Logo

दोस्रो मस्र्याङ्दी महोत्सव हुँदै

लमजुङ– पर्यटन प्रवर्द्धनका लागि मस्र्याङ्दी गाउँपालिकामा दोस्रो मस्र्याङ्दी महोत्सव हुने भएको छ । गाउँपालिकाले यहि कात्तिक २७ देखि मंसिर १ गतेसम्म दोस्रो मस्र्याङदी महोत्सव २०८१ गर्न लागेको हो ।

गाउँपालिकाले मस्र्याङदी–३, खुदीमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो । स्थानीय कला संस्कृतिको संरक्षण र ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले स्थानीय पर्यटकीय सम्पदाहरुको प्रवर्द्धनका लागि फरक मितिमा फरक फरक स्थानमा विविध कार्यक्रम आयोजना गरेको छ । तय भएको कार्यक्रम अनुसार २७ र २८ गते मस्र्याङदी–३ खुदीमा हरिबोधिनी एकादशी मेला हुने भएको छ । खुदीस्थित मस्र्याङदी नदिमा एकादशीको अवसरमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगितालगायत विभिन्न प्रतियोगिता, स्वास्थ्य शिविर, राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल पार्क, मस्याङ्दी–३, ढंगैबेसी अवलोकन, डा. हर्क गुरुङ समाधिस्थल पार्क अवलोकनलगायतका कार्यक्रम तय भएको छ ।

त्यसैगरी कात्तिक २९ गते मस्र्याङदी–४, जगतमा रहेको तातोपानी कुण्डमा तातोपानी महोत्सव हुने भएको छ । जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । कात्तिक ३० गते पालिका अन्तर्गतका विभिन्न स्थानमा भीर मह शिकार कार्यक्रम रहेको छ । कार्यक्रम वडा–२ घनपोखरा, वडा–४ को मिप्रा, वडा–५ को घेर्मु र वडा–६ को बाहुनडाँडा क्षेत्रका भीरहरुमा महशिकार महोत्सव गरिने छ ।

मंसिर १ गते पालिकाअन्तर्गतका विभिन्न झरनामा महोत्सव गर्ने भएको छ । गाउँपालिका अन्तर्गत वडा–४ को स्याँगे झरना, बुङ छहरा र अक्टोपस झरनामा महोत्सव हुनेछ । महोत्सवमा मस्र्याङ्दी गाउँपालिका–४ स्याँगे र च्याम्चेमा हुने कार्यक्रममा झरनाको अवलोकन, स्थनीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

सोबाहेक गाउँपालिकाले महोत्सव अवधिभर होमस्टेको प्याकेज बिक्री तथा प्रचारप्रसार गर्ने, होमस्टेमा आएका पाहुनालाई स्थानीय परिकार बिक्री वितरण, सांस्कृतिक कार्यक्रम प्रदशनीलगायतका कार्यक्रम तय गरिएको छ । गाउँपालिकाले हरिबोधनी एकादशीको अवसरमा यसअघि २०७५ मंसिरमा पहिलो मस्र्याङ्दी महोत्सवको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्