तिमाङमा हाई अल्टिच्युट खेल मैदान निर्माण गरिने
लमजुङ– हिमाली जिल्ला मनाङको तिमाङस्थित खेल मैदान स्तरोन्नतिका विषयमा सरोकारवाला बीच अनौपचारिक छलफल भएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जिल्ला भ्रमणका बेला स्थानीय सरोकारवालासँग खेलमैदानको विषयमा छलफल गरेका हुन् ।
चामे गाउँपालिका–१, तिमाङमा रहेको सो खेल मैदानलाई विविध विधाको खेलसँगै खेल पर्यटनसँग जोडिएर बृहत्तर योजना बनाई विकास गर्ने विषयमा छलफल भएको हो । छलफलमा मनाङ जिल्ला समन्वय समितिका प्रमुख चिनबहादुर घले, प्रदेश सभा सदस्य मुनिन्द्रजङ गुरुङ, मनाङ खेलकुद विकास समितिका अध्यक्ष दुधबहादुर गुरुङलगायत स्थानीयको सहभागिता रहेको थियो ।
मनाङ देशकै महत्त्वपूर्ण पर्यटकीय जिल्ला भएकाले भौगोलिक धरातलले साहसिक खेलबाट पनि अझै पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले तिमाङ खेल मैदानलाई विविध विधाको खेल गन्तव्यको रूपमा विकास गर्नुपर्ने सांसद गुरुङले बताए । ‘पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित हुने गरेका छन्, तिमाङ हाई अल्टिच्युट खेल मैदान हो,’ सांसद गुरुङले भने, ‘हाई अल्टिच्युड खेलका लागि तिमाङले विश्वकै ध्यानाकर्षण गर्न सक्छ ।’
तिमाङमा खेल मैदानको स्तरोन्नतिसँगै आवश्यक संरचना र पर्यटकका लागि व्यवस्थित होटलको पनि विकास गर्नुपर्ने सांसद गुरुङको भनाइ थियो । तिमाङ खेल मैदानलाई व्यवस्थित गर्न सकेमा तिमाङ गाउँको मात्रै नभएर सिंगो जिल्लाको खेल र पर्यटनमा थप विकास हुने सांसद गुरुङको भनाइ थियो ।
छलफलका क्रममा प्रदेश सभा सदस्य मुनिन्द्र जङ गुरुङले स्थानीय र प्रदेशको बजेटले मात्रै अपेक्षित उपलब्धि नहुने भन्दै यसका लागि संघीय सरकारको ध्यानाकर्षण आवश्यक रहेको बताए । त्यसैगरी मनाङका जिसस प्रमुख घलेले जिल्लाको विकास निर्माणमा जनताको अपेक्षा अनुसार सहकार्य र समन्वय गर्न आफू तयार रहेको उल्लेख गरे ।
तिमाङ खेल मैदानको स्तरोन्नतिका लागि हालसम्म लाखौँ रुपैयाँ खर्च भए पनि बजेट अभावकै कारण अपेक्षा गरेअनुसार प्रगति नभएको भन्दै बृहत् योजना र बजेट आवश्यक रहेको बताए । स्थानीयसँग छलफल गर्दै प्रतिनिधिसभा सदस्य गुरुङले मनाङको विकास निर्माणमा राजनीतिक स्वार्थ नराखी सबैले एकमत भएर अघि बढ्नुपर्ने भन्दै खेल मैदानलाई पनि साझा योजनाको रूपमा प्रस्तावना तयार गरी लाग्नुपर्ने बताए ।
‘यसअघि पनि खेल मैदानको विषयमा अन्तर्राष्ट्रियस्तरबाटै बजेट ल्याउने पहल भएको थियो,’ सांसद गुरुङले भने, ‘स्थानीय तवरबाट सक्रियता नहुँदा तत्कालीन योजना सफल हुन सकेन, साझा योजनामा जसले जति सकिन्छ आफ्नो ठाउँबाट सक्रिय भएमा काम सम्पन्न गर्न सहज हुन्छ ।’
तिमाङ खेल मैदानलाई हाई अल्टिच्युड खेल मैदानको रूपमा विकास गर्न यसअघि पनि योजना बनिसकेको छ । तर अपेक्षित काम हुन सकेको छैन । साहसिक खेलमार्फत् पर्यटन आकर्षण गर्न तिमाङ खेल मैदानले पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा पाउने गरेको छ ।