त्यसैगरी बाल उद्यानसहित मनोरञ्जनका लागि साना, मझौला तथा ठूला हल निर्माण गरेर विभिन्न पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक कार्यक्रम तथा सभा समारोह गर्नका लागि सभा हल, स्वीमिङ पुल र पार्किङ क्षेत्र निर्माणाधीन अवस्थामा रहेका छन् ।
गिरीका अनुसार पार्कभित्र खाजा नास्ताका लागि कटेज निर्माण गरिएको छ । निकट भविष्यमा हजारौं मानिस अट्ने क्षमताको हल निर्माण गरेर विवाह, व्रतबन्धसहितका कार्यक्रम गर्ने व्यवस्थापन भइरहेको छ । गाउँको पर्यापर्यटन प्रवर्द्धनदेखि मनोरञ्जनसहितको सामाजिक र व्यावसायिक सेवा दिने उद्देश्यले पार्क निर्माण गरिएको गिरी परिवारको भनाइ छ ।
पार्क उद्घाटनकै दिन अवलोकनका लागि आएका स्थानीयले निजी लगानीमा सञ्चालन गरिएको पार्कले उक्त क्षेत्रको पर्यटकीय, वातावरणीय तथा व्यावसायिक विकासमा टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।