केशरको व्यावसायिक खेती
दाङ– जिल्लामा दुर्लभ र बहुमूल्य जडिबुटी केशरको व्यावसायिक खेती सुरु गरिएको छ । करिब २४ लाख रुपैयाँ लगानी गरेर केशरको व्यावसायिक खेती सुरु गरिएको हो ।
भारतको पञ्जावमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सनराइज कृषि फार्म स्थापना गरेर बहुमूल्य जडिबुटी केशरको व्यावसायिक उत्पादनमा लागेका हुन् । नेपालमा केशरको माग अनुसार उत्पादन न्यून हुने गरेकाले यसको व्यावसायिक रूपमा खेती सरु गरेको उनले बताए ।
नेपालमै पहिलो पटक दाङको नारायणपुरमा बन्द कोठमा दुर्लभ वनस्पति केशरलाई अनुकूल हुने हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक उत्पादन थालेको अधिकारीले बताए । चिसो हुने हिमाली जिल्ला जुम्ला, डोल्पालगायतका सीमित क्षेत्रमा खुल्ला रूपमा माटो मै खेती गरेर उत्पादन लिन सकिने भए पनि दाङमा बन्द कोठामा हावापानी र प्रकाश व्यवस्थापन गरेर उत्पादन थालेको उनले बताए । ‘दाङमा खुल्ला रूपमा केशरको उत्पादन लिन सकिँदैन । त्यसैले १६/१६ को बन्द कोठामा एसीको सहायताले अहिले भारतको कास्मिरमा हुने जति तापक्रम कोठामा मेन्टेन गरेर उत्पादन थालेकका छौं’ उनले भने, ‘प्रारम्भिक चरणमा उत्पादन राम्रो दिइरहेको छ ।’
यहीबाट व्यवसायलाई बढाउँदै लग्ने योजनामा रहेका अधिकारी बताउँछन् । आफ्नो उत्पादनलाई ब्राण्डिङ गरेर बिक्रीको तयारी भइरहेको उनले बताए । ‘अहिले बिक्री भन्दा कति गुणस्तरीय उत्पादन लिन सकिने रहेछ भनेर उत्पादन गरिरहेका छौं’ उनले भने, ‘यही उत्पादनबाट व्यवसाय बढाउँदै उत्पादन भएको केशरलाई ब्राण्डिङ गरेर बिक्रीका लागि तयारी गर्दै छु ।’ राम्रोसँग हुर्किएको केशरको बिरुवाले रोपेको तीन सातादेखि उत्पादन दिन सुरु गर्ने भन्दै अधिकारीले अहिलेसम्म चार सय ग्राम केशर दाना संकलन भइसकेको बताए । अधिकारीले तीन महिनादेखि व्यावसायिक उत्पादन थालेका हुन् ।
भारतको पञ्जावमा बाली विज्ञान अध्ययन गरेका अधिकारीले विदेश जानु भन्दा स्वदेशमै नयाँ प्रकारको जडिबुटीको व्यावसायिक उत्पादन थालेको बताए । ‘यो जिल्लामा मात्र होइन, नेपालमै पहिलो पटक कोठामा हावा र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक खेती गरिरहेको छु । अहिले भइरहेको उत्पादनले सफलता दिनेमा विश्वस्त छु’ उनले भने ।
केशर एक बहुमूल्य तथा दुर्लभ वनस्पति भएको भन्दै उनले यो लसुन वा प्याजको आकारको सेतो गानाबाट खेती गर्न सकिन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर देखिन्छ । यो फूलेको बेला मन लोभ्याउने दृश्यसँगै स्वास्थ्यका दृष्टिले अत्यन्त फाइदा जनक भएको उनले बताए । विश्व बजारमा केशरको मूल्य प्रतिकेजी आठदेखि १० लाख रुपैयाँ रहेको छ । केशरको हुम्ला, जुम्लालगायतका हिमाली क्षेत्रसँगै पूर्वी नेपालका केही ठाउँमा खेती हुने गरे पनि व्यावसायिक रूपमा नेपालमा खेती हुन नसकेको अधिकारी बताउँछन् ।
उनका बुवा निमकान्तले छोरा कृषि पढेको र आफ्नै ठाउँमा केही गर्छु भनेर लागेकाले खुसी लागेको बताउँछन् । ‘छोरोले नेपालमा केशरको व्यावसायिक उत्पादनसँगै बजारको सम्भावना राम्रो देखेर उत्पादनमा लागेको छ । यो परिवारका लागि खुसीको कुरा हो’ उनले भने ।
केशरको उपयोगिता के हो ?
केशरको उपयोगिता र गुण धेरै रहेको छ । केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मिने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चमक आउने, पाचन प्रणाली सही रहने, मधुमेह नियन्त्रण हुने, काम शक्ति वृद्धि हुने जस्ता फाइदा हुने विज्ञहरूले बताएका छन् । यार्सागुम्बामा हुने गुणसमेत पाइने केशरलाई बहुमूल्य मसलाको रूपमा प्रयोग पनि गरिने गरिन्छ ।