Logo

पर्यटक बढाउने सूत्र

सरकारले वार्षिक बजेट ल्याउँदा राखेका लक्ष्य पूरा नहुने हाम्रो परम्पराजस्तै भएको छ । त्यही कारण आम सर्वसाधारणले सरकारको भनाइलाई तत्काल विश्वास गर्दैनन् । राजनीतिक दलका नेता र सरकारी कर्मचारीले भाषण गर्ने हो, काम गर्ने होइन भन्ने गरिन्छ । यो वर्ष (सन् २०२४) मा पर्यटक भित्त्याउने सवालमा पनि ठीक यस्तै हुने सम्भावना बढेको छ । सरकारले यो वर्ष १६ लाख पर्यटक भित्त्याउने लक्ष्य राखेको थियो ।

यो वर्ष सकिन दुई महिना मात्र बाँकी छ । अहिलेसम्म अर्थात् १० महिनामा ९ लाख ४१ हजार मात्र पर्यटक आएका छन् । बाँकी दुई महिनामा सवा दुई लाख हाराहारीमा आए पर्यटकको संख्या साढे ११ लाख पुग्ने देखिन्छ । यो भनेको लक्ष्यको ७२ प्रतिशत हो । अघिल्लो वर्ष (सन् २०२३) मा सरकारले १० लाख पर्यटक भित्त्याउने लक्ष्य राखेकोमा यो वर्ष बढाएर १६ लाख पुर्‍याएको थियो । यो वर्षको १० महिना (अक्टोबरसम्म) बित्दा ९ लाख ४१ हजार पर्यटक आएका छन् ।

यो वर्ष जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११ र जुनमा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल आएका थिए । यस्तै जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक आएको देखिन्छ । यो वर्ष नेपाल आएका पर्यटक प्रतिमहिना औसतमा ९४ हजार हाराहारी पुगेको छ ।

सन् २०२३ को पछिल्ला दुई महिनामा २ लाख ५ हजार पर्यटक आएका थिए । यसमध्ये नोभेम्बरमा १ लाख ८ हजार ६ सय र डिसेम्बरमा ९६ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, यो वर्ष पर्यटक आगमनमा खासै सुधार आएको छैन । त्यही कारण बाँकी दुई महिनामा पनि गत वर्षकै हाराहारीभन्दा पर्यटक धेरै बढ्ने सम्भावना निकै कम छ । अर्कातिर यही कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम गर्दै छ । यही कारण अहिलेको उडान संख्यामा कम्तीमा पनि ४० प्रतिशतले कटौती हुने बताइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान कटौती हुनु भनेको हवाई भाडामा वृद्धि हुनु र पर्यटक आगमन घट्नु हो । नेपालका लागि नोभेम्बर मुख्य पर्यटकीय मौसमको महिना हो । तर, यही बेला उडान कटौती भएपछि यसको सोझो प्रभाव पर्यटक आगमनमा पर्नेछ ।

हवाई उडानमा कटौती र अन्य घरेलु कारण देखाएर पर्यटन क्षेत्रका जानकारहरूले यो वर्ष ११ लाखभन्दा बढी पर्यटक नआउने बताउँदै आएका छन् । कोभिड सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । त्यसपछि यो संख्यामा अहिलेसम्म पर्यटक आएका छैनन् । कोभिडका कारण लय बिग्रेको पर्यटन बजार बिस्तारै लयमा फर्कन खोजेको छ । अघिल्लो वर्षका तुलनामा गत वर्ष पर्यटक बढेका छन् । गत वर्ष झन्डै साढे १० लाख पर्यटक आएका थिए । यो वर्ष जेजस्ता समस्या आए पनि गत वर्षभन्दा पर्यटकको संख्या बढ्ने निश्चित छ ।

अहिलेसम्मको अवस्था हेर्दा भने धेरै संख्यामा बढ्ने सम्भावना छैन । हवाई उडानबाहेक स्थलमार्गबाट भारतीय कति पर्यटक नेपालमा आउँछन् भन्ने तथ्यांक यकिन छैन । अब यसको पनि यथार्थ तथ्यांक राख्नुपर्छ । नेपालमा वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार गरिएको छ भने यो संख्यालाई सेवा दिने जनशक्ति पनि तयार छ । यो हिसाबमा पर्यटक आगमन भने निकै कम छ । निजी क्षेत्रले अपेक्षा गरेअनुसार आगमनदर बढ्न सकेको छैन ।

सरकार आफैंले क्षमताको आधा पनि लक्ष्य राख्न सकेको छैन । राखिएको लक्ष्य पनि फेला पर्दैन । निजी क्षेत्रले पूर्वाधार निर्माणमा खर्बौं रुपैयाँ लगानी गरेको छ । यो लगानीमा ठूलो हिस्सा बैंकिङ क्षेत्रबाट गएको छ । पर्यटक आगमन यस्तै रहने हो भने निजी क्षेत्रलाई नाफा होइन, कर्जाको ब्याज तिर्न पनि समस्या आउन सक्छ । अहिलेसम्म सरकार र निजी क्षेत्र दुवैले आ–आफ्नै तरिकाले काम गरिरहेका छन् । आगामी दिनमा पर्यटक बढाउने हो भने दुवै मिलेर काम गर्नुको विकल्प छैन । दुवैले मिलेर काम गरे अवश्य पनि पर्यटक बढ्नेछन् ।

प्रतिक्रिया दिनुहोस्