स्याङ्जाको उत्कृष्ट कृषि सहकारीमा ग्रामीण स्वावलम्बन
स्याङ्जा– स्याङ्जाको उत्कृष्ट कृषि सहकारीमा ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी परेको छ । अर्जुनचौपारी गाउँपालिका कार्यक्षेत्र रहेको यो सहकारी जिल्लामै उत्कृष्ट भएको हो । जिल्लाका सयाैं सहकारीमध्ये स्वावलम्बन सहकारी कृषि क्षेत्रमा कामबाटै उत्कृष्ट बनेको बताइएको छ । सहकारीले लद्युवित्त प्रवर्द्धनमार्फत सहुलियत ब्याजदरमा झण्डै २५ करोड ऋण प्रवाह गरेको छ ।
गाउँपालिकाका ३ हजार ४ सय घरधुरीमध्ये करिब दुई हजार पाँच सय सेयर सदस्यबीच यसले कारोबार गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रत्येक घरधुरीलाई सहकारीमा आवद्धता बनाउने अभियान यसले चलाएको छ । सेयर सदस्यले पालन गर्दै पशुहरुको बीमा गर्ने कार्यक्रमलाई सहकारीले प्राथमिकता दिँदै आएको छ । २०७४/७५ देखि सञ्चालन गरिएको पशु बीमा कार्यक्रममार्फत पशु क्षतिपूर्ति स्वरुप सेयर सदस्यलाई २२ लाख भुक्तानी गरिएको सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले बताए ।
उनका अनुसार बीमा कोष मात्रै १ करोड ३१ लाख ४९ हजार रुपैयाँ रहेको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुको सुरक्षाका लागि म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरेको छ । उमेर हद अनुसार ३ लाखदेखि १५ लाख रुपैयाँसम्मको म्यादी जीवन बीमा गरिने अध्यक्ष रेग्मीले बताए । म्यादी बीमामा सबै सदस्यलाई समावेश गर्ने तयारी समेत गरेको उनले बताए । आफ्ना सेयर सदस्यलाई कृषिमा आत्मनिर्भर बनाउन सहकारीले ‘आलिदेखि थालिसम्म’ भन्ने अभियान चलाएको छ ।
यो अभियानअन्तर्गत मौसमी तथा बेमौसमी खेतीका लागि नि:शुल्क बिउविजन र टनेल वितरण गर्दै आएको सहकारीले जनाएको छ । सामुदायिक सामाजिकअन्तर्गत ‘मत्रोदेखि कात्रोसम्म’ कार्यक्रममा सेयर सदस्यमध्ये सुत्केरी हुने महिलालाई २ हजार स्याहार खर्च दिने गरेको छ । सहकारीले सेयर सदस्यको मृत्यु भएमा क्रिया खर्चबापत १५ हजार र कोरोनाका कारणले मृत्यु भएमा २५ हजार दिने व्यवस्था गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।
सहकारीले कृषि र पशुपालनमा आबद्ध सेयर सदस्यलाई ५० प्रतिशत, मासुजन्य लगानीमा २ वटा भैंसी फर्म, ४ वटा बाख्रा फर्म र २ वटा बंगुर फर्म सञ्चालन गर्दै आएको छ । २० वटाभन्दा बढी बाख्रा पालन गर्ने सदस्यलाई खोर व्यवस्थापन भनेर ५ हजार अनुदानको व्यवस्था गरेको छ । कृषिमा व्यवसायीकरण गर्न आउँदो वर्षदेखि सहकारीले कृषि प्रदर्शनी, कफि, सुन्तला र मौरीपालनमा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भकारो सुधार, पशु नश्ल सुधारका लागि पशु प्राविधिकको व्यवस्था समेत गर्ने भएको छ । सहकारीले ५० प्रतिशतमा पशुको औषधि वितरण, उन्नत जानको बोका र रागाँको वितरणका लागि पहल गर्ने भएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित साना किसान कृषि सहकारीमध्ये स्याङ्जाको ग्रामीण स्वावलम्बन सहकारीले उत्कृष्ट काम गरेको साना किसान कृषि सहकारी महासंघका अध्यक्ष खेम पाठकले बताए । सहकारीले पशुपालन र कृषिमा उदाहरणीय काम गरेको पाठकको भनाइ छ ।
कृषि सहकारीमार्फत उत्कृष्ट काम गर्ने सहकारीहरुलाई सहुलियत दरमा ऋण दिएर भए पनि सेयर सदस्यको आर्थिक विकासमा टेवा पुर्याउने तयारीमा महासंघ लागेको अध्यक्ष पाठकले जानकारी दिए । सहुलियत दरमा ऋण उपलब्ध गराउन जापानिज सहयोग नियोग (जाइका) सहितका दातृ निकायसँग छलफल चलिरहेको उनले बताए ।