Logo

छठमा हुने जोखिम वहन गर्न बीमा

वीरगन्ज– छठमा हुने जोखिम वहन गर्न बीमा गरिएको छ । छठको लागि सजाइएको छठघाट तथा खटिने स्वयंसेवकहरुमा कुनै पनि किसिमको जोखिम नहोस भन्दै वीरगन्जको स्वीमिङपुल छठ व्यवस्थापन समितिले बीमा गरेको हो । समितिका अध्यक्ष मुकेश वर्णवालले मंगलबार साँझ छठ पूजाको तयारीको विषयमा जानकारी दिँदै जोखिम वहन गर्नका लागि बीमा गरेको जानकारी दिए ।

छठ पूजाका लागि तयार गरिएको छठघाट सजावटमा उज्यालो बत्तीहरुको प्रयोग गरिएको छ । स्वयंव सेवकहरु पनि खटिएका छन् । छठ पूजाका लागि सजाइएको विद्युतीय सामग्रीहरुमा कुनै पनि घटना भएमा त्यसको जोखिम बहन गर्नका लागि बीमा गरिएको अध्यक्ष वर्णवालले बताए । उनका अनुसार एभरेष्ट हिमालयन इन्स्योरेन्स कम्पनीमा पाँच दिनको लागि सजावटका सामग्रीहरुको २५ लाखको बीमा गरिएको छ ।

पूजा व्यवस्थापनमा खटिएका स्वयं सेवकहरुको लागि प्रति व्यक्ति ३ लाखको दरले दुर्घटना बीमा गरिएको वर्णवालले बताए । स्वीमिङ पुल परिसरमा तयार गरिएको छठघाट व्यवस्थापनमा सातदेखि आठ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । त्यसको लागि स्वेच्छिक रूपमा दिने आर्थिक सहयोग र विभिन्न पुरस्कारको समेत योजना राखिएकोले त्यसका लागि बिक्री गरिने टिकटबाट संकलन गरिने समितिले जनाएको छ ।

तर, टिकट बिक्रीलाई चिठ्ठाको रूपमा भने नलिएको समितिका अध्यक्ष वर्णवालले बताए । उनले भने, ‘हामीले चिठ्ठा नै भनेर बिक्री गर्ने गरेका छैनौं । दुई सय ५० रुपैयाँ दरको टिकट छठी माताको लागि आर्थिक सहयोग भनेर नै सम्झाएर टिकट बिक्री गर्ने गरेका छौं । लिनेहरुलाई पनि त्यसलाई चिठ्ठाको रूपमा नलिन आग्रह गर्ने गरिएको छ ।’ छठको तराई मधेशमा रौनक देखिएको छ । मंगलबार ‘नहाय खाय’ अर्थात् नुहाएर खानेबाट विधिवत रूपमा छठ सुरु हुन्छ ।

चार दिनसम्म मनाइने छठ पर्व विशेष रूपमा मनाइने गरिन्छ । वीरगन्जको घडिअर्वा पोखरी भने छठ पूजाको लागि देश भरकै आकर्षणको केन्द्रको रूपमा लिने गरिन्छ । वीरगन्ज महानगरपालिका– १० स्थित खडिअर्वा पोखरीमा हरेक वर्ष डेढ लाख रुपैयाँभन्दा बढी व्रतालुहरुले छठ पूजा गर्ने गरेका छन् । दर्शनार्थी र हेर्न आउनेहरु भने पाँच लाखभन्दा बढी हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्