लामिछानेसँगै छवि र लिलालाई थप १० दिन हिरासतमा राख्न अनुमति
पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतले थप १० दिन म्याद थपेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको हो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो ।
लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो । असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो । खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो ।
लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ ।