Logo

दाङमा फूल उत्पादन बढेसँंगै जिल्लाबाहिर निर्यात

दाङ– घोराही उपमहानगरपालिका–१४ झिगौरा निवासी पुष्प व्यवसायी लोकेन्द्र रोका मगरले फूल बाहिरी जिल्ला निर्यात गरे । घोराही उपमहानगपालिका–१३ डुमर गाउँमा व्यावसायिक फूलखेती गरेकी इन्द्रा बुढामगरले पनि तिहारमा फूल बाहिर निर्यात गरिन् । लोकेन्द्रले तिहारका लागि कपिलवस्तु बुटवल फूल निर्यात गरेको बताउँछन् ।

जिल्लामा भन्दा बढी फूल तथा माला बाहिरी जिल्लामा निर्यात गरेको उनको भनाइ छ । इन्द्राले पोखरा, स्याङजा, काठमाडाैं, धनगढी लगायतका जिल्लामा तिहारका लागि फूलमाला पठाएको बताइन् । करिब आठ हजार माला जिल्लाबाहिर पठाएको इन्द्राको भनाइ छ । उनीमात्र होइन जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने धेरै कृषकले फूलमाला जिल्लाबाहिर निर्यात गर्न थालेका छन् । कृषकहरूले फूलमाला जिल्लामा खपत हुन नसकेपछि जिल्लाबाहिर पठाउने गरेको बताउँछन् ।

जिल्लामा फूल उत्पादन बढेसँगै माग कम भएपछि बाहिर पठाएको उनीहरू बताउँछन् । फूलखेती गरेका कृषकले अटो, मोटरसाइकलमा राखेर बजारका चोकचोक तथा गाउँगाउँसम्म पुर्‍याएका थिए । तर पनि बिक्री हुन नसकेको उनीहरूले बताएका छन् । बाहिर निर्यात गर्न नसकेका केही कृषकको फूलमाला बिक्री हुन नसकेको कृषकको भनाइ छ । यस वर्ष धेरै जसोको घरमा फूल भएका कारण पनि माग कम भएको उनीहरू बताउँछन् ।

गत वर्ष फूल बिक्री नहुँदा घाटा बेहोरेका कृषकले यस वर्ष क्षेत्रफल समेत घटाएका थिए । राज्यले स्वदेशी कृषकलाई प्रोत्साहन गर्नुपर्ने भए पनि त्यस प्रकारको कार्य गर्न नसकेको कृषकहरू बताउँछन् । यस वर्षको तिहारमा गत वर्षभन्दा कम फूल तथा मालाको बिक्री भएको घोराही उपमहानगरपालिका–१४ झिगौरा जलजला पुष्पखेती फर्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । गत वर्ष चार लाखको फूल बिक्री गरेका लोकेन्द्रले यस वर्ष तीन लाखको मात्र फूल बिक्री गरेको बताउँछन् ।

उनले प्रतिमाला एक सयदेखि १५० रुपैयाँमा बिक्री गरेका थिए । राज्यका कारण नै किसान मारमा पर्ने गरेको उनको भनाइ छ । ‘सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा समस्या भएको हो,’ उनले भने । बाहिरबाट फूल आयात गर्दा स्थानीयस्तरमा उत्पादन भएको फूल बिक्री हुन नसकेको उनको भनाइ छ । स्थानीय सरकारबाट समेत आफूहरूले सहयोग नपाएको उनी बताउँछन् । उत्पादनको ग्यारेन्टी राज्ले गरिदिनुपर्ने उनी बताउँछन् । यस वर्ष उनले ३० कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए ।

गत वर्ष दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको उनले बताए । जग्गा भाडामा लिएर उनले करिब १२ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् । रोजगारीको सिलसिलामा सात वर्ष विदेशमा बिताएका रोकाले जिल्लामा दसैं तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका थिए । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ,’ लोकेन्द्रले भने ।

रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्न सुरु गरेका थिए । घोराही बजारनजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको उनको भनाइ छ । अघिल्ला वर्षमा आफूले उत्पादन गरेको पूूmल धेरै जिल्लामा नै खपत हुने गरेको उनले बताए । जिल्लाका घोराही, तुल्सीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको थियो ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेका छन् । ‘जिल्लामा सधैं फूलको माग हुने भएकाले बाह्रै महिना फूल उत्पादन गर्न थालेको हुँ,’ लोकेन्द्रले भने । वर्षातको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनले बताए । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्यलाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ ।

‘व्यावसायिक रूपमा समय लगाएर काम गर्ने हो भने राम्रो सम्भावना छ,’ लोकेन्द्रले भने । फूलको माग दसैं तिहारमा बढी हुने गरेको उनको भनाइ छ । त्यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ । घोराही–१३ डुमर गाउँमा व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी इन्द्रा बुढा मगरले तिहारमा जिल्लामा फूलको बाहिर निर्यात गरेको बताइन् ।

जिल्लामा भन्दा बढी फूल तथा माला बाहिरी जिल्लामा निर्यात गरेको उनको भनाइ छ । ‘तिहारमा मैले जिल्लामा दुई हजारजति माला बिक्री गरें करिब आठ हजार माला जिल्लाबाहिर पठाएकी हुँ,’ उनले भनिन्, ‘बाहिर पठाएकाले बिक्रीका लागि सहज भएको हो जिल्लामा बिक्री गर्नसमेत समस्या भएको थियो ।’ जिल्लामा यस वर्ष फूलको मागसमेत कम भएको उनको भनाइ छ । घरघरमा आफूलाई आवश्यक पर्ने फूल उत्पादन भएपछि माग कम भएको उनले बताइन् ।

केही कृषकले फूलमाला बिक्री हुन नसकेपछि सस्तो मूल्य तथा खेर पाल्नुपर्ने अवस्थासमेत आएको उनले बताइन् । उनले तिहारका लागि मात्र नभई १२ महिना नै फूलखेती गर्ने गरेकी छिन् । उनले करिब १२ वर्षदेखि फूलखेती गर्दै आएकी छिन् । यस वर्ष उनले १० कठ्ठा जग्गामा फूलखेती गरेको उनको भनाइ छ । यसरी जिल्लामा फूल उत्पादन बढ्दै गएपछि फूल खरिदका लागि बाहिरिने रकमसमेत जिल्लामै रहने गरेको छ भने फूलमाला बाहिर निर्यात गर्दा जिल्लामा रकम भित्रिने गरेको छ ।

यता कृषि ज्ञान केन्द्र दाङले फूलमा जिल्ला आत्मनिर्भर रहेको जनाएको छ । बाहिरबाट फूल निर्यात गर्नुपर्ने अवस्था नभएको कृषि ज्ञान केन्द्रका निमित प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए । बजारको ग्यारेन्टी भएमा फूलखेती उत्पादन हुने क्षेत्रसमेत वृद्धि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्