केरुङ नाकाबाट १३ टन तौलका गाडी आवतजावत
धादिङ– केरुङ नाकाबाट १३ टन तौल भएका गाडी मात्रै आवतजावत गर्ने गरी एकतर्फी रूपमा नाका सञ्चालनमा आएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि अवरुद्ध उक्त नाका कात्तिक १३ देखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । चीनतर्फको केरुङ–रसुवागढी सडक भत्किएपछि नाका एक महिनादेखि बन्द रहेको थियो ।
रसुवागढी–केरुङ सडकखण्ड मर्मतपछि यही कात्तिक १३ देखि चिनियाँ पक्षले सडक एकतर्फी सञ्चालनमा ल्याएको हो । सीमा क्षेत्रका चिनियाँ अधिकारीले कार्तिक १२ गते रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललेलाई दिएको सूचनाअनुसार क्षतिग्रस्त सडकको सामान्य मार्ग खोल्ने काम मात्रै भएकोले ठूला कन्टेनर र गह्रौँ व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने जानकारीसहित १३ टनसम्मका सवारीका लागि सडक सञ्चालन गरेको जानकारी दिए ।
रसुवागढीबाट चीनको केरुङसम्म २४ किमी सडकमा असोज दोस्रो साताको बाढीले क्षति पुर्याएको थियो । चिनियाँ प्राविधिकले ठूला औजार, उपकरण प्रयोग गरी एक महिनासम्म लगातारको प्रयासबाट सडक एकतर्फी सञ्चालन गर्न सम्भव भएको बताएका छन् । केरुङ सडक अवरुद्ध हुँदा नेपाली व्यवसायीको करोडौंँ मूल्यका व्यापारिक मालवस्तु महिना दिनदेखि सीमा र चीनका विभिन्न सहरका गोदाममा थन्किएका थिए । सो अवधिमा नेपाली व्यवसायीका फलफूल तथा मसलाजन्य खाद्य वस्तु कुहिएर नोक्सान भएको थियो ।
केही फलफूल र तयारी पोसाकलगायत व्यापारिक सामान अहिले पनि केरुङका गोदाममा रहेका छन् । प्रजिअ पौडेलले सडक सञ्चालन भए पनि कन्टेनरमा ६–७ टन सामान मात्र ढुवानी गर्न पाइने भएकाले व्यवसायीलाई सोहीअनुसार बुझ्न भनेको बताए । ‘एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आवतजावत गर्न पाउने सूचना आएको छ’, प्रजिअ पौडेलले बताए । व्यवसायीले भने थोरै सामान मात्र एकतर्फी आयात गर्न सक्ने व्यवस्थाले व्यापार सहज रूपमा गर्न नसकिने बताएका छन् ।
रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुसाङ तामाङले कम्तीमा २० टन सामान ल्याउन नदिने हो भने नाका खोल्नु र नखोल्नुको अर्थ नहुने बताउँदै व्यापारीलाई कम तौलको सामान ढुवानी गर्दा घाटा हुने बताए । नाका खोलियो भन्ने सन्देश मात्र हो । कारोबारका हिसाबले उपलब्धि हुँदैन । केरुङतर्फको सडकको धेरै ठूलो भाग भोटेकोसी नदीमा भासिएको र पहरा फोरेर सामान्य मार्ग खोल्नुपर्ने अवस्था रहेको सीमाका नेपाली अधिकारीले बताए ।
बाढीपहिरोका कारण तातोपानी र रसुवा नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि उत्तरका दुई स्थलमार्ग हुँदै आएको चीनसँगको व्यापार ठप्प हुँदै आएको थियो । तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । रसुवातर्फको नेपाली भूभागको सडक कामचलाउ भए पनि चिनियाँ क्षेत्रमा भने तहसनहस भएको रसुवा भन्सारका अधिकारीहरूले बताए । रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रवीन्द्र प्याकुरेल अहिले सरकारले तोकेको लक्ष्यअनुसार मासिक दुई अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्ने बताए ।
राजस्व संकलन भने एक महिना दिनदेखि ठप्प छ । चीनबाट मुख्यतया तयारी पोसाक, ज्याकेट, श्रृगारका सामग्री, पाठ्य सामग्री, जुत्ता, झोला, कृषि तथा जलविद्युतका यन्त्र, विद्युतीय गाडी, फर्निचरलगायत सामान आयात हुने गरेको छ । तिहारमा भने सजावटका सामान बढी मात्रामा आउने गरेको छ । नाका बन्द भएपछि आयात गर्न तयारी गरिएका बिजुलीका झिलिमिली सामान केरुङ गोदाममा थन्किएका छन् ।
सडक बन्नासाथ बिहानैदेखि सयाैं मालवाहक कन्टेनर र साना ठूला गाडी केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आइरहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । सडकको अवस्था हेरेर १३ टन क्षमताका मालवाहक सवारी साधन र अन्य साना ठूला गाडी मात्र ओहरदोहर गराइने चिनियाँ पक्षले जानकारी दिएको समेत अध्यक्ष अमात्यले बताए । चिनियाँ भूभागको ठोङ्सा नजिकैको पाखामा अत्यधिक वर्षा भएका कारण सडक माथिबाट पहिरो गएको थियो । जसका कारण सडक अवरूद्ध भएको हो ।