Logo

युनिलिभर नेपालको लाभांश घोषणा

काठमाडौं– युनिलिभर नेपालले एक हजार ७१४ रुपैयाँ प्रतिसेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको ३१औं वार्षिक साधारण सभाले गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धि गरी सेयरधनीलाई अहिलेसम्ममकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कार्यक्रममा युनिलिभर नेपालका अध्यक्ष देव बाजपाईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउन सेयरधनीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । अध्यक्ष बाजपेईले कम्पनीको हालको कार्यसम्पादन, कठिन अपरेटिङ वातावरणमा बढ्दो भोल्युममा सामना गर्नुपर्ने चुनौती र सही श्रेणी रणनीतिको साथ भोल्युम वृद्धि हासिल गर्ने भविष्यका आकांक्षाहरूबारे सेयरधनीलाई जानकारी गराए ।

उनले वातावरण र सरोकारवालालाई उच्च दिगोपन मापदण्ड कायम राख्न युनिलिभर नेपालको प्रतिबद्धताबारे पनि जानकारी दिए । सभामा सेयरधनी र लगानी विश्लेषकले सञ्चालकलाई सक्रिय रूपमा व्यवसायको कार्यसम्पादन र आगामी आर्थिक वर्षको दृष्टिकोणबारे विभिन्न जिज्ञासा राखेका थिए ।

सभामा विगत चार वर्षदेखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका बाजपेईलाई ऐच्छिक सेवानिवृत्तिको लागि शुभकामना प्रदान गरिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जी, बोर्ड र सेयरधनीले अध्यक्ष बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्