त्रिभुवन विमानस्थल आजदेखि १० घण्टा बन्द
आन्तरिक ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी वे, एप्रोनलगायत विस्तारका कारण शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । यही कारण विमानस्थलमा हुने आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रिय उडान २९ प्रतिशत कटौती भएका छन् । ट्याक्सी वे, एप्रोनलगायत विस्तारका लागि विमानस्थल बेलुका १० बजेबाट बिहान ८ बजेसम्म ( दैनिक १० घण्टा) बन्द हुनेछ ।
हाल दैनिक २१ घण्टा उडान हुँदै आएको त्रिभुवन विमानस्थलमा स्तरोन्नतिको काम शुक्रबारबाट सुरु भएसँगै १४ घण्टामात्र उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो आगामी पाँच महिनासम्म हुनेछ । प्राधिकरणले विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने गरी विन्टर सेड्युल स्वीकृत गरिसकेको छ । विमानस्थलमा उडान तथा अवतरण गर्ने समय घटेका कारण वायुसेवा कम्पनीको उडान कटौती गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे लगायतको स्तरोन्नतिका कारण विमानस्थल बन्द हुने सूचना प्राधिकरणले नेपालमा उडान भर्ने २९ वायुयान कम्पनीलाई पाँच महिना अगाडि नै दिएको थियो । प्राधिकरणले उडान कटौतीमा पर्ने वायुयानलाई भैरहवा र पोखरा विमानस्थलबाट उडान भर्न आग्रह गरेको थियो ।
‘ट्याक्सी वे मर्मतका क्रममा काठमाडौं विमानस्थल रातिको १० बजेबाट बिहानको ८ बजेसम्म बन्द हुनेछ,’ प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘विमानस्थल बन्द हुने भएपछि विदेशी वायुसेवाले भैरहवाप्रति चासो दिएका हुन् ।’ भैरहवा विमानस्थलमा पनि उडान तथा अवतरण होस् र विस्तारै काठमाडौंको हवाई चाप कम गर्न सकियोस् भन्ने सोचका साथ प्राधिकरणले कम्पनीहरुलाई अनुरोध गर्दै आएको थियो । भैरहवा विमानस्थलमा पनि व्यावसायिक उडान भएर वायुसेवा कम्पनीलाई पनि मर्का नपरोस् भनेर अनुरोध गरिएको सूचना अधिकारी भूलले बताए ।
उनले भने, ‘यसबारेमा नेपालमा उडान भर्ने वायुसेवा कम्पनी छलफलकै क्रममा छन् । एटफ्रिडम अर्थात् आठौं ट्राफिक स्वतन्त्रता सहित उडान गर्ने हो ।’ एक देशको वायुसेवा कम्पनीको विमान अर्को देशको विमानस्थलमा अवतरण गरेर सोही देशको अर्को विमानस्थलमा कार्गो तथा यात्रुसहित उडान–अवतरण भर्नुलाई उड्डयन क्षेत्रमा एटफ्रिडम भनिन्छ ।
प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङङेखि यात्रु सेवा शुल्क छुट दिएको भए पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान कटौती गरे तर भैरहवा र पोखरामा उडान गर्न भने रुची देखाएनन् । विगतमा दैनिक तीन–चार उडान गर्ने वायुसेवा कम्पनीहरूको ५० प्रतिशत उडान कटौती गरी विन्टर सेड्युल स्वीकृत गरिएको छ । कुवेतबाट उडान भर्ने जजीरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (यूएई) बाट उडान भर्ने फ्लाई दुबईले गौतमबुद्ध विमानस्थलबाट ९ नोभेम्बरदेखि नियमित उडान गर्ने भएका छन् । थाई एयर एसियाले पनि भैरहवामा नियमित उडान गरिरहेको छ । नेपाल वायुसेवा निगमले समेत ८ नोभेम्बरबाट नै उडान सुरु गर्दैछ ।
आन्तरिक उडानमा भने प्राधिकरणले ३५ प्रतिशत कटौती गरेर नयाँ उडान तालिका सार्वजनिक गरेको छ । बुद्ध एयरलाई ७०, यतीलाई २० र श्रीलाई १५ दैनिक एकतर्फी उडान अनुमति दिइएको छ । यसअघि पनि बुद्धले अधिकतम दैनिक ८० उडान, यतीले ४१ र श्रीले २२ उडान एकतर्फी उडान गर्दै आएका थिए ।
बाह्य उडान भरिरहेका वायुयानको सातामा दुई सय ९५ उडान कटौती भएका छन् । सातामा चार सय १० अन्तर्राष्ट्रिय उडान भइरहेकामा २३ कात्तिकदेखि दुई सय ८७ उडानमात्रै हुने प्राधिकरणले जनाएको छ । यसरी बाह्य उडानमा २९ प्रतिशत कटौती भएको छ ।