Logo

यो वर्ष पर्यटक आगमन सरकारी लक्ष्यको ७० प्रतिशतमा खुम्चिने

काठमाडौंको वसन्तपुरस्थित कुमारीघर तथा चोक अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः रासस

काठमाडौं– यो वर्ष (सन् २०२४) मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य करिब ७० प्रतिशतमा खुम्चिने देखिएको छ ।

यो वर्षको अक्टोबरसम्म नेपाल आएका पर्यटक र बाँकी दुई महिनामा आउने संख्याको अनुमान गर्दा सरकारी लक्ष्य ७० प्रतिशतमा खुम्चिने देखिएको हो । अनुमानभन्दा पर्यटक बढी आए लक्ष्यको ७५ प्रतिशतसम्म पुग्नेछ ।

अघिल्लो वर्ष (सन् २०२३) मा सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा यो वर्ष बढाएर १६ लाख पुर्‍याएको थियो । यो वर्षको १० महिना (अक्टोबरसम्म) बित्दा ९ लाख ४१ हजार पर्यटक आएका छन् । विगतका वर्षहरुको तथ्यांक हेर्दा अबका दुई महिनामा बढीमा २ देखि सवा २ लाखसम्म पर्यटक आउनेछन् । सन् २०२३ को पछिल्ला दुई महिनामा २ लाख ५ हजार पर्यटक आएका थिए । त्यो वर्ष नोभेम्बरमा १ लाख ८ हजार ६ सय र डिसेम्बरमा ९६ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपालमा सेप्टेम्बर–नोभेम्बरका तीन महिनालाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यसमध्ये सेप्टेम्बरमा ९६ हजार र अक्टोबरमा एक लाख २४ हजार पर्यटक आएका छन् । अब नोभेम्बर र डिसेम्बरमा गरी एकदेखि सवा लाखसम्म पर्यटक आउने सम्भावना छ । यो हिसाबअनुसार यो वर्ष बढीमा ११ लाख ५० हजार पर्यटक आउने अनुमान गर्न सकिन्छ । यो भनेको सरकारी लक्ष्यको ७२ प्रतिशतमात्र हो ।

यो वर्ष नेपाल आएका पर्यटकलाई प्रतिमहिना औसतमा हेर्दा ९४ हजार हाराहारी देखिन्छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर मुख्य पर्यटकीय मौसम भए पनि यो वर्ष अक्टोबरमा आएको वर्षा र त्यसले ल्याएको बाढीपहिरोका कारण पर्यटक आगमन उत्साहजनक हुन सकेन ।

सन् २०२४ को शुरुवाती महिनामा कोभिडपछि पर्यटन बजार विस्तारै लयमा फिर्ता हुने क्रममा थियो । तर, पछिल्लो समय भने पर्यटक आगमन उल्लेख्य वृद्धि हुन सकेको छैन । पर्वतारोहणको सिजन (अप्रिल, मे, जुन) मा पर्यटक आगमन केही बढेको थियो । त्यसयता उल्लेख्य वृद्धि भएको देखिँदैन ।

कोभिड सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए । त्यसपछि अहिलेसम्म यो रेकर्ड तोडिएको छैन । पछिल्लो समय भएका विभिन्न सडक तथा विमान दुर्घटना र पूर्वाधार विस्तारका कारण पर्यटक आगमनमा गिरावट आएको सरोकारवालाहरुको भनाइ छ ।

विगतमा पछिल्ला दुई महिना नोभेम्बर र डिसेम्बरमा दुई लाखभन्दा धेरै पर्यटक आउने गरे पनि यो वर्ष यो संख्या पुग्नेमा अर्को समस्या थपिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ देखि ४० प्रतिशतसम्म हवाई उडान कटौती हुँदैछ । यसले पर्यटक आगमनमा प्रत्यक्ष असर गर्नेछ । अबका दुई महिनामा धेरैमा साढे १ लाखमात्र पर्यटक आउने पर्यटन क्षेत्रका जानकारहरुको अनुमान छ ।

देशको एकमात्र पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यही कात्तिक २३ बाट स्तरोन्नति गर्ने काम सुरु हुँदैछ । विमानस्थलको ट्याक्सी वे लगायतको स्तरोन्नतिका कारण विमानस्थल राती १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेछ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान करिब ४० प्रतिशत कटौती भएको छ ।

मुख्य सिजनमा नै उडान कटौती हुने भएसँगै हवाई भाडा वृद्धि हुने र पर्यटक आगमनमा कमी आउने हुँदा ११ लाख संख्या पुग्न पनि हम्मे हुने देखिएको हो । पछिल्लो समयमा भएका सडकदेखि हवाई दुर्घटना लगायतका कारण अमेरिका र युरोपका पर्यटक आगमनमा कमी देखिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । मुख्य सिजनमा समेत हवाई उडान खुम्चिने भएका कारण सन् २०१९ कै हाराहारीमा पनि पर्यटक आगमन पुग्न मुस्किल हुने देखिएको लामिछानेको भनाइ छ । सन् २०२४ मा ११ लाखको आसपासमात्र पर्यटक आगमन हुने उनको अनुमान छ । आगामी नोभेम्बर र डिसेम्बरमा अधिकतम १ लाख ५० हजार पर्यटक आउने अनुमान बोर्डको छ । हवाई उडान कटौती नभएको भए साढे ११ लाखदेखि १२ लाख पर्यटक आगमन हुने अनुमान निर्देशक लामिछानेको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रमेश थापा विमानस्थल विस्तारका कारण उडान कटौती हुँदा पर्यटक आगमनमा असर परेको बताउँछन् । उनले भने, ‘पर्यटन उद्योगको मागको तुलनामा पर्यटक आगमन एक भागमात्र हो । यद्यपि, पर्यटक आगमनमा सुधार हुँदै नयाँ रेकर्ड बनाउनेतर्फ लाग्नु सकारात्मक हो ।’ नेपालमा वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार र जनशक्ति तयार रहेको उनको भनाइ छ । ‘आपूर्तिका आधारमा भने पर्यटक आगमन कम छ । आगमनदर अपेक्षाकृत छैन, तर सुधारोन्मुख भएर लय समातेको छ । यो वर्ष ११ लाख हाराहारी हुने देखिन्छ,’ उनले भने ।

कुन महिना कति आए ?
जनवरी ७९,१००
फेब्रुअरी ९७,४२६
मार्च १,२८,१६७
अप्रिल १,११,३७६
मे ९०,२११
जुन ७६,७३६
जुलाई ६४,५९९
अगष्ट ७२,७१९
सेप्टेम्बर ९६,३०५
अक्टोबर १,२४,३९३

प्रतिक्रिया दिनुहोस्