सयपत्री फूल खेतीमा रुपन्देहीका महिला
भैरहवा– सयपत्री फूल खेतीमा रुपन्देहीका महिला आकर्षित हुन थालेका छन् । विगत केही वर्ष अघिसम्म पुरुषहरू मात्रै सहभागी हुँदै आएकोमा अहिले महिलाहरू आकर्षित हुन थालेका हुन् । एक सिजनमा सयपत्री फूल खेती गरी उनीहरूले अन्य समयमा तरकारी खेती समेत गर्दै आएका छन् । रुपन्देहीको धेरै स्थानीय महिलाहरूले सामूहिक कृषि फार्म दर्ता गरी यो व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका छन् ।
केही महिलाहरूले एकल रूपमा फूल खेतीलाई अघि बढाइरहेका छन् । तिलोत्तमा –४, डिंगरनगर, रुपन्देहीमा रहेको क्षितिज नमुना कृषक समूहका महिला दिदी बहिनीहरूलाई अहिले भ्याइनभ्याई छ । सो समूहमा रहेका १० दिदी बहिनी अहिले फूल टिप्ने, माला बनाउने, अर्डर लिने, बजारमा आफ्ना उत्पादन पठाउने, बजारीकरण गर्ने काममा व्यस्त रहेका छन् । यो समूहले १५ कट्ठा जमिनमा सयपत्री फूल खेती विगत ६ वषेदेखि गर्दै आइरहेको समूहकी अध्यक्ष नवीना भण्डारीले बताइन् ।
‘गत वर्ष नोक्सान भयो, आउँदैन भन्दा भन्दै अन्तिम समयमा भारतीय फूलका कारण हाम्रो उत्पादनले बजार नपाउँदा आधाभन्दा बढी नोक्सानी भयो, तर अहिले राम्रो छ, तिलोत्तमा नगरपालिकाले पनि प्लास्टिकको माला बिक्री वितरण नगर्न भनेको छ,’ अध्यक्ष भण्डारीले भनिन् । हिले नेपालगन्जबाट समेत अर्डर आएको छ । बुटवल, भैरहवा, मणिग्राम, पाल्पालगायतका ठाउँबाट अर्डर आउने गरेको उनले बताइन् ।
फूल प्रतिकेजी ५ सय रुपैयाँ र होलसेलमा केही सस्तो मूल्यमा यो समूहले बिक्री गर्ने गर्छ । त्यसै गरी मालाप्रति गोटा १ सय रुपैयाँमा बिक्री भइरहेको उनीहरूको भनाइ छ । व्यावसायिक रूपमा सयपत्री फूल खेतीका लागी उनीहरूले जग्गा लिजमा लिएका छन् । तिलोत्तमा नगरले जग्गा भाडाका लागी केही सहयोग गरेको समूहले जनाएको छ । यो समूहले सिजनमा सयपत्री फूल र अन्य समयमा तरकारी खेती गर्दै आएका छन् ।
रुपन्देही कै सैनामैना स्थित बोलबम कृषि फर्मकी सञ्चालिका पेमा खनालले पनि विगत ६ वर्ष देखिनै सयपत्री फूल खेती गर्दै आएकी छिन् । विगतमा १८ कट्ठा जमिनमा फूल खेती गरेको उनले बताइन् । गत वर्ष २ कट्ठा हुँदै अहिले तिन कट्ठा जमिनमा फूलखेती गरिरहेको उनको भनाइ छ । ‘पहिला भारतबाट धेरै आउँथ्यो, हामीले मूल्यका कारण प्रतिस्पर्धा गर्न सक्दैनथ्यौँ, अहिले प्रतिस्पर्धा गर्न सक्ने भएका छौं, भारतीय माला पनि कम आउँछन्’, फूल कृषक पेमाले भनिन् ।
धेरै बारीबाटै बिक्री हुने र नजिक रहेको बुटवल भैरहवालगायतका स्थानबाट पनि सजिलै बिक्री हुने भएकाले बजारीकरणमा समस्या नरहेको उनको भनाइ छ । बजार मूल्य पनि राम्रो रहेको उनले बताइन् । फूल माग गर्नेलाई फूल र माला खोज्नेलाई मालानै दिने गरेको उनले बताइन् । प्रति किलो ५ सय रुपैयाँमा फूल र प्रतिगोटा मालाको १ सय रुपैयाँमा बिक्री भइरहेको छ । एक किलो फूलबाट ४ वटा ठूलो माला बन्ने उनी बताउँछिन् ।
फूल खेती गर्न लुम्बिनी प्रदेश सरकारले तालिम बाहेक अरु कुनै सहयोग नगरेको उनीहरूको भनाइ छ । स्थानीय तह सैनामैना नगरपालिकाले बीउ, मल, विषादी र बेला बेलामा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । गत वर्षको अन्तिम समयमा भारतीय फूल ल्याएर व्यवसायीले बिक्री गर्दा स्थानीय उत्पादन कम बिक्री भएको उनले बताइन् । यो वर्ष राम्रो हुने अपेक्षा छ, नगरपालिकाले प्लास्टिकको माला बिक्री नगर्न आग्रह गरेको छ ।
फूल खेतीमा श्रीमानसहित छोराछोरीले पनि सघाएको र बढी फूल आवश्यक पर्दा खोजेर ल्याउने गरेको उनको भनाइ छ । रुपन्देहीमा खनाल जस्तै एकल लगानीमा फूल खेती गर्ने र समूहमा फूल खेती गर्ने अहिले बढी रहेका छन् । स्थानीय तह र प्रदेश सरकारले उनीहरूको उत्पादनको बजारीकरण साथै व्यावसायिक रूपमा फूल खेती गर्न विभिन्न शीर्षकमा अनुदानको व्यवस्था गरेमा यो खेती गर्नेहरू अझै बढ्दै जाने छन् ।