Logo

पुम्दीकोटमा पर्यटक बढे

पोखरा– पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्न आउने पर्यटक बढेका छन् । पर्यटनको सिजनले गर्दा विदेशी पर्यटक र नेपालीहरू तिहारको अवसरमा महादेवको मूर्ति अवलोकन गर्न आएका कारण पर्यटक बढेका हुन् । सार्वजनिक बिदाको दिनमा एकै दिनमा ५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्न आउने भएको पुम्दीकोट विकास समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताए ।

तिहारको भोलिपल्ट सोमबार पुम्दीकोट क्षेत्रमा बिहानैदेखि विशाल महादेवको मूर्ति अवलोकन देखि दृश्यावलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै भिडभाड भएको समितिले जनाएको छ । पछिल्लो समयमा पोखराको नयाँ पर्यटकीय गन्तव्यको रूपमा परिचित भएको उक्त क्षेत्रमा पोखरा आएका करिब ९० प्रतिशत जसो पर्यटकहरू आउने गरेको अध्यक्ष बरालले बताए ।

पुम्दीकोट क्षेत्रको बृहत विकासअन्तर्गत ४० करोड रुपैयाँको परियोजनाका केही अधुरा कामहरु अझै बाँकी रहेको समितिले जनाएको छ । उक्त परियोजना सफल पार्न समितिले दुई पटक महायज्ञ आयोजना गरेको थियो भने उक्त अभियानमा संघ, गण्डकी प्रदेश र स्थानीय सरकार एवं पोखरा महानगरपालिकालगायतका विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।

५१ फिट अग्लो विशाल महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डब नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान गणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मूर्ति, शौचालयसहित सुविधा सम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा व्यावसायिक सटर, कम्पाउन्ड वाल, २०० मिटर पक्की पहुँच मार्गलगायतका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताए ।

उक्त परियोजनामा लाईटिंगको लागी थप दुई करोड ५४ लाख र रुङगटा वैकुण्ठ हलको ईको साउण्ड कन्ट्रोलका लागी करिब ४२ लाख गरी पाँच करोड लाग्ने प्राविधिक लागत रहेको अध्यक्ष बरालले बताए । उक्त संरचना निर्माणमा हालसम्म करिब २८ करोड खर्च भएको समितिले जनाएको छ । अझै १२ करोडको भौतिक संरचना निर्माण गर्न बाँकी रहेको छ ।

पोखरामा आउने पर्यटकहरुलाई साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव पाण्डव नृत्य, महादेवको शिव लिला समेत प्रदर्शनी गरिने परिकल्पना गरिएको अध्यक्ष बरालको भनाइ छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि विद्युतीय कार, ग्रिनेरी पार्क, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने विषयहरू समेटिएको उनले बताए । पोखराको मुख्य बजारदेखि करिब ९ किलोमिटर दुरीमा पुम्दीकोट पर्छ । हाल उक्त क्षेत्रमा पुग्ने सबै सडक कालोपत्रे भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्