मन्त्रिपरिषद् विस्तार,थपिए ४ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएलगत्तै पहिलो पटक एमालेबाटै २ मन्त्री बनाएका ओलीले सोमबार अरु ४ मन्त्री थप गरेका हुन् ।
यसपटकको विस्तारमा भने नेकपा माओवादी केन्द्रबाट पनि २ जना सरकारमा सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको उपस्थितिमा नवनियुक्त ४ मन्त्रीलाई सोमबार पद तथा गोपनियताको शपथ खुवाइन् ।
सोमबार माओवादी केन्द्रका रामबहादुर थापाले गृह र मातृका यादवले उद्योगमन्त्रीको शपथ लिँदै कार्यभार समेत सम्हालेका छन् । त्यस्तै, एमालेबाट महासचिव ईश्वर पोखेलले रक्षा र डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यादव र पोख्रेल प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् भने थापा राष्ट्रियसभा सदस्य हुन् । यद्यपि, सर्वोच्च अदालतले खतिवडालाई शपथ नगराउन आदेश दिएको छ । थापाले यसअघि रक्षा मन्त्रालय सम्हालिसकेका छन् भने यादव पूर्व वनमन्त्री हुन् ।
खतिवडालाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरे पनि सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ नगराउन आदेश गरेको छ । सांसद नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने संविधानको व्यवस्थाअनुसार नै योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्व गभर्नरसमेत रहिसकेका एमाले निकट अर्थविद् खतिवडालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् । ६ महिनाभित्रमा संसदको सदस्य नभएमा भने खतिवडाको पद स्वतः खारेज हुनेछ ।