Logo

भैरहवामा आजदेखि चार कम्पनीको अन्तर्राष्ट्रिय उडान

फाइल तस्बिर ।

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि चार वटा विमान कम्पनीले उडान सुरु गर्दैछन् । थाई एयर एशियाले परीक्षण उडान सुरु गरिसकेको छ ।

आज शुक्रशार पनि परीक्षण उडानपछि सोमबार र बिहीबार साताको दुई उडान एयर एशियाले गर्ने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी विनोदसिंह राउतले बताए । एयर एशियाको ए३२० विमान शुक्रबार बिहान ७ बजे अवतरण गरी ८ बजे बैंकक प्रस्थान गर्नेछ । यो तालिका अनुसारकै उडान हो । त्यसपछि कम्पनीले प्रत्येक साता सोमबार र बिहीबार उडान गर्नेछ ।

त्यसैगरी शुक्रबारदेखि नै नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान सुरु गर्दैछ । काठमाडौंबाट राति ९ः३० बजे उड्ने र यहाँ राति १०ः२० मा अवतरण गरी यात्रु लिएर बैंकक जानेछ । नेपाल एयरलाइन्सले साताको चार दिन शुक्रबार, आइतबार, सोमबार र बुधबार काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले जानकारी दिए ।

त्यसैगरी शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई दैनिक उडान गर्दैछ । हरेक दिन दिउँसो १ः४५ बजे दुबईबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी यहाँ यात्रु ओरालेर दुबई जाने यात्रु राखी काठमाडौं गएर उतैबाट दुबई प्रस्थान गर्ने तालिका फ्लाई दुबईले बनाएको छ ।

त्यस्तै शुक्रबार नै कुवेतको जजिरा एअरवेजले साप्ताहिक ३ उडान कुवेत–भैरहवा–कुवेत उडान सुरु गर्दैछ । कुवेतबाट उडेको जहाज यहाँ बिहान ७ः३० मा अवतरण गरी ८ः३०मा कुवेत जाने तालिका रहेको छ । जजिरा एअरवेजले शुक्रबार, मंगलबार र बिहीबार उडान गर्नेछ ।

दुई वर्षअघि २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनका दिनबाटै जजिराले साप्ताहिक दुई उडान सुरु गरेकोमा पछि साताको तीन उडान सुरु गरेको थियो । केही समय हिमालय एअरलाइन्सले पनि मलेशियाबाट चार्टर्ड उडान सुरु गरेको थियो । पछि दुवैले प्राबिधिक कारणले उडान बन्द गरेका थिए ।

गत वर्षदेखि नेपाल एयरलाइन्सले मलेशियाबाट भैरहवा हुँदै काठमाडौं साताको एक उडान गरे पनि अहिले त्यो उडान बन्द छ । शुक्रबारबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएपछि अन्तर्राष्ट्रिय उडानका लागी विमानसेवा कम्पनीहरु भैरहवातर्फ मोडिएका हुन् ।

एकैपटक हप्तामा चार वटा विमान कम्पनीले उडान गर्ने भएपछि निजी क्षेत्रमा आशाको सञ्चार भएको छ । विमानस्थललाई मध्यनजर गर्दै भैरहवा र वरपरका क्षेत्रमा होटल तथा पर्यटन क्षेत्रमा अर्बौंको लगानी भएको र विमानस्थलले गति लिन नसक्दा व्यवसाय धरासायी हुने अवस्थामा रहँदा उडान सुचारु हुनुले आशाको सञ्चार भएको सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । ‘यो दिगो होस्, बीचमै नरोकियोस्,’ श्रेष्ठले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु सकारात्मक रहेको भन्दै निरन्तर उडान हुनुपर्ने बताए । ल्यान्डमार्क होटल भैरहवाका निर्देशक आशा गुरुङले उडान सुरुवात हँुदा हर्षित भएको र यो व्यवसायमा आशा पलाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्