Logo

सात बैंकले घोषणा गरे लाभांश

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये सात वटाले गत आर्थिक वर्ष २०८०–८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल, ग्लोबल आइएमई, सानिमा, प्राइम कमर्सियल र सिटिजन्स बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

एभरेष्ट र सिटिजन्स बैंकले साधारणसभाबाट लाभांश पारित गरिसकेका छन् । एभरेष्टले नगद लाभांश सेयरधनीको खातामा समेत पठाइसकेको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्डले २५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले गत वर्ष सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एभरेष्ट बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांशसहित कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नबिल बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आवको मुनाफबाट बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै ग्लोबल आइएमई बैंकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आवको मुनाफाबाट बैंकले गत वर्ष १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरेर ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले मंसिर ४ गते २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांश गरेर १४.७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत वर्ष कुनै पनि लाभांश वितरण गरेको थिएन ।

सिटिजन्स बैंकले गत आवको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरी ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । यो बैंकले अघिल्लो आवको मुनाफाबाट ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्