Logo

उदिपुर सबस्टेसनबाट विद्युत वितरण गर्ने तयारी

बाहिरी जिल्लाको समस्याले विद्युत अवरोध नहुने

लमजुङ– लमजुङमा निर्माण सम्पन्न २२० केभी उदिपुर सबस्टेसनबाट जिल्लामा विद्युत वितरण गर्ने तयारी भएको छ । जिल्लामा वितरण हुँदै आएको ३३ केभी विद्युत प्रसारण केही दिनमै उदिपुर सबस्टेसनबाट वितरण गर्ने तयारी भएको हो । जिल्लामा पर्याप्त विद्युत उत्पादन हुँदै आए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइनमार्फत आएको बिजुली मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रबाट वितरण हुँदै आएको थियो ।

राष्ट्रिय प्रसारण लाइनबाट जिल्लामा वितरण गरिएको विद्युतमा समस्या आउने गरेको र सो समाधानका निम्ति निर्माण सम्पन्न सबस्टेसनबाट वितरणको तयारी भएको हो । उदिपुर सबस्टेसनबाट जिल्लाभित्र विद्युत वितरण भएसँगै बाह्य जिल्लामा हुने समस्याले लमजुङमा कुनै अवरोध नहुने भएको छ । यसअघि राष्ट्रिय प्रसारण लाइनमा चितवन वा तनहुँमा समस्या आउँदा पनि लमजुङको विद्युत अवरोध हुने गरेको थियो ।

अब उदिपुरबाट सिधै जिल्लामा विद्युत वितरण हुने भएपछि अन्य जिल्लाको समस्याले लमजुङमा कुनै असर नपर्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए । उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत् स्थानीय रूपमा समेत बिजुली आपूर्ति गरिने हुँदा यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र विश्वसनीय हुने प्राधिकरणले जनाएको छ ।

केही समय अघिमात्रै लमजुङको बेसीसहर नगरपालिका–१ उदिपुरस्थित २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको हो । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत उदिपुरमा सबस्टेसन निर्माण भएको हो । सबस्टेसन निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका उपकरणको सफलतापूर्वक परीक्षणसमेत सकिएको छ । २२० प्रसारण लाइन निर्माण सम्पन्न नहुँदै हाल १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको बिजुली सोही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित बिजुली प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई पनि सोही सबस्टेसनमा जोड्ने तयारी भएको छ ।

उदीपुर सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत् दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको बिजुलीलाई उदिपुर सबस्टेसनलाई बाइपास गरी मध्यमस्र्याङ्दी विद्युतगृहको स्विचयार्डमा जोडिएको थियो । सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई सोही सबस्टेसनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्विचयार्डतर्फ बिजुली प्रवाह हुने भएको छ ।

त्यसपछि मध्यमस्र्याङ्दी–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरू भएको हो । प्रसारण लाइनबाट झन्डै १६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्