Logo

गवारो किराले जेठोबुढो धान नष्ट, करोडौंको क्षति

फाइल तस्बिर ।

पोखरा– गवारो किराले जेठोबुढो धान नष्ट हुँदा किसानहरूको करोडौं रुपैयाँ क्षति भएको छ । पोखराको धान उत्पादन हुने पकेट क्षेत्र मानिएको फेवाफाँटमा गवारो किरा प्रकोपले जेठोबुढो धान नष्ट हुँदा करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको हो । धान पाक्ने समयमा एकै पटक गवारो जातको किरा प्रकोपले गर्दा आफूहरूको १ हजारभन्दा बढी रोपनीमा लगाएको धान नष्ट भएको स्थानीय देवीलाल लामिछानेले बताए ।

पोखराको ब्राण्ड नै बनेको जेठोबुढो धान पाक्ने बेलामा एकाएक गवारो जातको प्रकोपले गर्दा धान काट्ने अवस्था नै नभएको उनको भनाइ छ । केही दिनमा धान काट्ने तयारी गरेका किसानले खेतमा पराल समेत राम्रोसँग प्राप्त गर्न नसक्ने गरी गवारो किराले क्षति पुर्‍याएको गिरीराज लामिछानेले गुनासो गरे । आफूहरूले वर्षको एक पटक मात्र धान खेती गर्ने गरेको र सोही धानबाट वर्ष भरी भात खाने र बचेको केही धानले घर खर्च चलाउँदै आए पनि यस वर्ष आफूहरूलाई धेरै समस्या हुने उनको गुनासो छ ।

गवारो जातको किराले अधिकांश धानको गुबो खाएको, केही धानमा भुस मात्र भएकोले आफूहरू निकै मारमा परेकोले यसको उचित राहतको माग गरिएको स्थानीय किसान लामिछानेले बताए । स्थानीयले आफ्नो धानवालीमा करिब दुई साताअघि मात्र यस्तो रोगको प्रकोप फैलिएको आफूहरूलाई जानकारी प्राप्त भएको बताएका छन् । केही वर्षअघि सामान्य गवारो जातको किराको समस्या भए पनि हाल एकै पटक एक हजारभन्दा बढी क्षेत्रफलमा लगाएको किसानको धानवाली नष्ट भएको स्थानीय किसान लामिछानेले बताए ।

उनले आफ्नो खेतमा यस वर्ष करिब ८ रोपनी क्षेत्रफलमा जेठोबुढो जातको धान लगाए पनि गवारो जातको किराले गुबोसहित धान खाएको बताए । भएको केही धान पनि राम्रोसँग पराल समेत प्रयोग गर्न नमिल्ने अवस्था रहेको उनको भनाइ छ । करोडभन्दा बढीको धानमा क्षति भएको स्थानीयले बताए । पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जेठोबुढो धान हुने पटक क्षेत्र फेवाफाँटमा यस वर्ष गवारो जातको रोगको प्रकोप फैलिदा ठूलो मात्रामा क्षति भएको दाबी गरे ।

उक्त रोगको प्रकोप सुरु हुँदा समयमै आफूहरूलाई जानकारी भएको खण्डमा ठूलो क्षती हुनबाट बचाउन सकिने बताए । धान पसाई सकेपछि पाक्ने बेलाको धानमा एकै पटक रोगको प्रकोप फैलिएपछि आफूहरूलाई जानकारी भएकोले केही दिनअघि आफूहरूको टोलीले फिल्ड भिजिट समेत गरेकोले क्षतिको विवरण संकलन गर्न लागेको प्रमुख कडरियाले बताए । पोखरामा उत्पादन हुने जेठोबुढो धानमध्ये करिब ४० प्रतिशत एउटै फाँट फेवाफाँटमा उत्पादन हुने उनले दाबी गरे ।

स्थानीय किसानलाई राहत स्वरुप अब कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र, पोखरा महानगपालिकालगायतले केही न केही सहयोग गर्नुपर्ने अवस्था देखिएको उनले बताए । गवारो जातको किरा प्रकोपले गर्दा फेवाफाँटमा लगाएको जेठोबुढो धानको प्रारम्भिक चरणमा हेर्दा एक करोडभन्दा बढीको क्षति भएको प्रमुख कडरियाको भनाइ छ । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा उत्पादन हुने स्थानीय रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग खरिद गर्ने गरी सम्झौता गरेको थियो । यहाँ उत्पादन भएको जेठोबुढो धान बिक्रीको लागि अब कुनै समस्या नहुने वातावरण बनेको थियो ।

पोखराको ब्राण्ड नै बनेको जेठोबुढो धान महानगरपालिकाले तोकेको समर्थन मूल्यका आधारमा प्रतिक्विन्टल ९ हजार ५ सय र नेपाल खाद्य संस्थानले भने १० हजार रुपैयाँ प्रतिक्विन्टलमा खरिद गर्दै आइरहेको छ । पोखरा क्षेत्रमा अन्य विभिन्न जातका धानहरू प्राय: थन्काउने क्रममा रहेका छन् भने जेठोबुढो अबको केही दिनमा काट्ने तयारी भएको छ । पोखरामा करिब ११ हजार २ सय हेक्टर क्षेत्रफलमा जेठोबुढोसहितको अन्य जातको धान उत्पादन हुने खेती योग्य जमिन रहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्