स्याउ निर्यातबाट जुम्लामा ६१ करोड भित्रियो
जुम्ला– स्याउ निर्यातबाट यस वर्ष जुम्लामा ६१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउ खेती फस्टाएको कारण स्याउ निर्यातबाट उक्त रकम भित्रिएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार कुल ६१ करोड ४१ लाख रुपैयाँबराबरको स्याउ निर्यात भएको छ ।
उनका अनुसार साउन ८ गतेदेखि कात्तिक १० सम्मको तथ्यांकअनुसार जुम्लाबाट ९ हजार ३९१ टन स्याउ निर्यात भएको थियो । सरदर ६५ रुपैयाँ प्रति केजीका हिसाबले हवाई, जिप, बस र ट्रकबाट मात्रै ६१ करोड ४१ लाखको स्याउ निर्यात भएको हो । यद्यपि जुम्लामा यस वर्ष १४ हजार टन स्याउ उत्पादन हुने र त्यसमध्ये १० हजार टन स्याउ निर्यात भई करिब ४० करोड रुपैयाँ भित्रिने अनुमान थियो ।
तर, जुम्ली स्याउले राम्रो मूल्य पाउनुका साथै माग बढेपछि स्याउ बिक्रीबाट आम्दानी बढेको हो । जुम्लाको ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको छ । यहाँका १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । कार्यालय प्रमुख देवकोटा भन्छन्, ‘जुम्लामा यस वर्ष साढे २० हजार टन स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ४ सय टन स्याउ जिल्ला बाहिर निर्यात भयो । हाल जिल्लाका कोल्ड स्टोरहरुमा २५ टन स्याउ मौज्दात छ । अझै निर्यात हुने क्रम जारी छ ।’
कृषि विकास कार्यालयको तथ्यांकअनुसार बसबाट एक हजार ६ सय ६० टन, जीप र हाइसबाट ६६४ टन र जहाजबाट ७४ टन स्याउ निर्यात भएको छ । सबैभन्दा बढी मालवाहक ट्रकबाट ७ हजार टन स्याउ निर्यात भएको थियो । साउन ८ देखि कात्तिक १० सम्म जुम्लाका ८ सय ७३ जना किसान तथा व्यापारीले सडकमार्फत स्याउ बाहिरी बजारमा बिक्री गरेको प्रमुख देवकोटाले जानकारी दिए ।
जुम्लामा हालसम्मकै स्याउ उत्पादन बढी भएको छ भने आम्दानी पनि हालसम्मकै धेरै भएको छ । ६१ करोड बढी रुपैयाँ जुम्लामा भित्रिँदा जुम्लाका प्रति किसानले न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसवर्ष स्याउको मूल्य बढ्दा आम्दानी बढेको हो । जुम्लामा रेड, रोयल, गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ ।
जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बने पनि अझै अपेक्षित लाभ लिन सएिको छैन । जुम्लाको स्याउलाई अझै बजारीकरणमा जोड दिन जुम्लाकै कार्टुन व्यवस्थापन गर्नु पर्ने, मुल्य निर्धारणमा ध्यान दिनु पर्ने, मलजल व्यवस्थापनदेखि रोग किरा नियन्त्रणमा ध्यान दिनु पर्नेमा देवकोटा बताउँछन् ।
स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइ दिन सरकारसँग पटक–पटक आग्रह समेत गरिरहेका छन् । जुम्लामा व्यवस्थित कोल्डस्टोर अभावमा पछि मूल्य नपाइने, राख्न ठाउँ पनि नहुने चिन्ताले जुम्लाका किसानले काँचो स्याउ टिप्ने गरेका छन् । जसका कारण जुम्ली स्याउको पहिचान खतरामा पर्न थालेको छ । किसानले मूल्य नपाउने, बाटोमै कुहिने समस्या विद्यमान रहेको छ ।
एक अर्ब बढीको स्याउ निर्यात
विगत पाँच वर्षमा जुम्लाबाट देश विदेशमा १ अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालय, स्याउ सुपरजोनसँग यकिन तथ्यांक नभएपनि विगतका समचारलगायत अभिलेखलाई आधार मान्दा ५ वर्षमा १ अर्ब ३६ करोड बढीको स्याउ जुम्लाबाट निर्यात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा जुम्लाबाट १६ करोडको स्याउ निर्यात भएको थियो । आव २०७५/७६ मा १७ करोड, आव २०७६/७७ मा ३४ करोड रुपैयाँबराबरको स्याउ निर्यात भएको थियो ।
उक्त वर्ष १२ हजार टन स्याउ उत्पादन भएको थियो । आव २०७७/७८ मा भने झण्डै १२ हजार टन स्याउ उत्पादन हुँदा १९ करोडको स्याउ जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा करिब १९ हजार टन स्याउ उत्पादन हुँदा करिब ५० करोडबराबरको स्याउ निर्यात भएको थियो । यसरी बितेको पाँच वर्षमा झण्डै एक अर्ब ३६ करोड बढीको स्याउ निर्यात भएको छ ।