बाढीले पुल बगाएपछि जलयात्रा गरेर त्रिशूली नदी वारपार
धादिङ– गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशूली नदीमाथिको पुल बगाएपछि घण्टांै समय खर्चेर त्रिशूली नदी तर्नुपर्ने बाध्यता अल्पकालीन रूपमा अन्त्य भएको छ । गण्डकी प्रदेशका गोरखा जिल्लामा पर्नेे गण्डकी गाउँपालिका–७ घ्यालचोक र आसपासका स्थानीयलाई सहजताका लागि गण्डकी गाँउपालिका र धादिङ जिल्लाको बेनीघाट रोराङलगायत साझेदारीमा त्रिशूली नदीमा डुंगा सञ्चालनमा ल्याइएको गण्डकी गाउँपालिका–७ का अध्यक्ष तुलसी रेग्मीले बताए ।
बेनीघाट रोराङ र गोरखाको गण्डकी गाउँपालिकाको संयुक्त पहलमा झोलुंगे पुलमा क्षति पुगेको स्थानमा डुंगा सञ्चालन गर्न मासिक एक लाख ४० हजार तिर्ने गरी सम्झौता गरेर कात्तिक १४ गतेबाट सञ्चालनमा ल्याएपछि स्थानीयलाई नदी आवतजावत गर्न सहज भएको हो । स्थानीयको सुविधाका लागि नदी वारपारका गर्न डुुंगा सञ्चालनमा ल्याएपछि घण्टौँ पैदल हिँडेर पृथ्वी राजमार्गसम्म आउनुपर्ने बाध्यता अन्त्य गराएकोमा स्थानीय खुसी भएका छन् ।
डुंगा सञ्चालन हुनुअघि घ्यालचोक र आसपासका मानिस दैनिक उपभोग्य सामान खरिद बिक्री, रोजगारी, अध्ययन अध्यापन गर्न गराउन धादिङको चरौदी बजारस्थित पृथ्वी राजमार्गसम्म स्थानीयलाई आउनका लागि दुईदेखि तीन घण्टासम्म पैदल हिँड्नु पथ्र्यो । अब भने जलयात्रा गरेर ढुक्कसँंग त्रिशूली नदी वारपार गर्न पाएको डुंगामा सयर गर्नेको भनाइ छ ।
त्रिशूली नदी उत्तरतर्फ उत्पादन भएको कृषि र पशुजन्य उत्पादन बिक्रीका लागि चरौदी बजारसम्म ल्याउन डुंगा सञ्चालनमा ल्याएपछि थप सहज भएको स्थानीयको भनाइ छ । गोर्खाको गण्डकी गाउँपालिकास्थित घ्याल्चोक र धावाडिका बासिन्दाको मुख्य बजार नै धादिङको चरौदी बजार हो । सो क्षेत्रमा करिब तिन हजार चार सय घर परिवार बसोबास गर्दै आएका छन् ।
नदीमा पानीको सतह विस्तारै कम भएसंँगै विपद्मा परेका स्थानीयको सुविधाका लागि त्रिशूली नदीमा डुंगा सञ्चालनमा ल्याएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले बताए । डुंगा सञ्चालनमा आएपछि तरकारीजन्य उत्पादन बिक्रीका लागि चरौदी बजारसम्म ल्याउन सहजमात्रै भएको छैन मानिस विरामी पर्दा समेत उपचारका लागि ल्याउन सहज भएको छ ।
चरौदी र घ्यालचोक जोड्ने झोलुंगे पुल मर्मत गर्न पहल भइसकेको छ । पुल मर्मत नहुन्जेलसम्मका लागि कात्तिक १४ गतेबाट डुंगा सञ्चालनमा ल्याइएको छ । झोलुंगे पुल मर्मत गरी सञ्चालनमा ल्याउन दुई महिना लाग्ने अनुमान छ । दुई महिनासम्म डुंगाबाटै स्थानीयलाई नदी वारपारका लागि सुविधा दिइने छ । डुंगाबाट नदी वारपार गरेको शुल्क स्थानीयले तिर्न नपर्ने वडाध्यक्ष रेग्मीले बताए ।