Logo

पर्यटकको आकर्षण केन्द्र बन्दै संसारीमाई

धनकुटा– धनकुटाको पाख्रिवास नगरपालिका–४ मा रहेको संसारीमाइ स्थान पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरसँगै रहेका विभिन्न मूर्तिहरु, नजिकै रहेको प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक स्थल निर्माण भएसँगै यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो ।

एक दशक अघिसम्म योे स्थानको परिचय फरक थियो । जताजतै झाडी बीचमा दलदल, नजिकै मृतक व्यक्तिहरु जलाउने स्थान । तर एक दशकको अवधिमा सो स्थानमा निक्कै परिवर्तन भएको छ । जंगल रहेकोे स्थान अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको देख्दा खुसी लागेको स्थानीय श्याम प्रकाश राई बताउँछन् ।

पाख्रिवास नगरपालिकाको अगुवाइमा यहाँ पर्यटकीय स्थल निर्माणको कार्य सुरु भएको थियो । ‘सुरुमा त पानीका लागि ड्याम बनाउने भनेर मात्र काम सुरु गरेका थियौं’ नगरपालकिाका मेयर ज्ञानबहादुर गुरुङले भने, ‘पछि ड्याम निर्माण गरेपछि बोटिङ गर्न सकिन्छ की भन्ने लाग्यो अनी मात्र पर्यटकीय स्थल निर्माण गर्न थालेका हौं ।’

पर्यटकीय स्थल निर्माणका लागि हालसम्म जिल्ला भू–तथा जलाधार संरक्षण कार्यालयको २९ लाख, कोशी प्रदेश सरकारको ५४ लाख, संघीय सरकारको ९० लाख, पर्यटन विभागको ३० लाख, पाख्रिवास नगरपालिकाको ११ लाख र शहरी विकासको ५ लाख गरी २ करोड १९ लाख रुपैयाँ खर्च गरिएको छ । जसबाट तीन वटा पोखरी, २७ फुटको बुद्धको मूर्ति, २५ फुट अग्लो शिवको मूर्ति, विभिन्न चराचुरुङ्गी, जनावर तथा हनुमान, नागलगायतको मूर्ति निर्माण गरिएको छ । त्यस्तै पाँच स्थानमा पिकनिक स्पोर्ट, बगैचा, बाल उद्यान तथा वन्यजन्तु र पन्क्षीको प्रदर्शनी घर निर्माण गरिएको छ । सो क्षेत्रसम्म पुग्न दुवै तर्फबाट सडक निर्माण गरिएको छ ।

त्यस्तै ८० फुट लामो प्रतिकात्मक विमानसमेत निर्माण गरिएको छ । जसले पर्यटक आकर्षित गरिरहेको नगर प्रमुख गुरुङ बताउँछन् । धनकुटासहित झापा मोरङ, सुनसरी, भोजपुरलगायतबाट पर्यटक आउने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्