तीन वर्षसम्म फलेवासको प्रशासकीय भवन अधुरै
पर्वत– निर्माण व्यावसायीको लापरबाहीका कारण पर्वतको फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य लामो समयसम्म पनि सम्पन्न हुन सकेको छैन । २०७८ साल भदौमा १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौतासहित जुम्ले थान एण्ड आचार्य बिल्डर्स प्रालि बागलुङसँग ठेक्का सम्झौता भए पनि अहिलेसम्म भवनको काम पूरा हुन नसकेको हो ।
तीन वर्ष बितिसक्दा भवनको ३० प्रतिशतमात्र काम पूरा हुन बाँकी रहेको फलेवास नगरपालिकाका इन्जिनियर प्रविन गौतमले जानकारी दिए । नौ करोड दुई लाख रुपैयाँको लागतमा निर्माण सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण नसकिएपछि पटकपटक समय थपिँदै आएको इन्जिनियर गौतमले बताए । अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ ।
भवन निर्माणको भौतिक कार्यअन्तर्गत संरचना बनाउने सबै सकिएको छ भने अब प्लास्टर, फिनिसिङ, झ्याल–ढोका, विद्युतीकरण, रंगरोगन र फर्निसिङ लगायतका काम बाँकी रहेको इन्जिनियर गौतमको भनाइ छ । तोकिएको समयमा भवनको काम नसकिएपछि विसं २०८१ पुस मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप गरिएको छ ।
संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटबाट निर्माण हुन लागेको भवनको अहिलेसम्म चार करोड रूपैयाँ भुक्तानी भइसकेको र सम्झौताअनुसार कुल लागतमध्ये बाँकी रकम भने काम सम्पन्न भएपछि भुक्तानी गरिने भएको छ । ‘भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवनको केही काम बाँकी रहेकाले यो वर्षभित्र सम्पन्न हुने देखिन्छ,’ गौतमले भने ।
भवनमा महिला स्तनपान कक्षसहित ४२ वटा कोठा रहेका छन् । नयाँ भवन अभावमा नगरपालिका कार्यालय सञ्चालन गर्न समस्या भोग्दै आउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार पुरानो र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा नगर जनप्रतिनिधि कर्मचारी र सेवाग्राही तीनै पक्षलाई सास्ती भोग्नुपरेको छ ।
फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षत्रीले भुक्तानी ढिलाइ, ठेकेदारको लापरबाही र कानुनी झण्झटका कारण भवन निर्माणमा ढिलाइ भएको बताइन् । उनले गत वर्षदेखि नै नयाँ भवनबाट सेवा शुभारम्भ गरिसक्नुपर्ने बताउँदै पटकपटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले कामलाई तीव्रता नदिएको गुनासो गरिन् । यस्तै अवस्था हो भने यो वर्ष पनि भवन निर्माण सम्पन्न नहुने उनको भनाइ छ ।
फलेवास नगरपालिका नगरप्रमुख गंगाधर तिवारीले ठेकेदारको लापरबाहीका कारण सम्झौता मितिमा भवन सम्पन्न गर्न ढिलाइ भएको बताए । उनले समयमा काम सम्पन्न गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नछोडेको बताउँदै भवन निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सचेत गराएको बताए । जुम्ले थान एण्ड आचार्य बिल्डर्स प्रालि बागलुङले भवन निर्माण कार्यमा प्राविधिक कारणले ढिलाइ भएको दाबी गरेको छ ।
‘काम द्रुत गतिमा नहुनुको कारण हामी मात्र दोषी छैनौँ, नगरपालिका पनि दोषी छ । कानुनी झण्झट, कामअनुसारको रकम भुक्तानीमा ढिलाइ लगायतका विभिन्न कारणले भवन निर्माणमा ढिलाइ भएको हो ।’ निर्माण कम्पनीले पुस मसान्तभित्र भवन सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरेको प्रतिनिधि रविन आचार्यले बताए । फलेवास नगरपालिका–५ खानीगाउँको झकलकमा भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी आठ आना जग्गा नि:शुल्क उपलव्ध गराएका थिए ।
छिट्टै भवन सम्पन्न भई सहज रूपमा सेवा पाउने आशमा बसेका नागरिक भवन निर्माण सुस्त गतिमा हुँदा सास्ती खेप्नु परेको गुनसो गर्न थालेका छन् । पर्वतका सात पालिकामध्ये अहिलेसम्म कुश्मा नगरपालिका र जलजला गाउँपालिका भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । जलजलाले भवन निर्माण सुरु गरेको भए पनि कुश्मा नगरपालिकाले सुरु गर्न सकेको छैन । जिल्लाको पैंयुँ, मोदी, महाशिला र विहादी गाउँपालिका आफ्नै भवन निर्माण गरेर सञ्चालन हुँदै आएका छन् ।