Logo

चाडपर्व सकिए, अब कता जाला सेयर बजार ?

काठमाडौं– केही महिनासम्म आक्रामक गतिमा बढिरहेको सेयर बजार अहिले केही सुस्ताएको छ । दसैं, तिहार र छठजस्ता चाडपर्वका समयमा लामो समय बजार बन्द रहँदा सेयर कारोबारमा यसको असर परेको छ ।

तिहार सकिएपछि कात्तिक २० र २१ गते खुलेको सेयर बजारमा दुवै दिन नेप्से परिसूचक घटेको छ । बिहीबार छठ पर्व पनि सकिएको छ । पछिल्लो समय सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् भने नीतिनियम पनि लचक बनिरहेको छ । तर, सेयर बजार माथि जान सकेको छैन । यसले गर्दा लगानीकर्तामा निराशा छाइरहेको छ ।

कात्तिक २१ गतेको कारोबारसम्ममा नेप्से परिसूचक २६७५.५१ बिन्दुमा छ भने ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ हाराहारीको सेयर कारोबार भएको छ । कात्तिक २१ मा नेप्से परिसूचक १.८८ अंकले घटेको छ । यसअघिका दुई कारोबार दिनमा पनि सेयर बजार घटेको थियो । सेयर बजारका जानकारहरूले अहिले बजार साइडवेजमा रहेको बताउँदै आएका छन् ।

पछिल्लो समय बैंकको ब्याजदर घटेर निकै तल्लो बिन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् भने वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरू पनि औसतमा नाफामा रहेका छन् । यसैलाई आधार बनाएर अब बजार बढ्ने अपेक्षा गरिए पनि बढ्न सकेको छैन । जानकारहरुले सेयर बजार बढ्ने क्रम बाँकी नै रहेको बताउँदै आए पनि त्यस्तो हुन सकेको छैन । पूर्वानुमान विपरीत बजार घट्दा लगानीकर्ता निराश तथा चिन्तित बन्न थालेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले विगतमा पनि कम्पनीहरूको साधारणसभा हुने समयमा सेयर बजार उकालो लाग्ने गरेको भएकाले अहिले पनि केही समयपछि बजार बढ्दै जाने बताए । अहिले कम्पनीहरूले धमाधम लाभंश घोषणा गरिरहेका छन् भने कतिपयले साधारणसभा हुने मितिसमेत तोकिसकेका छन् । ‘चाडपर्वको समय सकिएको र कम्पनीहरूको साधारणसभा पनि नजिकिँदै गरेकाले अब सेयर बजार माथि उठ्ने देखिन्छ,’ उनले भने । पछिल्लो समय बैंकमा प्रशस्त मात्रामा लगानी योग्य रकम रहेको र कर्जाको ब्याजदर पनि न्यून रहेकाले लगानीका लागि सहज वातावरण रहेको ढकाल बताउँछन् । यसकारण पनि अब बजार बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । यस्तै, पछिल्लो समय राष्ट्र बैंकले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिहरूमा लचकता अपनाउँदै गएका कारण पनि बजार बढ्ने अवस्था रहेको उनले बताए ।

अहिले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाउनुपर्ने र सेयर बजारका व्यक्तिगत लगानीकर्ताका लागि कायम १५ करोड रुपैयाँसम्मको सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने अवस्था रहेको उनले बताए । ती नीतिहरु सहज बनाइए सेयर बजारले राम्रो उचाइ लिने ढकालको भनाइ छ । सेयर बजारका अन्य जानकार तथा लगानीकर्ताले पनि अब सेयर बजार क्रमशः लयमा फर्कने बताउँदै आएका छन् । यद्यपि, सेयर बजार धेरै नै उकासिने अवस्था भने नदेखिएको कतिपयको विश्लेषण छ ।

सेयर बजारका जानकार देव गुरागाईंले अब सेयर बजार सामान्य गतिमा अगाडि बढ्ने बताए । विगतमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएको र नयाँ सरकार बनेर स्थिर सरकार भएको सन्दर्भमा सेयर बजार उच्च अंकले बढे पनि अहिले त्यो अवस्था नदेखिएको उनको भनाइ छ । ‘अहिले बजार साइडवेजमा रहेको छ । दोस्रो त्रैमास अवधिभर बजारको गति सामान्य नै रहन्छ जस्तो लाग्छ,’ उनले भने । अहिले सेयर बजार बढाउनको लागि कारक तत्व त्यति नरहेको उनको बुझाइ छ । चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले लगानीकर्ताको मनोबल खासै नबढ्ने अवस्था सिर्जना भएको उनले बताए । लगानीकर्ताको मनोबल सिर्जना गर्नका लागि सरकारले पनि काम गर्न नसकेका कारण अहिले सेयर बजारमा उत्साह नआएको उनको भनाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत धेरै लचिला नियम ल्याइसकेका कारण पनि अब बजारका हितमा थप नीति आउने अवस्था नरहेको उनी बताउँछन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको समीक्षामा लचकता अपनाउने खासै ठाउँ नरहेकाले सेयर बजारमा थप उत्साह आउने सम्भावना कम रहेको उनी बताउँछन् । यसले अबको केही समय सेयर बजार सामान्य अवस्थामा चल्ने र थोरैमात्रै घटबढ हुने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्