Logo

नमुना जिल्लामै चल्दैन फोर जी सेवा

वीरेन्द्रनगर– कर्णालीमा नेपाल टेलिकमले नमुना जिल्ला घोषण गरेको ठाउँममा फोर जी सेवा नचल्दा समस्या हुँदै आएको छ । ग्रामीण क्षेत्रमा मोबाइल डाटाबाट सञ्चालनमा रहेको इन्टरनेट सेवा काम नगर्दा समस्या उत्पन्न भएको छ । फोर जीको नेटवर्क देखाए पनि काम नगर्दा आफूहरू पीडित भएको जाजरकोट नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताए ।

उनले भने, ‘गाउँको वरिपरि नेपाल टेलिकमको टावरहरू छन्, तर फोर जी इन्टरनेट चल्दैन । चलाउनेका लागि नभई हेर्नका लागि भएको छ । गराइला, घेत्मारातामाटामा रहेको टावरले इन्टरनेट काम गरेको छैन ।’ नेपाल टेलिकमलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको नलगाड नगरपालिकाका कर्मचारी सञ्जय केसीले बताए ।

त्यस्तै बारेकोट गाउँपालिकामा पनि सिमबाट सञ्चालन हुने इन्टरनेटको फोर जी सेवा भारी मात्रामा कम प्रभावकारी रहेको बारेकोट–५ का मोहनजंग शाहीले जानकारी दिए । ‘मोबाइलमा फोर जी टावर देखाउँछ तर काम गर्दैन,’ उनले भने । उनले भने गरे, ‘डाटा लिए पनि चलाउन नै नपाएर म्याद सकिने गरेको छ । हाम्रो पीडा कसले सुन्ने ?’

जाजरकोटका पालिकाको मुकामबाहेक अन्य ठाउँमा इन्टरनेटले काम नै नगर्ने गरेको गुनासो आएको जुनिचाँदे लुहादहका रेशमबहादुर खडकाले बताए । जुनिचाँदेमा रहेको टावरले समेत फोर जी देखाउने भए पनि काम नगर्दा आफूहरू पीडित भएको उनको भनाइ छ । मुगु–छायाँनाथ रारा नगरपालिका–११ रोवामा फोर जी टावर भए पनि काम नगर्दा आफूहरू काम गर्नका लागि अग्लो डाँडामा जाने गरेको प्रभात माध्यमिक विद्यालयकी शिक्षिका नन्दा शाहीले जानकारी दिइन् ।

टावरहरू देखाउनका लागि हुन कि, क्या हुन् उनले प्रश्न गर्दै भनिन् । रुकुम पश्चिमको आठबिसकोटको रातामाटामा सञ्चालनमा रहेको टावरबाट फोर जी सेवा नचल्दा आफूहरू हैरान भएको स्थानीयबासी तिलक बटालाले बताए । फोर जी देखाउने तर काम नै नगर्दा आफूहरू समस्यामा परेको उनको भनाइ छ । सदरमुकामबाहेक अन्य ठाउँमा मोबाइल सिमबाट चल्ने फोर जी सेवाले काम गर्न छाडेपछि आफूहरू हैरान भएको स्थानीयबासीको भनाइ छ ।

जाजरकोट लगायत अन्य १९ जिल्लालाई समेटेर नमुना सेवा सेवा दिन घोषण गरेको एक वर्ष नबित्दै सेवा प्रभावहीन बन्न पुगको छ । नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको गरेको वर्ष दिनमै सेवा प्रभावकारी नहुँदा स्थानीयबासी हैरान भएका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको थियो । २०८० कात्तिक २४ गते शुक्रबार टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको थियो ।

प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमुना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको थियो । जसअनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित जिल्ला रहेका थिए । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमुना जिल्ला कायम गर्न थालेको टेलिकमले दाबी गरे पनि त्यो भनाइमा मात्र सीमित भएको आरोप लाग्दै आएको छ ।

जिल्लाका सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिक रूपमा सम्भव भएसम्म उपलब्ध गराउने टेलिकमले जानकारी दिए पनि भेरी करिडोरभित्र टेलिकमको इन्टनेटर सेवा प्रभावकारी देखिँदैन । जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने टेलिकमले जनाए पनि फोर जी सेवा नै प्रभावकारी नभएपछि अन्य त झन परको कुरा भएको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्