महिलाको कार्यबोझ घटाउन कृषिमा यान्त्रिकरण बढ्दै
जुम्ला– जुम्लामा कृषि क्षेत्रमा यान्त्रिकरण बढ्दै गएको छ । कार्यबोझका कारण महिलाको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै कृषिमा यान्त्रिकरण बढ्दै गएको हो । जुम्लाका महिला प्राय: कृषिमा संलग्न छन् । कार्यबोझकै कारण जुम्लासहित कर्णालीका अधिकांश महिला पाठेघर क्यान्सर, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेलगायतका समस्याबाट ग्रसित भएका छन् ।
महिलाको कार्यबोझ घटाउन तातोपानी गाउँपालिका–६ का किसानले यान्त्रिकरणको प्रयोग बढाएका छन् । महिलाको कार्यबोझ घटाउनुका साथै कृषिमा आधुनिकीकरण ल्याउनका लागि तातोपानी–६ हियाखोलाका किसानले कृषि उपकरण गर्न थालेका हुन् । बाली रोप्नेदेखि, भण्डारण गर्नेलगायत धान, गहुँ, मकै चुट्ने र कुटानी पिसानीको काममा उपकरणको प्रयोगसंँगै दैनिकी सहज भएको स्थानीय डिल्ली कामीले बताए ।
उनका अनुसार रेसास, यूएनडीपी, किर्डाक नेपाल र तातोपानी गाउँपालिका जुम्लाको समन्वयमा आधुनिक कृषि उपकरण सहयोग भएपछि सहज भएको हो । कृषि उत्पादकत्व, मूल्य शृङ्खलाको विकास र दिगो खाद्य प्रणालीको स्थापनाका लागि स्थानीय आवश्यकता अनुसारको ऊर्जा, वित्त आधुनिक प्रविधिमा पहुँच वृद्धि गर्न परियोजना र पालिकाले कृषिमा यान्त्रिकरण बढाएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
उनका अनुसार लाम्रामा स्थापना भएको सामुदायिक सिकाइ केन्द्रमा कृषि क्षेत्रका विद्यार्थी आएर अध्ययन गर्नसमेत सहज भएको छ । झोल तथा गड्यौला मल बनाउने र टनेलमा तरकारी खेती गर्नेलगायतका धेरै विधिका बारेमा सामुदायिक सिकाइ केन्द्रबाट किसानले ज्ञान लिएका छन् । विशेषगरी महिलाको कार्यबोझ न्यूनीकरणमा कृषिमा यान्त्रिकरणले सहज बनाएको छ ।
यूएनडीपी इसिमोडको जलवायुमैत्री कृषि प्रविधिको अभ्यास गर्नका लागि प्लास्टिक टनेल, गड्यौला मल बनाउने विधि, भर्मिवास विधि, माटो सिमेन्ट ट्यांकी, झोल मल बनाउने विधि, माटो निर्मुलीकरण, प्लास्टिक मल्चिङ, परालको मल्चिङ गर्नेलगायतका उत्पादन बढाउने सीप र प्रविधि सिकाइएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत प्रिया थापाले बताइन् ।
उनका अनुसार कालिका कृषक समूह र सृजनशील फलफूल तथा तरकारी समूहका महिलालाई थोपा सिंँचाइ र छापो प्रविधिका बारेमा सिकाइएको छ । समुदायस्तरमा जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नका लागि महिला सक्षम भएका छन् । महिलाको कार्यबोझ कम गर्नका लागि थ्रेसर, आरी, धान तथा पिटो पिस्ने उपकरण, स्याउका चाना बनाउने मेसिन र दाल पिस्ने लगायतका उपकरण किसानलाई प्रदान गरिएको छ ।
जलवायु परिवर्तनले कृषि क्षेत्रलाई पारेको असरसँग आधारित तथा महिलामैत्री समाधानका उपाय पहिचान गरी कार्यान्वयन गर्ने उद्देश्यले रेरास परियोजना सञ्चालन भएको छ । अनुगमनमा सहभागी जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पाइलटिङ परियोजनाले छोटो अवधिमा राम्रो काम गरेको बताए ।
तातोपानी–५ लाम्रा गाउँमा सामुदायिक सिकाइ केन्द्र स्थापना भएकाले गड्यौला तथा झोल मल बनाउने विषयमा महिलाले ज्ञान आर्जन वृद्धि हुने आशामा किसान छन् । जलवायु परिर्वतनबाट महिला बढी प्रभावित भएकाले उनीहरूलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रमले सकरात्मक सन्देश दिएको आचार्यले बताए । पछिल्लो समय जुम्लाका आठै पालिकाका किसान कृषिमा उपकरणको प्रयोग बढाएका छन् । गैरसरकारी संस्था पालिकाको संयुक्त लगानीमा कृषिमा यान्त्रिकरण बढेपछि किसानलाई राहत भएको छ ।