Logo

धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गरिने

दाङ– राप्ती गाउँपालिकाले पालिकाभित्र धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गर्न भएको छ । आर्थिक वर्ष २०७९/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ‘खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान’ कार्यक्रम सञ्चालन गर्ने भएको हो । सम्भवत: यस प्रकारको कार्यक्रम जिल्लामा नै पहिलो हो । जिल्लामा अन्य पालिकामा यस प्रकारको कार्यक्रम सुरु भएको छैन ।

उक्त कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई आवेदन दिनसमेत पालिकाले आग्रह गरेको थियो । पालिकाले गएको असोज ८ गते सूचना प्रकाशित गरेर असोज २२ गतेसम्म निवेदन माग गरेको थियो । यसरी माग गरिएपछि १६ जना कृषकले निवेदन दिएको पालिकाका कृषि शाखा अधिकृत प्रदीप खत्रीले जानकारी दिए । कार्यक्रमका लागि कम्तीमा पाँच कट्ठामा धानखेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

निवेदन परेका कृषकले कृषि शाखाका कर्मचारीले निगरानीमा नै धान भित्र्याएका छन् । निवेदन परेका कृषकको फिल्डमा गएर कृषि शाखाका प्रतिनिधिको रोहवरमा धान भित्र्याएको कृषि शाखाका अधिकृत खत्रीले बताए । ‘निवेदन परेकाको सबैको रेकर्ड लिएका छाैं उत्कृष्ट कृषकको निर्णय भइसकेको छैन्,’ उनले भने । केही दिनमा निर्णय गरिने उनले बताए । ‘कृषकलाई प्रोत्साहन गर्नका लागि यस प्रकारको कार्यक्रम सञ्चालन गर्न थालेको हो,’ उनले भने ।

यसले कृषकलाई थोरै भए पनि कृषि पेशामा लाग्न प्रोत्साहन गर्न सहयोग मिल्ने पालिकाको अपेक्षा छ । कृषकलाई प्रोत्साहन गरेमा उत्पादनमा समेत वृद्धि गर्न सकिने पालिकाले जनाएको छ । खाद्यान्नलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको जनाएको छ । उत्कृष्ट कृषकलाई गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने जनाएको छ । पालिकाले प्रथम हुने कृषकलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई आठ हजार प्रदान गर्ने जनाएको छ ।

खाद्यले धान खरिद गर्न सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले जिल्लामा धान गरिद गर्न सुरु गरेको छ । गढवा गाउँपालिकाबाट धान खरिद गर्न सुरु गरिएको हो । कोटा पूरा नहुँदासम्म खरिद गरिने भएको छ । धान खरिदका लागि स्थानीय तहसँग सम्झौतासमेत गरिएको खाद्यले जनाएको छ । खाद्यले गढवा, राजपुर, लमही, राप्ती, घोराही र तुलसीपुरका खरिद केन्द्रमार्फत् धान गरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए ।

खाद्यले एकजना कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने जनाएको छ । धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण २ प्रतिशतभन्दा कम, टुक्रेको बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु पर्नेछ । सबै धान एकनासको, नभिजेको सफा, किरारहित, ढुसी नपरेको हुनुपर्ने प्रमुख सुनारले बताए । खाद्यले जिल्लामा यस वर्ष आठ हजार क्विन्टल धान खरिद गर्ने प्रमुख सुनार बताउँछन् । केही वर्षअघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष धान खरिद गर्ने निर्णय गरेको हो ।

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्न थालेको हो । केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्नका लागि भनेर परिपत्र गरेको छ । असोज २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको हो । ‘धान खरिद गर्नेका लागि परिपत्र आएपछि हामी धान खरिद गर्न थालेका हौं,’ प्रमुख सुनारले भने । यसअघि खाद्यले जिल्लामा धान खरिद गरे पनि कुटानीका लागि बाहिर पठाउँदै आएको थियो । यस वर्ष कोटा पूरा भएमा जिल्लामा नै कुटानी गरिने भएको छ । धान थोरै भएमा कुटानीका लागि बाहिर पठाइने सुनार बताउँछन् ।

धान खरिदसंँगै कुटानीको लागि ठेक्का आह्वान गरिने उनले बताए । मिलहरू कुटानी गर्न सहमत भए पनि खाद्य व्यापार कम्पनीले मापदण्डअनुसार कुटानी गर्न नसकिने मिल सञ्चालकले बताउने गरेका थिए । कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले ताकेको मूल्यमा कृषकले धान बिक्री गर्न पाउने भएका छन् । खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न कृषकहरू बाध्य छन् । कम्पनीले दिने भन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरू बताउँछन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ निर्धारण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५ सय ८० रुपैयाँ तोक्ने निर्णय भएको छ । यस वर्ष दाङमा ३७ हजार २२५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार उक्त जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष ३५ हजार ३८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्