हरिबोधनी एकादशी जात्रा लगाउँदै गंगाजमुना गाउँपालिका
धादिङ– हरेक वर्ष हरिबोधनी एकादशीको पूर्वसन्ध्यामा लाग्ने जात्रालाई पछिल्लो समय गंगाजमुना गाउँपालिकाले पर्वको रूपमा जात्रा लगाउँदै आएको छ । मुलुक संघीय संरचनामा गएदेखि नै गाउँपालिकाले कृषि पर्यटन र पूर्वाधार: समृद्ध गंगाजमुनाको मूल आधार श्लोगान गंगाजमुना गाउँपालिकाले निर्माण गरेको छ ।
श्लोगानमा पर्यटन प्रवर्द्धन रहेकाले जिल्लाकै ठूलामध्येको एक ऐतिहासिक र धार्मिक महत्त्व बोेकेको गंगाजमुना झरना र मन्दिरमा लगाउँदै आएको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको जंगाजमुनाको मेलालाई गंगाजमुना गाउँपालिकाले गाउँपालिका गठन भएदेखि नै विशेष महत्त्वको साथ जात्रा लगाउँदै आएको छ ।
‘१३ सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यहीं सुरक्षित छौँ, हाम्रो यहीं पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्वदन्ती छ । हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो साँझ बत्ती बालेर भक्तजनले रातको समयमा भजनकृतन र गीत गाएर नाचगान गरी हरिबोधनी एकादशी नुहाएपछि जात्रा सकिने परम्परा छ ।
यस वर्षको हरिबोधनी एकादशी कात्तिक २७ गते परेकाले २६ गते दिउँसोबाट मेला लाग्ने छ । पछिल्लो समय हरिबोधनी एकादशीको अघिल्लो दिन दिउँसोमा र युवा क्लबले सांस्कृतिक कार्यक्रम र विभिन्न किसिमका खेल प्रतियोगिता आयोजना गरेर मनाउँदै आएकोमा गाउँपालिका गठनपछि गंगाजमुना गाउँपालिकाले नै जात्रा आयोजना गर्दै आएको छ । गंगाजमुना झरनामा नुहाएपछि मनले मागेको पूरा हुने जनविश्वास रहिआएको छ ।
त्यहीं रहेको कुकुर धारोमा नुहाए कुकुर तथा जनावरले टोकेको दोष काटिने जनविश्वास विद्यमान छ । जिल्लाकै प्रसिद्ध तीर्थस्थल गंगाजमुना झरना दुई हजार आठ सय मिटर उचाइबाट सिधै एक हजार आठ सय मिटरमा झर्छ । झरनाबाट पानी झर्ने तल्लोभागमा तीर्थालुहरू नुहाउने गर्छन् । हरिबोधनी एकादशीमा बत्ती बाल्न तथा नुहाउनका लागि धादिङसहित गोरखा, चितवन, नुवाकोट, रसुवा, काठमाडाैं आसपासका जिल्लाबाट झक्तालुहरू आउने गर्दछन् । कयौले त फुलको डोली चढाउँछन् ।
यस वर्षको जात्रा अघिल्लो वर्षको भन्दा अझ पृथक रहने छ । अघिल्ला वर्षमा नेता तथा मन्त्रीहरूलाई अतिथि बनाएर भाषण लगाउने हुन्थ्यो । यस वर्ष विभिन्न जातजातिका नृत्य र सातवटा झाँकी रहने छ । हिन्दु र बौद्ध धर्मालम्वीले एक साथ मनाउने जात्रामा गुम्बा र गंगाजमुनाको मन्दिर नजिकै छन् । जात्रामा ढुंगामा कुदिएको गंगा र जमुनाको मूर्ति अनावरण गरिने कार्यक्रम छ ।