ट्रम्प विजयको नेपालमा प्रभाव
नेपालको अमेरिका व्यापारमा चुनौती
काठमाडौं– अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै नेपाललाई पार्ने असरबारे बहस सुरु भएको छ ।
एकथरीले ट्रम्प र भारतबीच राम्रो सम्बन्ध भएका कारण नेपालले यसबाट लाभ लिन सक्ने आँकलन गरिरहेका छन् । अर्काथरीले ट्रम्प र चीनबीच विगतमा देखिएको कटुतापूर्ण सम्बन्ध दोहोरिए नेपाललाई भू–राजनीतिक सन्तुलन मिलाउन कठिन हुने टिप्पणी गरेका छन् ।
विश्लेषण जसरी गरिए पनि आगामी दिनमा ट्रम्प प्रशासनले लिने विश्वव्यापी नीति र त्यसमाथि दक्षिण एसिया सम्बन्धी दृष्टिका कारण नेपाल सम्भावित परिणामबाट बाहिर रहन नसक्ने स्पष्ट छ ।
राजनीतिक रुपमा ट्रम्पको विजय नेपालका लागि जति अन्यौलपूर्ण छ, आर्थिक रुपमा पनि उस्तै हुने आँकलन धेरैको छ । नेपालका लागि अमेरिका आर्थिक तथा राजनीतिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण छ । नेपालको दोस्रो निर्यात बजार भएकाले अमेरिकाले लिने नीतिले नेपालको निर्यात बजारमा प्रत्यक्ष प्रभाव पार्नेछ ।
व्यापार विज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार ट्रम्पले संरक्षणकारी नीति लिएकाले भोलिका दिनमा विश्व व्यापार संगठन (डब्लुटीओ) का सम्बन्धमा विगतमा उठेको गतिरोध थप बढ्ने देखिन्छ । चुनावी एजेन्डा नै खुला बजार नीति विरोधी देखिएकाले भविष्यमा ट्रम्प प्रशासनले भन्सार शुल्क बढाउने तथा आन्तरिक उद्यम व्यवसायलाई बढावा दिने खालको नीति लिने उनको अनुमान छ । बाहिरी वस्तुमा अमेरिकाले भन्सार बढाउँदा अरु देशले पनि त्यसका लागि अवयव प्रयोग गर्छन्, जसका कारण विश्व अर्थतन्त्रमै असर पर्ने देखिन्छ । यसबाट नेपालको निर्यात पनि स्वतः प्रभावित हुनेछ ।
अर्का व्यापार विश्लेषक तथा पूर्व वाणिज्य सहसचिव रविशंकर शैंजुका अनुसार अमेरिकाले लिने नीतिले सिधाभन्दा पनि घुमाउरो तरिकाले असर पर्छ । चीनसँगको ‘ट्रेड वार’ को अवस्थाले त्यताको असर नेपालमा पनि पर्न सक्ने र आउने दिनमा क्वारेन्टाइन, गुणस्तर लगायतका विषयमा नीतिगत कडाइ थप हुन सक्ने उनको अनुमान छ ।
नेपालले अमेरिकासँग पाउँदै आएको ‘ड्युटी फ्री कोटा फ्री’को सुविधालाई नवीकरण गर्नुपर्ने समय आएको छ । नवीकरणमा पनि नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । यो सुविधाको निरन्तरता अमेरिकी संसद्बाटै पारित गर्नुपर्ने भएकोले नेपालले आर्थिक कूटनीति थप मजबुत बनाउनुपर्ने उनको सुझाव छ ।
भन्सार विभागका अनुसार चालु आवको तीन महिनामै नेपालले अमेरिकासँगको व्यापारबाट ५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा अमेरिकातर्फ ४ अर्ब ७७ करोडको निर्यात गरेको नेपालले अमेरिकाबाट ४ अर्ब ७१ करोड रुपैयाँबराबरको आयात गरेको छ । यसअघि भदौसम्ममा नेपालले ३ अर्ब २२ करोडको निर्यात गर्दा अमेरिकाबाट ३ अर्ब २९ करोडको आयात गरी नेपालले ६ करोड ६४ लाख व्यापार घाटा व्यहोरेको थियो ।
नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरण साखका अनुसार ट्रम्पको जितले व्यापारमा नेपालका लागि खासै ठूलो परिवर्तन हुने देखिँदैन । अमेरिकाका लागि नेपाल प्राथमिकताको देश होइन, उनीहरुको चासो र चिन्ता अरु नै देशसँग छ । त्यसैले टिफाअन्तर्गत नेपाललाई दिने भनेका सुविधा लिनका लागि नेपालले नै पहलकदमी लिनुपर्छ । यसका लागि जो नेतृत्वमा आए पनि फरक पर्दैन । ‘हाम्रो कूटनीति कमजोर भएकै कारण टीफा बैठकबाट पाउने भनेका सुविधा पाउन सकिएको छैन,’ उनले भने, ‘आउने दिनमा नेपालले सुविधा पाउन लागि आफ्नो तर्फबाट लबिङ बढाउनुपर्छ ।’
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा भने अमेरिका नवौं स्थानमा छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमा अमेरिकाको हिस्सा ४.१४ प्रतिशतमात्र रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा हालसम्म १२ अर्ब २२ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी छ । उद्योग विभागका अनुसार कुल लगानी प्रतिवद्धतामा अमेरिकाको हिस्सा यसभन्दा पनि कम अर्थात् ३.५२ प्रतिशतमात्र छ । अमेरिकाबाट हालसम्म कुल ४७६ परियोजनाका लागि १८ अर्ब ३ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त भएकोमा गत आवमा १ अर्ब ७५ करोडमात्र प्राप्त भएको देखिन्छ ।
अमेरिका नेपालका लागि महत्वपूर्ण पर्यटकीय स्रोत मुलुक पनि हो । नेपाल पर्यटन बोर्डका अनुसार गत महिना (अक्टोबर)मा भारतीयकै हाराहारीमा अमेरिकीहरु नेपाल आएका थिए । हवाई मार्गबाट १५ हजार ३१३ भारतीय नेपाल आउँदा अमेरिकीको संख्या १६ हजार २३ रहेको छ । अमेरिकी पर्यटक खर्चालु र लामो बसाइ अवधि भएका कारण नेपालको पर्यटन क्षेत्रमा यसको सकारात्मक प्रभाव पार्ने मानिएको छ । यसअघि सन् २०२३ मा पनि १ लाख ३५७ अमेरिकीले नेपाल भ्रमण गरेका थिए ।
लगानी र पर्यटनभन्दा नेपालले अमेरिकासँगको सम्बन्धमा व्यापारलाई नै बढी प्राथमिकता दिएको देखिन्छ । आव २०८०–८१ मा नेपालले अमेरिकासँगको व्यापारमा २ अर्ब १६ करोड व्यापार घाटा व्यहोरेको छ । गत आवमा नेपालबाट १७ अर्ब ३१ करोडको निर्यात र अमेरिकाबाट १९ अर्ब ४८ करोडको आयात व्यहोरिसकेको छ । भारत, चीनलगायत अधिकांश व्यापार साझेदारसँग उच्च व्यापार घाटामा रहेको नेपालले अमेरिकासँगको व्यापारमा पाइरहेको लाभ पनि गत आवदेखि गुमाए पनि चालु आवको तेस्रो महिनामा सुधार गरेको छ ।
द्विदेशीय व्यापारमा अमेरिका भारतपछिको दोस्रो ठूलो निर्यात बजार हो । अमेरिकाले दिएको भन्साररहित बजार पहुँच सुविधाका कारण नेपालको निर्यात व्यापारमा यो मुलुक लगातार दोस्रो नम्बरमा रहेको अवस्था छ। २०६८ वैशाखमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीसम्बन्धी बृहद् सम्झौता (टिफा) भएयता द्विपक्षीय व्यापारमा सकारात्मक प्रभाव पर्दै आइरहेको छ । नेपालमा भूकम्प गएपछि अमेरिकाले ७७ वस्तुलाई भन्साररहित बजार पहुँच सुविधा दिएको छ । सोही कारण निर्यातमा अमेरिका दोस्रो नम्बरमा रहेको व्यापार विज्ञहरु बताउँछन् । यद्यपि, अमेरिकाले सुविधा दिएका वस्तुको उत्पादनमा कमजोर रहेका कारण नेपालले अवसरहरु गुमाउँदै गएको उनीहरुको भनाइ छ । खासगरी हस्तकला, पस्मिना सल, कुकुर र बिरालाका आहार, ट्रेकिङका सामग्रीलगायतको उत्पादन बढाउनुपर्ने उनीहरुको भनाइ छ ।
व्यापार ग्राह्यता सुविधाको चिन्ता
नेपाली पक्षलाई व्यापार ग्राह्यता सुविधाले निरन्तरता पाउने हो कि होइन भन्ने चिन्ता बढी देखिन्छ । ट्रम्पले ल्याउन लागेको खर्च कटौती प्रस्तावदेखि यसअघिका केही अनुदार निर्णयका आधारमा यस्तो चिन्ता गरिएको हो ।
नेपाल र अमेरिकाबीच सन् २०११ मा भएको टिफा सम्झौताअन्तर्गत व्यापार, लगानी र प्राविधिक साझेदारी बढाउने उद्देश्य राखिएको थियो । यस्तै, अमेरिकी सरकारले २०७२ सालको भूकम्पपछि दिएको एनटीपीपीको सुविधा भने सन् २०१६ को डिसेम्बर ३० बाट लागु भएको छ । उक्त सुविधाको अवधि आगामी वर्ष डिसेम्बरमा सकिन लागेकाले त्यसलाई कायम राख्न नेपालले कूटनीतिक पहल गरिरहेको छ । सरकारले हालै काठमाडौंमा भएको टिफा काउन्सिलको बैठकमा पनि यो प्रस्ताव राखेको थियो । यद्यपि, ट्रम्पको नयाँ नीतिले यसको भविष्य के होला भन्ने अन्योलमा नेपाली पक्ष रहेको देखिन्छ ।