पर्यटनमा चितवन राष्ट्रिय निकुञ्जको योगदान
नेपालमा हालसम्म १२ वटा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । ती निकुञ्जहरू हुन्— १. खप्तड राष्ट्रिय निकुञ्ज, २. चितवन राष्ट्रिय निकुञ्ज, ३. पर्सा राष्ट्रिय निकुञ्ज, ४. बर्दिया राष्ट्रिय निकुञ्ज, ५. बाँके राष्ट्रिय निकुञ्ज, ६. मकालु बरुण राष्ट्रिय निकुञ्ज, ७. रारा राष्ट्रिय निकुञ्ज, ८. लाङटाङ राष्ट्रिय निकुञ्ज, ९. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, १०. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, ११. शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र १२. सगरमाथा राष्ट्रिय निकुञ्ज ।
त्यस्तै गरेर पछिल्लो पटक ‘मेरा पिक राष्ट्रिय निकुञ्ज’ नयाँ निकुञ्जका रूपमा घोषणा हुने क्रममा छ । त्यस्तै, नेपालमा एक सिकार आरक्षण क्षेत्र (ढोरपाटन) रहेको छ भने एक वन्यजन्तु आरक्षण क्षेत्र (कोसीटप्पु) रहेको छ । उता ६ वटा संरक्षण क्षेत्र पनि नेपालमा रहेका छन् । ती हुन्— १. अन्नपूर्ण संरक्षण क्षेत्र, २. अपी नाम्पा संरक्षण क्षेत्र, ३. कञ्चनजंघा संरक्षण क्षेत्र, ४. कृष्णसार (बर्दिया) संरक्षण क्षेत्र, ५. गौरीशंकर संरक्षण क्षेत्र र ६, मनास्लु संरक्षण क्षेत्र ।
माथिका राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र र संरक्षण क्षेत्रहरूमध्ये आर्थिक गतिविधि तथा पर्यटक आवतजावत गर्ने संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज महत्वपूर्ण रहेको छ । हुन पनि नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो— चितवन राष्ट्रिय निकुञ्ज । त्यसैले गर्दा पनि सुरुवाती समयदेखि नै नेपालको निकुञ्ज पर्यटनमा आर्थिक उपार्जनका हिसाबले हेर्दा चितवन राष्ट्रिय निकुञ्जको एकदमै महत्वपूर्ण योगदान रहेको देखिन्छ ।
पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या र आर्थिक उपार्जनका हिसाबले भन्नुपर्दा आर्थिक वर्ष २०७९-८० को जेठसम्ममा चितवन राष्ट्रिय निकुञ्जमा जम्मा ३ लाख (स्वदेशी तथा विदेशी) पर्यटकले भ्रमण गरिसकेका छन् । आर्थिक वर्ष २०७९-०८० को साउनदेखि जेठसम्म चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले भ्रमण गरेका थिए । उक्त अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये १ लाख ९८ हजार ८ सय २६ जना आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८ सय ३६ जना सार्क मुलुकका पर्यटक रहेका छन् । त्यस्तै गरेर अन्य मुलुकका २९ हजार ५ सय ७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् ।
साथै, आर्थिक वर्ष २०७९-०८० को साउनदेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले तिरेको राजस्व रकम १७ करोड ३० लाख ३ हजार ९ सय रुपैयाँ संकलन भएको थियो । अझ भर्खरै सकिएको हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैं तथा दीपावलीमा पनि ठूलै संख्यामा आन्तरिक पर्यटक बिदा मनाउन चितवन राष्ट्रिय निकुञ्ज गएका छन् । तर, सम्बन्धित निकायले आधिकारिक ढंगले तथ्यांक नदिएसम्म अहिले नै बडादसैं तथा तिहारको अवसरमा यति संख्यामा आन्तरिक पर्यटक बिदा मनाउन चितवन राष्ट्रिय निकुञ्जमा गए भनी किटानीसाथ लेखिहाल्न सक्ने अवस्था छैन ।
कोरोना महामारी मत्थर भएपछि नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक रूपमा नेपालका विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या कोरोना महामारीको समयभन्दा धेरै बढी छ । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याभन्दा आन्तरिक अर्थात् स्वदेशी पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भौगोलिक हिसाबले नेपालको केन्द्र (लगभग मध्यभाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ ।
अर्को भनेको, विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोजभतेर गर्ने, जुवा–तास खेल्ने, जाँड–रक्सी खाएर पैसा सक्ने, अन्य फुर्माइस खर्च गर्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोजभतेर गर्ने, जुवा–तास खेल्ने, जाँड–रक्सी खाएर पैसा सक्ने, अन्य फुर्माइस गर्नेभन्दा पनि देश–देशावरको भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गएको देखिन्छ, जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ । त्यस्तै गरेर आफ्नो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता, जातजातिपिच्छेको वेशभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्य–मान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने र अनुभव गर्ने सुनौलो अवसर पनि पाएका छन् ।
जे होस्, पछिल्लो पटक नेपालीहरू पनि ठूलो संख्यामा देशविदेश घुम्ने प्रचलन बढ्दै गएको छ । अझ नेपालीहरूले आफ्नो देशको विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदाभन्दा पनि अन्य देश घुम्न जाँदा धेरै खर्च गर्ने गरेको भन्ने तथ्यांक छ । त्यस्तै, नेपालमा आन्तरिक पर्यटक भएर घुम्ने नेपालीहरूले विदेशबाट नेपाल घुम्न आएका विदेशी पर्यटक (खास गरी नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटक) ले भन्दा धेरै खर्च गर्ने गरेका छन् । सो कुरो नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा होटल, लज, होमस्टे तथा गेस्ट हाउस सञ्चालन गर्ने स्थानीयहरूले बताएका हुन् ।
नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटबारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल, लज, कटेज, होम स्टे, गेस्ट हाउस आदि सञ्चालकले चाहिँ अझसम्म पनि आफ्नो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने मानसिकता हटाइसकेको छैनन् । सुन्दा र पढ्दा निश्चय नै नमीठो लाग्न सक्छ । तथापि, आजभन्दा केही दशकअघिसम्म सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि नेपाली आन्तरिक पर्यटकले मात्रै नभएर केही विदेशी (जस्तै उदाहरणका लागि इजरायली) पर्यटकले समेत बास पाउन साह्रै मुस्किल पथ्र्यो ।
स्मरणीय छ, त्यो बेला लुक्ला, फाक्दिङ, मोन्जु, जोरसल्ले कटेर गएपछि आफ्नो होटल, लज, गेस्ट हाउसमा बस बस्न आउने-बास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गरिन्थ्यो । यो कुरोलाई कसैले ठाडै अस्वीकार गर्न सक्छ । तर, म आपैmं पनि धेरै लामो समयसम्म ट्रेकिङ मजदुर (भरिया हुँदै ट्रेकिङ गाइडसम्म) भएको हुनाले प्रत्यक्ष देखेको, भोगेको, अनुभव गरेका घटनाहरू हुन् । साथै, मैले नेपालको पूर्वी क्षेत्रको कञ्चनजंघा हिमाल क्षेत्र, मकालु बरुण क्षेत्र, मेरा पिक, टासीलाप्चा, अरुण भ्याली, सोलु क्षेत्रका दूधकुण्ड, पिके, रत्नाङ्गे, जुनबेसी, गोली गुम्बा र खुम्बु क्षेत्रका सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो री, रिन्जोला पास, खोङमाला पास, आइल्यान्ड पिक, आदिदेखि पश्चिमको मनाङ, थोरोङ पास, अप्पर मुस्ताङ, मनास्लु, कालीगण्डकी ट्रेक, अप्पर डोल्पा, कागमारा पास, मुगु, जुम्ला, हुम्लासम्मको भ्रमण, अनुभव र अनुभूतिहरू रहेका छन् ।
हामीले निकुञ्ज पर्यटनका साथै सिकार पर्यटन, चराचुरुङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, जंगल सफारी, क्यानोइङ, हट एयर बालुनिङ, सांस्कृतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन, सिटी टुर, योगा, ध्यान, सामाजिक अध्ययन, नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको धर्म, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन आदि इत्यादिको डटेर प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।