मौरी पालेर वार्षिक ३५ लाख आम्दानी
पर्वत– कुनैबेला जिल्लामै सबैभन्दा बढि सुन्तला उत्पादन गर्ने कृषकको रुपमा कहलिएका यहाँका एक कृषक अहिले व्यावसायिक मौरीपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुर स्थित कोरुङ्गाका टिकाराम तिमिल्सिना सुन्तला खेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन् । तीन सय भन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैंचा बनाएका तिमिल्सिनाका सुन्तलाका मर्दै गए ।
सुन्तलामा भविष्य नदेखे पछि मौरी पालनतर्फ आकर्षित भएको उनले बताए । सुरुवातमा उनले घरमा केही मौरी पाल्न थाले । जब मौरीको घार र महको माग बढ्न थाल्यो, उनले व्यवसाय विस्तार गर्दै लगे । पहाडी भेगमा अनुकूल हुने एपि सेरेना जातको मौरी पालेका तिमिल्सिना यो व्यावसायबाट गतिलो कमाई गर्न सफल भएको बताए । ‘यहाँ उत्पादन गरेको मह घरबाटै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिड्नु पर्ने अवस्था छैन’ उनले भने, ‘माग अनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।’
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्रै उनले एक सय भन्दा बढी मौरीका घार बिक्री गरेका थिए । घर वरिपरि मौरीका घारैघार रहेका छन् । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गने उनको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् ।
विगत २४ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाखसम्म आम्दानी गर्दै आएको बताए । उनको घरमा अहिले एक सय भन्दा बढी मौरीका घार छन् भने सिजनमा यसको संख्या अझै थपिने गर्दछ । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जस्तै आम्दानी हुने गरेको बताए । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् ।
२०५७ सालबाट व्यावसायिक मौरीपालन गर्न थालेका तमिल्सिना जिल्लाकै नमुना मौरीपालक कृषक हुन् । उनले उत्पादन गरेको मह काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ । विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले मह मात्र बिक्री गर्दैनन्, मौरीको घार र गोलासमेत बिक्री गर्छन् । ‘मौरीसहितको घार बिक्रीबाट वर्षेनी २० लाख भन्दा आम्दानी हुन्छ’ उनले भने ।
उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा दस हजार र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । उनले एक सिजनामा सात क्वीन्टल भन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए । मौरीपालनमा अन्य पेसा व्यवसाय जस्तो एकै पटकमा लाखौं लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् ।
तरकारी खेती, पशुपन्छी तथा कुखुरा पालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भंगरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुंखुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।