नाग्म–गमगडी सडक कालोपत्रे गर्न माग
जुम्ला– नाग्म–गमगडी सडकको प्रवेशद्वार जिरो प्वाइन्टबाट कालोपत्रे गर्नुपर्ने हिमा गाउँपालिकाले माग राखेको छ । हिमा गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको बीच भागबाट कालोपत्रे भएको र प्रवेशद्वारमा अझै खाल्डाखुल्डी भएकोले जिरो प्वाइन्टबाट कालोपत्रे हुनुपर्ने माग गर्ने निर्णय गरिएको हो । स्तरोन्नतिसँगै कालोपत्रेको कामलाई सुरुको विन्दुबाट गर्नुपर्नेमा हिमाका राजनीतिक दलले जोड दिएका छन् ।
प्रवेशद्वारको सडक खण्डमा कुनै काम नगरी सिधै विभेदकारी ढंगबाट बीचै खण्डमा कालोपत्रे, ग्राभेल लगायतका काम भएकाले तत्काल सुरु विन्दुबाट कामअघि बढाउन माग गरिएको हो । ९३ किलोमिटर दूरीको नाग्म–गमगडी सडकको प्रवेशद्वाा हिमा गाउँपालिकामा पर्छ । बीचबाट कालोपत्रेको काम सुरु भएको छ । तर जिरो प्रवेशद्वारमै कालोपत्रे नहुँदा रारा आउने पर्यटकलाई सास्ती भएकाले जिरो प्वाइन्टबाटै कालोपत्रे सुरु गर्नुपर्ने निर्णय गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।
‘हिमा गाउँपालिकाका सबै दलका प्रतिनिधि बसेर नाग्म–गमगडीको कालोपत्रे अघि बढाउने साझा निर्णय गरेका छौं । उनले भने, ‘सडक डिभिजन जुम्लालाई जिरो प्वाइन्टबाट कालोपत्रे सुरु गर्न माग गर्नेछौं । प्रदेश र संघीय सरकारलाई पनि बजेट व्यवस्थापनसहित चाँडो कालोपत्रेको काम अघि बढाउन अपिल गरिने छ । रारा ताल जाने पर्यटकीय मार्गको स्तरोन्नतिमा सबै सरोकारवाला गम्भीर हुन जरुरी छ ।’ २०६९ सालमा सञ्चालनमा आएको नाग्म–गमगडी सडकको ६ किमि क्षेत्र डेढ दशकपछि कालोपत्रे भएको छ ।
तर बीच खण्ड रोकायाबाडादेखि मालिकाबोतासम्म मात्रै कालोपत्रे भएपछि जिरो प्वाइन्ट क्षेत्रमा पर्ने हिमा गाउँपालिकाले बीचबाट नभई जिरोप्वाइन्टबाटै पिच गर्नुपर्ने माग राखेको हो । सडक डिभिजन जुम्लालाई यथाशीघ्र जिरो प्वाइन्टबाट काम अघि बढाउन अनुरोध गरिने भएको छ । हिमामा मंगलबार बसेको सर्वपक्षीय बैठकले सामाजिक कुरीति कुसंस्कारविरुद्ध एक भएर अघि बढ्नेसमेत निर्णय गरेका छन् । यता सडक डिभिजन जुम्लाले बजेट अभावका कारण काम गर्न मुस्किल भएको बताउँदै आएको छ ।
२०७९ को बेमौसमी बाढीले कर्णाली राजमार्गमा क्षति गर्दा सडक स्तरोन्नतिमा भएको खर्च, अन्य सडक योजनाको करोडौं भुक्तानी दिनुपर्ने दायित्व बाँकी रहेको जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा नाग्म–गमगडी सडक कालोपत्रेका लागि छुट्टै बजेटको समेत व्यवस्था छैन । बजेट भएको खण्डमा कालोपत्रेलाई अघि बढाउने सकिने सडक डिभिजन जुम्लाले जनाएको छ ।