वस्तु निर्यात बढाउन तेस्रो मुलुक खोज
पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने अलैंचीको मूल्य यो वर्ष अकासिएको छ । विगतमा प्रतिमन (४० किलो) एक लाख ४० हजारसम्म पुगेको अलैंचीको मूल्य केही समयदेखि ४० हजारसम्म झरेको थियो । अहिले फेरि मूल्य ८० देखि ९० हजार प्रतिमन पुगेको छ । तर, यही बेला किसानसँग पर्याप्त अलैंची छैन । १० वर्षअघि पर्याप्त मूल्य पाएर अलैंची खेतीमा किसान रमाएका थिए । अलैंची खेती गर्ने क्षेत्रफल पनि बढेको थियो ।
तर, त्यसपछिका वर्षहरूमा लगातार मूल्य झरेपछि किसानको बगानमा अलैंची मासिँदै गए । अहिले मूल्य उकालो लाग्दा अलैंची नै नहुने अवस्था छ । अर्कातिर यो वर्ष वैशाख, जेठमा पहाडी जिल्लामा पानी नपरेका कारण अलैंची उत्पादनमा झनै गिरावट आएको छ । नेपालमा ४० जिल्लामा अलैंची खेती हुन्छ । कोसीका इलामसहित पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, खोटाङ जिल्लामा यसको व्यावसायिक उत्पादन हुने गरेको छ । नेपालमा १८ हजार २ सय ७३ हेक्टरमा अलैंची खेती हुने गरेको तथ्यांक छ ।
यसबाट ७ हजार ९ सय ५४ टन अलैंची उत्पादन हुँदै आएको छ । नेपालका ४३ जिल्लामा उत्पादन हुने अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिन्छ । त्यसमा पनि ग्रेडिङ राम्रो भएको अलैंची ९० हजार र ग्रेडिङ कम भएको नर्मल अलैंची ८७ हजारमा कारोबार भइरहेको व्यवसायीको भनाइ छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको बताइन्छ । यहाँ उत्पादन भएको अलैंचीमध्ये ९८ प्रतिशत निर्यात हुने गरेको छ ।
अलैंचीको मूल्यमा उतारचढाव आउनुमा माग र आपूर्तिको अवस्थाले भूमिका खेल्नुपर्ने हो । सामान्यत: कुनै पनि वस्तुको मूल्य माग र आपूर्तिले नै निर्धारण गर्छ । बजारमा माग बढ्दा मूल्य पनि बढ्ने र माग कम हुँदा घट्नुपर्छ । तर, अलैंचीका सन्दर्भमा त्यसो हुन सकेको छैन । नेपालमा उत्पादन हुने अलैंचीको बजार भारतसहित अन्य तेस्रो मुलुकहरू हुन् । आन्तरिक खपत निकै न्यून छ । अहिले नेपाली अलैंचीका खरिदकर्ता भारतीय व्यापारी हुन् ।
उनीहरूले नेपाली अलैंचीलाई भारतीय बजारमा र अन्य तेस्रो मुलुकहरूसम्म पुर्याउने गरेका छन् । विश्व बजारमा अलैंचीको मूल्य कति छ, त्यसले नेपाली अलैंचीको पनि भाउ तय हुनुपर्ने हो । तर विडम्बना, भारतीय व्यापारीले जति दिन्छन् नेपाली किसानले त्यही मूल्य पाइरहेका छन् । नेपाली व्यापारीहरूले भारतलगायत तेस्रो मुलुकहरूमा अलैंची निर्यात गर्न सकेका छैनन् । भारतीय व्यापारीले खरिद नगरे नेपाली अलैंची बिक्री नै नहुने अवस्था छ । यही कारण नेपाली उत्पादनको मूल्य भारतीय व्यापारीको हातमा छ ।
यस्तो भएको वर्षौं भएको छ । यो मात्र होइन, नेपालका अन्य उत्पादनहरूको अवस्था पनि यस्तै छ । नेपालमा उत्पादन हुने चियाको अधिकांश हिस्सा भारतीय व्यापारीकै हातमा छ । नेपाली चियालाई उनीहरूले भारतीयका नामबाट विश्व बजारमा पुर्याएर अतिरिक्त फाइदा लिइरहेका छन् । अदुवाको अवस्था पनि भिन्न छैन । नेपालमा उत्पादित अदुवा हामीले विश्व बजारमा पुर्याउन सकेका छैनौं । यसको निर्यात पनि भारतमै केन्द्रित छ ।
यी केही वस्तुका उदाहरण मात्र हुन्, अधिकांश कृषि उपजको निर्यात भारतभन्दा बाहिर जान सकेको छैन । ससानो परिमाणमा नगएको होइन, तर ठूलो हिस्सा भारत निर्भर छ । भारतीय बजारमा आश्रित हुनुपरेका कारण मूल्य पनि उनीहरूकै भरमा छ, जुन स्वभाविकै हो । नेपालका अन्य धेरै निर्यातजन्य वस्तुको अवस्था पनि कृषि वस्तुभन्दा धेरै फरक छैन । नेपालले मूल्य र परिमाण दुवैमा निर्यात बढाउन नसक्नुमा भारत निर्भर निर्यात प्रमुख कारण हो ।
सरकारले अबका दिनमा यो अवस्थालाई परिवर्तन गर्न नीतिगत व्यवस्था गर्नुपर्छ । भारतबाहेक तेस्रो मुलुकहरूमा वस्तु निर्यात गर्न खोज्ने व्यवसायीलाई विशेष सुविधाको प्याकेज उपलब्ध गराउनुुपर्छ । भारतसहित तेस्रो मुलुकको बजार खोजेर अहिलेको परिमाणअनुसार वस्तु निर्यात गर्दा पनि निर्यातको रकम पक्कै बढ्नेछ । नेपाली व्यवसायीले तेस्रो मुलुकको बजार खोज्न नसक्ने पनि होइनन् । त्यसका लागि उनीहरूलाई वातावरणको आवश्यकता छ । त्यो सरकारले बनाउनुपर्छ ।